बाँके : व्यवसायिक फलफुल खेती बढ्दै

बाँकेको बैजनाथ गाउँपालिका–१ का सर्पराज बस्नेतले दुई वर्षदेखि व्यवसायिक रूपमा स्ट्रबेरी खेती गर्दै आएका छन् । परम्परागत खेतीबाट अपेक्षित आम्दानी हुन नसकेपछि उनले स्ट्रबेरी खेती सुरु गरेका हुन् । करिब साढे ६ लाख रूपैयाँ लगानी गरेर झण्डै ९ हजार बिरुवा रोपिएको खेतबाट पहिलो वर्षमै करिब १५ क्विन्टल स्ट्रबेरी उत्पादन भएको थियो ।

बाँकेकै कोहलपुर नगरपालिका १४ का हेमन्त थापाले १५ कठ्ठामा दुई हजार बिरुवाबाट स्ट्रबेरी खेती सुरु गरे । आम्दानी राम्रो भएपछि करिब ९ हजार बिरुवा रोपे । उचित सिँचाइ, व्यवस्थापन र प्रविधि प्रयोग गरे तराईको गर्मी क्षेत्रमा पनि राम्रो उत्पादन र आम्दानी लिन सकिने उनको अनुभव छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नं. २ मा सिर्जना विष्टले एक विगाहमा व्यवसायिक रूपमा अम्बा खेती गरेकी छिन् । अन्य खेती हुने जग्गामा अम्बा नै किन भन्ने प्रश्नमा उनी भन्छिन्, ‘दुःख पनि धेरै हुँदैन यही नै राम्रो हुन्छ ।’

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर सुनिल यादव १५ कठ्ठा अम्बा खेती गर्दै आएका छन् ।

माथि उल्लेखित बाँकेमा व्यवसायिक रूपमा फलफुल खेती गर्ने किसानहरू प्रतिनिधिमूलक मात्रै हुन् । बाँकेमा पछिल्लो समय व्यवसायिक रूपमा फलफुल खेतीमा किसानहरूको आकर्षण बढ्दै गएको छ ।

बाँकेमा पछिल्लो समय परम्परागत अन्नबालीको तुलनामा फलफूल खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । कम क्षेत्रफलबाट पनि राम्रो आम्दानी लिन सकिने र बजारमा फलफूलको माग बढ्दै गएपछि जिल्लाका विभिन्न क्षेत्रमा किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित भएका हुन् । अन्य खेतीमा सिचाईको अभाव, रासायनिक मल तथा गुणस्तरीय बिउ नपाउने, उत्पादन कम हुनेदेखि समय र लागत बढी हुने गर्दा फलफुल खेती नै राम्रो भएको फलफुल खेती गर्ने किसानहरू बताउँछन् ।

‘बाँकेका किसानहरूले विशेषगरी आँप, केरा, मेवा, ड्रागन फ्रुट, कागती, अनार, भुइँकटर र स्ट्रबेरीलगायत फलफूलको खेती विस्तार गर्न थालेका छन् । केही किसानले आफ्नै खेतबारीमा फलफूलका बिरुवा लगाएर उत्पादन सुरु गरेका छन् भने केहीले व्यवसायिक रूपमा बगैँचा विस्तार गरिरहेका छन्’, कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले भनिन्, ‘जिल्लामा १२÷१३ प्रकारका फलफुल खेती हुने गरेको छ ।’

बाँकेमा ५५ हजार ८ सय २५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ । जसमध्ये ४४ हजार ९ सय २६ हेक्टरमा खेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी समेत रहेकी शर्माले खेतीयोग्य जग्गा मध्ये बाँकेमा १ हजार ३ सय हेक्टर क्षेत्रफलमा फलफुल खेती हुँदै आएको जानकारी दिइन् । उनले बाँकेमा सबैभन्दा बढी व्यवसायिक खेती आँपको हुने गरेको बताइन् । ‘बाँकेमा आँप मात्रै १ हजार १५ हेक्टरमा हुने गरेको छ, जसबाट ९.९७ मेट्रिकटन आँप उत्पादन हुने गरेको छ’, उनले भनिन् ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार, जिल्लामा ५० हेक्टरमा केरा, ४१ हेक्टरमा कागती, निबुवा, ३१ हेक्टरमा अम्बा, ९ हेक्टर क्षेत्रफलमा मेवा खेती हुने गरेको छ । कागती, निबुवा ८.१५ मेट्रिकटन, अम्बा ८.८७ मेट्रिकटन, मेवा १३.८५ मेट्रिकटन उत्पादन हुने गरेको छ ।

फलफूल खेतीबाट नियमित आम्दानीको सम्भावना देखिएपछि युवा किसानसमेत यसतर्फ आकर्षित भएको पाइएको वरिष्ठ कृषि प्रसार अधिकृत शर्मा बताउँछिन् ।

परम्परागत खेतीमा उत्पादन लागत बढ्दै गएको अवस्थामा फलफूल खेतीबाट तुलनात्मक रूपमा राम्रो प्रतिफल लिन सकिने किसानहरूको भनाइ छ । ‘बाँकेको हावापानी र माटो विभिन्न प्रकारका फलफूल खेतीका लागि उपयुक्त भएकाले व्यावसायिक उत्पादन विस्तार गर्न सकिने सम्भावना छ’, उनले भनिन्, ‘तर गुणस्तरीय बिरुवा, आधुनिक प्रविधि, सिँचाइ, रोग–कीरा नियन्त्रण तथा बजार व्यवस्थापनमा किसानलाई आवश्यक सहयोग हुनुपर्छ ।’ त्यसका लागि स्थानीय सरकारले पनि सहयोग गरेपछि फलफुल तथा तरकारी खेतीमा किसानको आकर्षण बढेको उनी बताउँछिन् ।

किसानहरूले भने फलफूल खेती विस्तारसँगै उत्पादन बिक्रीका लागि व्यवस्थित बजारको आवश्यकता रहेको बताउँदै आएका छन् । यद्यपि, केही फलफुलको बजारीकरण राम्रोसँग भैरहेको किसानहरू बताउँछन् । पछिल्लो समय बाँकेमा स्थानीय आँप, स्टेबरी, ड्रागन पू्रmट लगायतका फलफुलले राम्रो बजार पाएको थियो ।

उत्पादनको उचित मूल्य नपाउने, भण्डारणको सुविधा नहुनु तथा बिचौलियाका कारण किसानले अपेक्षित लाभ लिन नसक्ने समस्या अझै रहेको किसानहरू भनाइ छ ।

सम्बन्धित निकायले फलफूल खेती गर्ने किसानलाई प्राविधिक ज्ञान, उन्नत जातका बिरुवा, सिँचाइ तथा आवश्यक कृषि सामग्रीमा सहयोग गर्न सके उत्पादन र किसानको आम्दानी दुवै बढ्ने अपेक्षा गरिएको छ ।

बाँकेमा फलफूल खेतीको क्षेत्र विस्तार हुँदै गएमा जिल्लाको कृषि उत्पादनमा विविधता आउनुका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसरसमेत बढ्ने देखिन्छ ।

‘खेतीका लागि सुझाव लिन कार्यालयमा आउने किसानहरूलाई हामीले आवश्यक सुझावहरू दिंदै आएका छौं’, वरिष्ठ कृषि प्रसार अधिकृत शर्माले भनिन् । कृषि ज्ञान केन्द्रले १५ कठ्ठामा फलफुल खेती गर्ने किसानहरूका लागि पुराना बगैचा सदृढिकरण कार्यक्रम सञ्चालन गरेको थियो ।

Exit mobile version