नेपालगन्जकी खाद्य उद्यमी टण्डन देशभरका उत्कृष्ट २० मा

अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘यू.एस. एम्बेसी इन्टरप्रेनरशिप स्किल डेभलपमेन्ट प्रोग्राम–क्यापस्टोन एक्सेलेरेटर’ अन्तर्गत देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीमध्ये नेपालगन्जकी खाद्य उद्यमी दीपली टण्डन पर्न सफल भएकी छन्। उनी राष्ट्रिय क्यापस्टोन एक्सेलेरेटरका लागि लुम्बिनी प्रदेशबाट छनोट भएका दुई उद्यमीमध्ये एक हुन् ।

नेपालगन्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालन गरिएका क्षेत्रीय उद्यमशीलता कार्यशालामा सहभागी २०० भन्दा बढी उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट उत्कृष्ट २० जना राष्ट्रिय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका थिए। तीमध्ये नेपालगञ्जबाट प्रतिनिधित्व गर्दै टण्डनले काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरमा सहभागिता जनाएकी हुन्।

खाद्य प्रशोधन तथा प्राकृतिक मसला उत्पादन क्षेत्रमा सक्रिय टण्डनले कार्यक्रममा आफ्नो व्यावसायिक यात्रा, उत्पादनको विशेषता, ब्रान्ड निर्माण, बजार विस्तार, लगानी तयारी, निर्यात सम्भावना तथा भावी योजनाबारे प्रस्तुति दिएकी थिइन्। स्थानीय स्वाद र उत्पादनलाई फराकिलो बजारसम्म पुर्याउने उनको योजनाले नेपालगञ्ज तथा लुम्बिनी प्रदेशको महिला उद्यमशीलतालाई राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गरेको छ।

नेपालगञ्जबाट प्राकृतिक खाद्य तथा मसला ब्रान्ड विस्तारको लक्ष्य
दीपली टण्डन दीपलीज अचार एन्ड मसला (Deepali’s Achar & Masala) मार्फत खाद्य प्रशोधन क्षेत्रमा सक्रिय उद्यमी हुन्। उनको उद्यमले प्राकृतिक मसला, अचार तथा विभिन्न प्रशोधित खाद्य उत्पादनहरूको उत्पादन र बजारीकरण गर्दै आएको छ।

कम्पनीले २० भन्दा बढी प्रकारका उत्पादन बजारमा ल्याइसकेको छ। गुणस्तरीय कच्चा पदार्थ, प्राकृतिक सामग्री, स्थानीय स्वाद तथा उत्पादनको गुणस्तरलाई प्राथमिकता दिँदै व्यवसायले नेपालगञ्ज तथा आसपासका बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।

टण्डनले स्थानीय स्वाद र खाद्य परम्परालाई आधुनिक उत्पादन, प्याकेजिङ तथा ब्रान्डिङसँग जोडेर नेपालभर तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य राखेकी छन्। व्यवसायले उत्पादन क्षमता वृद्धि, वितरण सञ्जाल विस्तार तथा आफ्ना उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारका लागि थप प्रतिस्पर्धी बनाउने दिशामा काम गरिरहेको छ।

क्यापस्टोन एक्सेलेरेटरमा उनले आफ्नो व्यवसायको वृद्धि योजना, बजार विस्तार, उत्पादनको प्रतिस्पर्धात्मक क्षमता, लगानी तयारी तथा निर्यात सम्भावनाबारे प्रस्तुति दिएकी थिइन्।

क्यापस्टोनमा दीपलीका मसला लन्च र डिनरमा समेत प्रयोग
क्यापस्टोन एक्सेलेरेटर दीपलीका लागि आफ्नो व्यवसाय प्रस्तुत गर्ने मञ्चमा मात्र सीमित रहेन। कार्यक्रममा उनले आफ्ना प्राकृतिक उत्पादन तथा मसलाहरू प्रदर्शन गर्ने अवसर पाइन् भने उनले उत्पादन गरेका मसलाहरू प्रयोग गरेर कार्यक्रमको दुई दिनको लन्च र डिनरका विभिन्न परिकारसमेत तयार गरिएको थियो। यसले सहभागीहरूलाई उनको उत्पादन प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर दिएको थियो।
कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै दीपली टण्डनले भनिन्, “क्यापस्टोन एक्सेलेरेटरमा मैले आफ्ना प्राकृतिक उत्पादन तथा मसलाहरू प्रदर्शन गर्ने अवसर पाएँ। अझ विशेष कुरा, मैले उत्पादन गरेका मसलाहरू प्रयोग गरेर कार्यक्रमको दुई दिनको लन्च र डिनरका विभिन्न परिकारसमेत तयार गरिएको थियो। सहभागीहरूले हाम्रा मसलाको स्वाद मन पराइदिनुभयो, जसले मलाई निकै उत्साहित बनाएको छ। यस्तो राष्ट्रियस्तरको प्लेटफर्मले म जस्ता महिला उद्यमीलाई आफ्नो उत्पादनप्रति थप विश्वास र व्यवसायलाई अझ ठूलो बनाउने आत्मविश्वास दिएको छ। अब मेरो लक्ष्य आफ्ना उत्पादनलाई नेपालभर विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने हो।”

तीनदिने आवासीय एक्सेलेरेटरमा व्यवसाय विस्तारको प्रशिक्षण
देशभरबाट प्रतिस्पर्धात्मक छनोटमार्फत उत्कृष्ट २० मा परेका उद्यमीहरूले काठमाडौंमा आयोजित तीनदिने आवासीय कार्यक्रममा व्यवसाय विस्तार, लगानी तयारी, निर्यात सम्भावना, अन्तर्राष्ट्रिय बजारमा पहुँच, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, बजार व्यवस्थापन तथा रणनीतिक सञ्चारलगायत विषयमा केन्द्रित प्रशिक्षण प्राप्त गरेका थिए।

अन्तरक्रियात्मक मास्टरक्लास, मेन्टरिङ, सहकर्मीबीच सिकाइ तथा पिच कोचिङमार्फत सहभागीहरूले आफ्ना व्यावसायिक रणनीतिलाई थप परिष्कृत गरेका थिए। यसअघि क्षेत्रीय कार्यशालापछि कानुनी अनुपालन, निर्यात तयारी, एआईमा आधारित व्यवसाय विस्तार तथा डिजिटल मार्केटिङसम्बन्धी भर्चुअल मास्टरक्लाससमेत सञ्चालन गरिएको थियो।

लगानीकर्ता र उद्योगीसमक्ष व्यवसाय प्रस्तुत
कार्यक्रमको अन्तिम दिन आयोजना गरिएको ‘लगानी तथा विश्व बजार केन्द्रित पिचिङ सत्र’ मा टण्डनसहित २० उद्यमीले आफ्ना व्यवसाय नेपालका प्रमुख लगानीकर्ता, उद्योगी, उद्यमशीलता क्षेत्रका साझेदार तथा विज्ञहरूको प्यानलसमक्ष प्रस्तुत गरेका थिए।
टण्डनले आफ्नो व्यवसायको बजार सम्भावना, उत्पादन विस्तार, ब्रान्ड निर्माण, वितरण सञ्जाल तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने भावी योजनाबारे प्रस्तुति दिएकी थिइन्। पिचिङ सत्रमा सहभागीहरूले आफ्नो व्यवसायको नवप्रवर्तन, विस्तार क्षमता, निर्यात सम्भावना तथा लगानी आकर्षित गर्ने रणनीतिबारे विज्ञहरूबाट व्यावहारिक सुझावसमेत प्राप्त गरेका थिए।

‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ मा उत्पादन प्रदर्शनी
सहभागी उद्यमीहरूले ‘क्यापस्टोन मेन स्ट्रीट शोकेस (Capstone Main Street Showcase)’ मार्फत आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शनीमा राखेका थिए।
अमेरिकी ‘मेन स्ट्रीट (Main Street)’ अवधारणाबाट प्रेरित उक्त प्रदर्शनीले उद्यमीहरूलाई लगानीकर्ता, उद्योगी, एमच्याम नेपाल (AmCham Nepal) तथा अन्य अमेरिकी व्यावसायिक नेतृत्वसँग प्रत्यक्ष संवाद र नेटवर्किङ गर्ने अवसर प्रदान गरेको थियो। प्रत्यक्ष प्रदर्शन र अन्तरक्रियामार्फत सहभागीहरूले आफ्ना उत्पादन तथा सेवाबारे बजार प्रतिक्रिया प्राप्त गर्नुका साथै नयाँ व्यावसायिक सम्बन्ध र सहकार्यका सम्भावनासमेत विस्तार गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स चीफ माइक हार्करले भने, “आजको क्यापस्टोन शोकेस एउटा कार्यक्रमको समापन मात्र होइन, अमेरिका र नेपालबीचको बलियो आर्थिक साझेदारीको महत्वपूर्ण उदाहरण पनि हो। नवीन सोच भएका नेपाली उद्यमीहरूमा लगानी गर्दै, नवप्रवर्तनलाई प्रोत्साहन गर्दै तथा उद्यमी, उद्योग र लगानीकर्ताबीच सम्बन्ध विस्तार गरेर हामी आर्थिक कूटनीति र निजी क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाइरहेका छौं। नेपालको आर्थिक विकास र द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने नयाँ पुस्ताका उद्यमीहरूलाई सहयोग गर्न पाउँदा हामी गर्व गर्छौं।”

देशभरका २० उद्यमीको सहभागिता
क्यापस्टोन एक्सेलेरेटर अमेरिका–नेपाल व्यावसायिक कूटनीति शृङ्खला (U.S.-Nepal Commercial Diplomacy Series) अन्तर्गत सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रमको अन्तिम चरण हो।
नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालित क्षेत्रीय कार्यक्रमहरूमा सहभागी २०० भन्दा बढी उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत उत्कृष्ट प्रदर्शन गर्ने २० उद्यमीलाई काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट गरिएको थियो।
छनोट भएका २० उद्यमी कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, डिजिटल सेवा, प्राकृतिक उत्पादन, हस्तकला, सहकारी तथा सामाजिक उद्यमलगायत विविध क्षेत्रमा सक्रिय छन्। उनीहरूले नवप्रवर्तन, बजार विस्तार, रोजगारी सिर्जना तथा नेपालको आर्थिक विकासमा योगदान पुर्याउने सम्भावना भएका उद्यमहरूको प्रतिनिधित्व गर्छन्।

कार्यक्रमबारे
उद्यमशीलता सीप विकास कार्यक्रम (Entrepreneurship Skill Building Program) अमेरिका–नेपाल व्यावसायिक कूटनीति शृङ्खला अन्तर्गत अमेरिकी दूतावास नेपालको पहलमा सञ्चालित कार्यक्रम हो। यसलाई International Development Institute (IDI) र Aadhyanta Advisory ले सह–नेतृत्व गरेका छन् भने American Chamber of Commerce in Nepal (AmCham Nepal) र Global Impact Collective सँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो।

नेपालका सातै प्रदेशका आकांक्षी तथा प्रारम्भिक चरणका उद्यमीहरूलाई सशक्त बनाउने उद्देश्यले सञ्चालित यस कार्यक्रमले नेपालमा रहेको महत्वपूर्ण ‘मिसिङ मिडल’ वित्तीय पहुँचको चुनौती सम्बोधन गर्न करिब २०० उद्यमीलाई व्यावसायिक योजना निर्माण, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता तथा लगानी तयारीसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरेको छ।

कार्यक्रमले व्यावहारिक प्रशिक्षण, नेपाली तथा डायस्पोरा विज्ञहरूको मेन्टरिङ तथा लगानीकर्ता, वित्तीय संस्था र सम्भावित खरिदकर्तासँग प्रत्यक्ष सम्पर्क र परिचयको अवसर प्रदान गर्दै उद्यमीहरूलाई ‘कक्षाकोठादेखि पुँजीसम्म’ (Classroom to Capital) पुग्ने मार्ग निर्माण गर्न सहयोग गरेको छ।

क्षेत्रीय कार्यक्रमहरूमा सहभागी २०० भन्दा बढी उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत उत्कृष्ट प्रदर्शन गर्ने २० उद्यमीलाई काठमाडौंमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटर मा सहभागी गराइएको थियो। क्यापस्टोनमा उनीहरूले व्यवसाय विस्तार, लगानी तयारी, निर्यात सम्भावना, एआईको प्रयोग तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारसम्बन्धी विशेष प्रशिक्षण, मेन्टरिङ र पिच कोचिङ प्राप्त गरेका थिए।

कार्यक्रमको अन्तिम चरणमा सहभागीहरूले आफ्ना व्यवसाय तथा भावी विस्तार योजनाहरू लगानीकर्ता, उद्योगी तथा उद्यमशीलता क्षेत्रका विज्ञहरूसमक्ष प्रस्तुत गर्ने अवसरसमेत प्राप्त गरेका थिए।

Exit mobile version