कानुनी उल्झनबीच बार्षिक साधारणसभा सफलतासाथ सम्पन्न भएपछि नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया अगाडी बढेको छ । त्यसका लागि संघका मुख्य निर्वाचन अधिकृत, अधिवक्ता तिर्थराज ज्ञवालीले आइतवार पाँच बूँदे आचारसंहिता जारी गरेका छन् ।
उम्मेदवारहरुबीच भएको संयुक्त बैठकले आपसी समझदारीमा उक्त संहिता जारी गरिएको अधिवक्ता ज्ञवालीले जानकारी दिए । ‘संहिता अनुसार, मादक पदार्थ सेवन गरी मतदान गर्न आउन पाइने छैन,’ ज्ञवालीले दैनिक नेपालगन्जसँग भने ।
मतदानका क्रममा मोवाइलको प्रयोगमा रोक लगाइएको छ । ‘मतदान केन्द्रमा प्रवेश गर्दा मोबाइल साथमा लिएर जान पाइने छैन,’ आचारसंहिताको दोस्रो बूँदामा भनिएको छ । ‘संहिता पालनामा हामी सबैको समझदारी भएको छ,’ अध्यक्ष पदका उम्मेदवार चिरन्जीवी ओलीले दैनिक नेपालगन्जसँग भने । संहिता अनुसार, मतदान केन्द्रमा अनावश्यक भिडभाड होहल्ला गर्न पाइने छैन । साथै, मतदान गरिसकेपछि मतदाताहरु बाहिर जानु पर्नेछ ।
‘मतदान स्थल भित्र र मतदान केन्द्र भित्र कुनै चिज वस्तु (पानी, लाइटर, सलाई, हातहतियार) लग्न पाइने छैन,’ आचारसंहिताको अर्काे बूँदामा भनिएको छ, ‘माथि उल्लेखित आचारसंहिता विपरित कार्य गर्ने मतदाता, मतदान प्रतिनिधिलाई प्रचलित कानुन बमोजिम कारवाही गर्न सकिने छ ।’
भदौ ६ गते बिहान ८ बजेदेखि मतदान कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ । ‘हामी सबैको सरसल्लाहबाट सबै संहिता तय भएको हो,’ उपाध्यक्ष पदमा सर्वसम्मत उम्मेदवार बनेका कमल कार्कीले भने ।
