जडिबुटी निकासी परिमाण घट्यो, मूल्य बढ्यो

नेपाल–भारत सीमाको जमुनाह नाकाबाट निकासी हुने जाडिबुटीको परिणाम अघिल्लो आर्थिक बर्षको तुलनामा घटेपनि कारोबार मूल्य भने बढेको छ । अनेकन समस्या झेल्दै नेपाली जडिबुटी भारत निकासी गर्दै आएको जडिबुटी व्यवसायी बताउँछन् ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, गत आर्थिक बर्ष २०८२÷०८३ मा ३७ लाख किलो भन्दा बढी जडिबुटी (रिठा बाहेक) निकासी भएको थियो । तथ्यांक अनुसार, गत आर्थिक बर्षमा कुल ३७ लाख ३ हजार ८ सय ६१ किलोग्राम जडिबुटी नेपालगन्ज नाका हुँदै निर्यात भएको हो । जसको मूल्य ८४ करोड २६ लाख ७४ हजार रहेको छ । उक्त आर्थिक बर्षमा रिठा १३ लाख ७३ हजार ९ सय २६ किलोग्राम निकासी भएको छ, जसको मूल्य ८ करोड ९८ लाख १९ हजार रूपैयाँ रहेको छ ।

आर्थिक बर्ष २०८१÷०८२ मा नेपालगन्ज नाकाबाट ३८ लाख ७० हजार ६३ किलोग्राम जडिबुटी निकासी भएको थियो । उक्त जडिबुटीको मूल्य ८३ करोड ६४ लाख ७० हजार रूपैयाँ रहेको थियो । गत आर्थिक बर्ष २०८२÷०८३ मा आर्थिक बर्ष २०८१÷०८२ मा भन्दा मूल्यमा डेढ करोडबढी निकासी भएपनि परिमाण भने १ लाख ६० हजार किलोग्राम भन्दा कम हो । आर्थिक बर्ष २०८१÷०८२ मा १५ लाख २३ हजार ५ सय किलोग्राम निकासी भएको थियो, जसको मूल्य १० करोड ५३ लाख ८२ हजार रहेको थियो । आर्थिक बर्ष २०८१÷०८२ मा रिठाको निकासी परिमाण र मूल्यमा ह्वात्तै कमी आएको छ ।

‘भारततर्फको क्वारेन्टाइनेको अढाई महिना जति नलल्दा जडिबुटी निकासी गत आर्थिक बर्षमा केही बढेको हो’, नेपाल जडिबुटी व्यवसायी संघ बाँकेका अध्यक्ष टंक प्रसाद शर्माले भने, ‘सिष्टम नचल्दा बिना अवरोध भारत जडिबुटी निकासी भैरहेको थियो ।’ अध्यक्ष शर्माले नेपालबाट निकासी हुने जडिबुटीका प्रजाति भारतीय प्लान्ट क्वारेन्टाइनमा सूचिकृत नभएको भए निकासी गर्न दिंदैनन् । ‘अहिले पुनः भारतको प्लान्ट क्वारेन्टाइनमा सूचिकृत नभएका केही प्रजातिका जडिबुटीको निकासीमा अवरोध हुन थालेको व्यवसायीले गुनासो गर्न थालेका छन्’, उनले भने ।

आर्थिक वर्ष २०८०÷८१ मा २६ लाख ६७ हजार ५३ केजी जडिबुटी (रिठा बाहेक) निकासी भएको थियो । जसको मूल्य नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, ७९ करोड ४८ लाख ८२ हजार रूपैयाँ रहेको थियो । उक्त आ.व.मा रिठा १२ लाख ३४ हजार ३ सय ७९ केजी निर्यात भएको थियो, जसको मूल्य १० करोड ५ लाख ७९ हजार रहेको थियो ।

नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष शर्माले पश्चिमका पहाडि जिल्लाबाट किसानले उत्पादन गरेका जडिबुटी व्यवसायीले संकलन गरेर भारत निकासी गर्दै आएको बताए । ‘पहिलो भन्दा सहज छ, तर जडिबुटी व्यवसायीले अझै पनि समस्या झेल्नुपरिरहेको छ,’ उनले भने, ‘देशभित्रै जडिबुटी ओसारपोसार गर्दा होस् वा भारत निकासी गर्दा व्यवसायीले अनाहक दुःख पाउँदै आएको गुनासो हामी कहाँ गर्दै आएका छन् ।’

अहिले सरकारबाट जडिबुटीमा प्रतिबन्ध नरहेको उल्लेख गर्दै अध्यक्ष शर्माले किसानले उत्पादन गरेका जडिबुटी निर्यातमा अवरोध हुन नदिन र अवरोध हुँदा सरकारले चासो दिएर समस्याको समाधान गर्नुपर्ने बताउँछन् । ‘दुई देशको सरकार तथा सरोकारवाला कर्मचारी स्तरीय छलफलबाट समस्याको सम्बोधन गर्न सरकारले चासो राख्नुपर्छ’, उनले भने, ‘जडिबुटी क्षेत्र फष्टाउनका लागि व्यवसायीलाई सधै निकासीमा अवरोध हुन्छ कि भन्ने चिन्ता अन्त्य गर्न आवश्यक छ ।’

जडिबुटी व्यवसायीले आन्तरिक ओसारपोसारमै छुटपूर्जी छुटेमा अवैध कारोबार गरेको सोच्ने गरेको गुनासो गर्दै जडिबुटीको उत्पादन, प्रशोधन, रोजगारी सिर्जना, राजश्व वृद्धि लगायत तर्फ राज्यले आवश्यक ध्यान नदिनको बताउँछन् ।

जडिबुटी व्यवसायी संघका अध्यक्ष शर्मा कृषि र वन मन्त्रालय अहिले एउटै भएकाले व्यवसायीका समस्या एकै ठाउँबाट निरूपण हुनसक्ने उल्लेख गर्दै त्यसका लागि संघले विगत जस्तै पहल गरिराख्ने बताए ।

Exit mobile version