नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्वका लागि तीन समूहबीच प्रतिस्पर्धा हुने भएको छ । आगामी शुक्रबार हुने ५९औं वार्षिक साधारणसभा तथा २५औं कार्यसमिति निर्वाचनमा जिस्वाँ तुलाधर श्रेष्ठ, युबिका भण्डारी र भरतजंग पाण्डेको नेतृत्वमा छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।
सन् १९६६ मा स्थापना भएको नाट्टाको २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुन लागेको हो । अहिले संस्थाको नेतृत्व कुमारमणि थपलियाले गरिरहेका छन् । यसपटक चुनावी मैदानमा रहेका तीनै समूहले पर्यटन व्यवसायलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा स्थापित गर्ने विषयलाई आफ्ना एजेन्डामा समेटेका छन् ।
वर्तमान वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठले ‘सबल नेतृत्व, सुरक्षित व्यवसाय र समृद्ध पर्यटन’ भन्ने नारासहित आफ्नो प्यानल अघि सारेका छन् ।
वर्तमान कार्यसमितिकी महासचिव युबिका भण्डारी पनि अध्यक्ष पदको दौडमा छिन् । शशिज होलिडेज इन्टरनेसनल ट्राभल एन्ड टुर्स प्रालिकी प्रबन्ध निर्देशक भण्डारीले ‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने नारासहित छुट्टै प्यानल बनाएकी छन् । पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताएकी उनले नाट्टाको कार्यसमितिमा रहेर पटक–पटक जिम्मेवारी सम्हालिसकेकी छन् ।
भण्डारी समूहले गन्तव्य क्षेत्र तथा काठमाडौं उपत्यकाबाहिरका पर्यटन व्यवसायीलाई समान प्राथमिकता दिने एजेन्डा अघि सारेको छ। नाट्टालाई प्रविधिमैत्री संस्था बनाउने उसको प्रतिबद्धता छ । सरकारसँग नीतिगत समन्वय बलियो बनाउने र पर्यटन व्यवसायीको क्षमता विकासलाई प्राथमिकतामा राख्ने योजना पनि प्यानलले सार्वजनिक गरेको छ । नाट्टालाई पर्यटन क्षेत्रकै अग्रणी संस्था बनाउने लक्ष्यसमेत यो समूहले लिएको छ ।
भण्डारी नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षका लागि वल्र्डवाइड टुर्स एन्ड ट्राभल्सका सञ्चालक वरुण मेहता उम्मेदवार छन् । उपाध्यक्षमा ढकनाथ ढकाल छन् । महासचिवमा कृष्णप्रसाद ढकाल, सचिवमा श्रद्धा जोशी, कोषाध्यक्षमा रमाकुमारी प्याकुरेल र सहकोषाध्यक्षमा विदुर खतिवडा उम्मेदवार छन् । कार्यसमिति सदस्यका लागि प्रदीपप्रसाद उदय, विवश पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत ढकाल, डा. उमेश गुप्ता, होमबहादुर परियार र राजेन्द्रप्रसाद त्रिपाठी मैदानमा छन् ।
अर्कोतर्फ भरतजंग पाण्डे नेतृत्वको समूहले पनि नाट्टाको नेतृत्वका लागि बलियो दाबी प्रस्तुत गरेको छ । एभरेस्ट मिराकल ट्राभल एन्ड टुर्सका प्रबन्ध निर्देशक पाण्डेले नाट्टाको रूपान्तरणलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन् ।
पाण्डे समूहले ‘सशक्त नाट्टा, समृद्ध पर्यटन सदस्यसँगै सदस्यका लागि’ भन्ने नारासहित निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको छ । समूहले संस्थाभित्र सुशासन र पारदर्शिता कायम गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । सदस्यको सहभागिता बढाउने विषयलाई पनि उसले चुनावी अभियानको महत्वपूर्ण एजेन्डा बनाएको छ ।
नाट्टाको नयाँ नेतृत्वका लागि तीनवटै समूहले आ–आफ्ना प्राथमिकता र योजनासहित सदस्यसँग मत मागिरहेका छन् । पर्यटन व्यवसायको सुरक्षा, संस्थागत सुधार, नीतिगत समन्वय, प्रविधिको प्रयोग, व्यवसायीको क्षमता विकास र पर्यटन क्षेत्रको विस्तारजस्ता विषय यसपटकको निर्वाचनका साझा चासो बनेका छन् ।
नाट्टाको आगामी निर्वाचनले २०२६–२०२८ का लागि नयाँ कार्यसमिति चयन गर्नेछ । सन् १९६६ देखि टुर तथा ट्राभल व्यवसायीलाई संगठित गर्दै आएको संस्थाको नेतृत्वका लागि यसपटक तीन समूहबीच प्रतिस्पर्धा हुन लागेको हो ।
