नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा छाडा छोडिएका पशुचौपाया नियन्त्रण गर्ने अभियानलाई निरन्तरता दिएको छ । सोमबार बिहान गरिएको अभियानका क्रममा उपमहानगरपालिकाले १५ वटा छाडा पशुचौपाया नियन्त्रणमा लिएको छ ।
उपमहानगरपालिकाका अनुसार, बिहान ६ बजेदेखि नगरका विभिन्न स्थानमा टोली परिचालन गरिएको थियो । त्यस क्रममा ९ वटा गाई, बाच्छा, बाछी तथा गोरु नियन्त्रणमा लिइएको हो । त्यस्तै ६ वटा घोडा, घोडी तथा बछेरा पनि संकलन गरिएको छ ।
नियन्त्रणमा लिइएका सबै पशुचौपायालाई नेपालगन्ज उपमहानगरपालिका–२१ बिर्तास्थित कान्जीहाउसमा लगेर व्यवस्थापन गरिएको छ । नगर क्षेत्रमा जथाभावी छाडिएका पशुका कारण सडक तथा सार्वजनिक स्थानमा हुने समस्या घटाउने उद्देश्यले उपमहानगरपालिकाले यस्तो अभियान चलाउँदै आएको हो ।
नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीका अनुसार, उपमहानगरपालिकाले नगरलाई छाडा पशुचौपायामुक्त बनाउने लक्ष्यसहित नियन्त्रण र व्यवस्थापनको कामलाई निरन्तर अघि बढाएको छ । ‘नगरलाई छाडा पशुचौपायामुक्त बनाउने उद्देश्यले संकलन, नियन्त्रण र व्यवस्थापनको काम निरन्तर गर्दै आएका छौं,’ उनले भने ।
उनका अनुसार, नगरका विभिन्न क्षेत्रमा छाडा अवस्थामा भेटिने पशुचौपायालाई संकलन गरी कान्जीहाउसमा व्यवस्थापन गर्ने गरिएको छ । अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने उपमहानगरपालिकाले जनाएको छ ।
