राप्ती नदीमा बगेकी बाँकेको नरैनापुर गाउँपालिका–६ की एक महिलाको प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ । शनिबार दिउँसो नदीमा बगेकी चौबिस बिघाकी शेषरानी यादवलाई प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तत्काल उद्धार गरेको हो ।
प्रहरीका अनुसार, यादव राप्ती नदीमा बगेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ गएको थियो । त्यससँगै सशस्त्र प्रहरी बलको बिओपी गंगापुरबाट पनि टोली परिचालन गरिएको थियो । दुवै सुरक्षा निकायको संयुक्त टोली नदीमा पसेर यादवलाई बाहिर निकालेको हो ।
इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक सुरेश कोइरालाका अनुसार नदीमा महिला बगेको जानकारी प्राप्त हुनासाथ उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो । ‘महिला नदीमा बगेको जानकारी आएपछि तत्काल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर सकुशल उद्धार गरिएको हो,’ उनले भने ।
उद्धारका क्रममा स्थानीय बासिन्दाले समेत सुरक्षाकर्मीलाई सहयोग गरेका थिए। स्थानीयको सहयोगमा सुरक्षा टोलीले नदीमा खोजी तथा उद्धारको काम अघि बढाएको थियो । उद्धारपछि यादवको उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताए ।
वर्षायाममा राप्ती नदीसहित बाँकेका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्ने गरेको छ । यस समयमा बाढीको जोखिमसमेत रहने भएकाले नदी तथा खोलामा नजान तटीय क्षेत्रका बासिन्दालाई प्रहरीले आग्रह गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नदी तथा खोलामा बाढी आउन सक्ने अवस्थालाई ध्यानमा राखेर सर्वसाधारणलाई विभिन्न माध्यमबाट पटक–पटक सचेत गराइएको छ । विशेषगरी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीमा नछिर्न र जोखिमपूर्ण स्थानमा नजान आग्रह गरिएको कार्यालयले जनाएको छ ।
