राप्तीसोनारीमा सर्प र बिच्छीको टोकाइबाट १२४ जना उपचारमा

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्ष २०८२÷८३ मा सर्प र बिच्छीको टोकाइबाट १२४ जना उपचारका लागि पुगेका छन् । तीमध्ये ५५ जना सर्पदंशका बिरामी थिए ।

सर्पदंशका बिरामीमध्ये २९ जना महिला र २६ जना पुरुष रहेको उपचार केन्द्रका अहेब नन्दलाल पाण्डेले बताए । पाँच जनालाई अति विषालु सर्पले टोकेको थियो । समयमै उपचार केन्द्रमा ल्याइएका कारण सबैको सफल उपचार भएको उनले बताए ।

उक्त अवधिमा बिच्छीले टोकेका ६९ जनाले पनि उपचार सेवा लिएका थिए। उनीहरूमध्ये ४२ जना महिला र २७ जना पुरुष रहेको पाण्डेले जानकारी दिए।

वर्षायाममा सर्पदंशका घटना बढी हुने गरेका छन्। विशेषगरी साउनदेखि असोजसम्म सर्पको गतिविधि बढ्ने गरेको स्थानीय बताउँछन् । वर्षाका कारण सर्पको बासस्थानमा पानी भरिएपछि सुख्खा ठाउँ खोज्दै सर्प घर, गोठ, खेतबारी र मानिसको आवतजावत हुने स्थानसम्म पुग्ने गरेका छन् ।

धान रोपाइँ, घाँस काट्ने र दाउरा संकलन गर्ने क्रममा पनि सर्पदंशको जोखिम बढ्ने गरेको छ। खेतमा नाङ्गो खुट्टाले काम गर्दा जोखिम अझ बढी हुने गरेको स्थानीयको भनाइ छ ।

राप्तीसोनारी–कचनापुरका स्थानीय भपेन्द्र खत्रीले सर्पले सामान्यतया मानिसलाई आक्रमण गर्ने उद्देश्यले नभई आत्मरक्षाका लागि टोक्ने गरेको बताए। ‘तत्काल उपचार केन्द्रसम्म लैजान सकिए ज्यान जोगाउन सकिने रहेछ भन्ने पुष्टि भएको छ,’ उनले भने।

स्वास्थ्यकर्मीले सर्पदंशबाट जोगिन राति टर्च वा बत्ती प्रयोग गर्न सुझाव दिएका छन्। खेतबारी तथा झाडीमा काम गर्दा बुट र लामो पाइन्ट लगाउनुपर्ने उनीहरूको भनाइ छ। घरवरिपरि झाडी र फोहोर नराख्ने, मुसा नियन्त्रण गर्ने तथा सुत्दा झुल प्रयोग गर्ने बानीले पनि जोखिम घटाउन सकिन्छ।

सर्प देखिएमा समात्ने वा मार्ने प्रयास नगर्न पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। सुरक्षित दूरी कायम गर्नुपर्ने उनीहरूको सुझाव छ ।

सर्पले टोकेपछि झारफुक, धामीझाँक्री वा घरेलु उपचारमा समय खेर फाल्न नहुने अहेब पाण्डेले बताए। ‘सर्पले टोकेमा सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा सर्पदंश उपचार केन्द्रमा पु¥याउनुपर्छ,’ उनले भने ।

Exit mobile version