भारतको बहराइच जिल्लास्थित रुपईडीहामा २.५ किलो अवैध अफिमसहित एक नेपाली महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रोल्पाको थबाङ गाउँपालिका–५ निवासी करिब ६५ वर्षीया मनपुरा बुद्धा रहेकी छन्।
भारत–नेपाल सीमा क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रण अभियानअन्तर्गत रुपईडीहा प्रहरी र सशस्त्र सीमा बलको संयुक्त टोलीले आइतबार साँझ रुपईडीहा बजारस्थित एसएसबी चेकपोस्टमा उनलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको साथबाट बरामद अफिमको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ३० लाख भारतीय रुपैयाँ रहेको छ। घटनाबारे रुपईडीहा थानामा एनडीपीएस ऐनअन्तर्गत मुद्दा दर्ता गरी उनलाई बहराइच अदालत पठाइएको छ।
पक्राउ तथा बरामदगीमा रुपईडीहा प्रहरी र एसएसबीको संयुक्त टोली परिचालन भएको थियो।
