एन्टी स्नेक भेनम अभाव

नेपालगन्जस्थित भेरी लगायत लुम्बिनी प्रदेशका अधिकांश अस्पतालमा सर्पदंशका बिरामीलाई दिइने एन्टी स्नेक भेनम भ्याक्सिन अभाव भएको छ । अहिले अस्पतालहरूले अन्य ठाउँबाट मागेर सेवा धानिरहेका छन् । सर्पको विगविगी बढ्ने समय सुरु भएकाले भ्याक्सिनको अभाव थप गम्भीर बन्ने जोखिम देखिएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले भ्याक्सिन अभाव रहेको स्वीकार गरिन् । ‘एन्टी स्नेक भेनम भ्याक्सिनको अभाव छ, यताउताबाट ल्याएर काम चलाईरहेका छौं,’ उनले भनिन्, ‘सर्पका बिरामीको संख्या बढ्यो भने थप समस्या पर्न सक्छ ।’

विज्ञका अनुसार, चैतदेखि असोजसम्म तराईका जिल्लामा विषालु सर्पको विगविगी बढी हुन्छ । अहिले वर्षा पनि सुरु भएकाले सर्पदंशका बिरामी बढ्न सक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका निर्देशक डा. राजेन्द्रकुमार गिरीले भ्याक्सिन अभाव संघीय सरकारतर्फबाटै भएको बताए। ‘भ्याक्सिनको अभाव बढ्दै गएको छ, यही स्थिति रहने हो भने झन् गाह्रो पर्ने अवस्था छ,’ उनले भने, ‘यो सर्प बढी देखा पर्ने समय पनि हो ।’

अभाव तत्काल धान्न सर्प कम देखापर्ने पहाडी जिल्लाबाट संकलन गरेर ५० भाइल भ्याक्सिन ल्याई अस्पतालमा पठाइएको गिरीले बताए । केन्द्रले लुम्बिनीका १२ जिल्लामध्ये सर्पदंश उपचार हुने २२ देखि २५ वटा अस्पतालमा भ्याक्सिन पठाउँदै आएको छ ।

भ्याक्सिनको कोटा संघीय स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निर्धारण गर्छ। लुम्बिनी प्रदेशका लागि ७ हजार २ सय ४२ भाइल कोटा तोकिएको छ । त्यसमध्ये लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई १ हजार ८ सय, गोरुसिंगेमा रहेको सर्पदंश उपचार केन्द्रलाई ७ सय र भेरी अस्पताललाई ६ सय ५० भाइल छुट्याइएको छ । अन्य जिल्लाका अस्पतालमा बिरामीको चापका आधारमा कोटा निर्धारण गरिएको केन्द्रले जनाएको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले हरेक वर्ष टेन्डर प्रक्रियाबाट भ्याक्सिन खरिद गर्दै आएको छ। तर आपूर्ति समयमै नभए समस्या बढ्ने देखिएको छ । निर्देशक गिरीका अनुसार अबको एक साताभित्र भ्याक्सिन आपूर्ति नभए अवस्था विकराल बन्न सक्छ ।

भेरी अस्पताल नेपालगन्जले भने अभाव हुन सक्ने अनुमान गरेर पहिले नै भ्याक्सिन संकलन गरेको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले विगतको अनुभवका आधारमा तयारी गरिएकाले चरम अभाव नभएको बताए । ‘विगतको अनुभव अनुसार हामीले पहिल्यै भ्याक्सिन संकलन गरेर राख्यौं, त्यसकारण हामीले चरम अभाव खेप्नु परेन, अहिले भ्याक्सिन पर्याप्त नभएको अवस्था चाही छ,’ उनले भने, ‘भेरीमा उपचारका लागि आउने बिरामीलाई फर्काउनु परेको छैन, तर भ्याक्सिनको स्टक धेरै छैन ।’

दर्नालका अनुसार, आर्थिक वर्ष २०८२÷०८३ मा भेरी अस्पतालमा ५ सय ५५ भाइल भ्याक्सिन खपत भएको थियो । चालु आर्थिक वर्ष २०८३÷०८४ मा हालसम्म ४ सय ९० भाइल भ्याक्सिन अस्पतालमा आएको छ ।

भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डेका अनुसार, बिरामीको अवस्था हेरेर एक जनालाई अधिकतम १० भाइलसम्म भ्याक्सिन आवश्यक पर्न सक्छ । उनका अनुसार पछिल्लो एक महिनादेखि भ्याक्सिन अभाव बढेको छ। अभाव भएपछि बाहिरका अस्पतालबाट भ्याक्सिन ल्याएर सेवा चलाइएको उनले बताए ।

‘अहिले त्यति वर्षा भएको छैन, वर्षा हुनेबित्तिकै सर्पको बढी विगविगी हुन्छ, सर्पले टोकेका बिरामीको संख्या ह्वात्तै बढेपछि भ्याक्सिन पुर्याउन गाह्रो हुन्छ,’ पाण्डेले भने ।

 

 

Exit mobile version