पानीको निकास नहुँदा नेपालगन्जको १०८ फिट हनुमान मूर्ति र मन्दिर क्षेत्र डुबानमा परेको छ । लगातार पानी परेपछि मन्दिरसँगै जोडिएको जय वागेश्वरी माध्यामिक विद्यालयको परिसरसमेत जलमग्न भएपछि विद्यालयमा बिदा गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।

डुबानको मुख्य कारण पुरानो नाला व्यवस्थापनमा मात्रै ध्यान दिइनु र नयाँ निकासको सम्भावित बाटोतर्फ नेपालगन्ज उपमहानगरपालिकाले चासो नदिएको स्थानीयको आरोप छ । नियमन अभावले पानी निकास हुने स्थान बन्द गरेपछि समस्या थपिएको उनीहरूको भनाइ छ ।
स्थानीयका अनुसार, बाल्दा तालाउदेखि १०७ फिट हनुमान मन्दिरको पश्चिमतर्फ रहेको ११.३ फिटको बाटोबाट पानी निकास गर्न सकिने अवस्था छ । ‘तर, त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । ‘अहिले पनि पुरानै निकास व्यवस्थापनमा मात्रै जोड दिइएकोले यो समस्या आएको हो,’ जय वागेश्वरीका संस्थापक विद्यामान राजभण्डारीले दैनिक नेपालगन्जसँग भने ।
राजभण्डारीका अनुसार, २०२४ सालको नक्साअनुसार कोसेले घरदेखि भट्टीटोलसम्मको नाला खुला गर्नुपर्ने माग स्थानीयले गरेका छन् । उनीहरूका अनुसार नालामै कोसेले घर निर्माण गरिएको छ । नाला कसैले मिच्न नपाउने भए पनि नालाको गज्जा कसरी कित्तामा परिवर्तन भयो भन्ने प्रश्नसमेत उठाइएको छ ।
हनुमान गौशालाभित्र रहेको नाला अहिले देखिन छाडेको स्थानीयको दाबी छ । गौशालाभित्रको नाला खन्न पाउने हो कि होइन भन्ने प्रश्न पनि उनीहरूले गरेका छन् । नालाको जग्गा कसरी व्यक्तिको कित्तामा समावेश भयो भन्ने विषयमा नापी शाखा र नेपालगन्ज उपमहानगरपालिकाले स्पष्ट जवाफ दिनुपर्ने उनीहरूको माग छ ।
स्थानीयले २०२४ सालको नक्सालाई आधार मानेर नयाँ नक्सा तयार गर्नुपर्ने मागसमेत गरेका छन् । विद्यालयको कम्पाउन्डभित्र रहेका ३ वटा रुख नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीले ट्याक्टरमा राखेर लगेको दाबी पनि गरिएको छ । विद्यालय डुबानमा परेका बेला विद्यालय परिसरभित्रको संरचना तथा पानी निकास व्यवस्थापनमा समेत स्थानीयले प्रश्न उठाएका छन् ।
पानी निकास नहुँदा जय बागेश्वरी माध्यामिक विद्यालय र १०८ फिट हनुमान मन्दिर क्षेत्र दिनभर डुबानमा परेको जनाइएको छ । राजभण्डारीले तीन वटा मोटर लगाएर तीन वर्षदेखि जम्मा भएको पानी फाल्ने प्रयास भइरहेको छ । तर पानीको स्थायी निकासको व्यवस्था नहुँदा समस्या दोहोरिइरहेको छ ।
आफुले यो समस्या पटकपटक उठाउँदा पनि समाधान नभएको गुनासो राजभण्डारीले गरेका छन् । ‘धेरै अन्याय गर्नुभयो, अब अति नगर्नुहोस् । अब त अति भयो । कहिले पूर्णविराम लाग्छ ? विधिको विधान कायम होस् । गलत हेर्न नपरोस्’, उनले भनेका छन् ।