आजभोली विकासको नाममा मन्दिर निर्माणको लहर नै चलेको छ । धार्मिक आस्थाको केन्द्र मन्दिर निर्माण गर्ने कार्य आफैँमा नराम्रो भने होइन । तर अहिले गाउँ ठाउँ होस अथवा शहरी क्षेत्रका टोल टोलमा हेर्नुस त, आवश्यकता छ कि छैन नहेरी मन्दिर निर्माण भइरहेका छन । त्यही ठाउँमा खानेपानीको समस्या होला ? सडकको नालीमा कल्भर्ट राख्नुपर्ने होला ? स्कूलको छाना फेर्नुपर्ने होला ? यस्ता थुप्रै आवश्यक निर्माणका काम छन । त्यसप्रति कसैको ध्यान गएको देखिँदैन । तर मन्दिर निर्माण भनेपछि सबैको मत एक हुन्छ ।
मन्दिर बनाउनु आफैँमा गलत कुरा होइन । यो त संस्कारको निरन्तरता, आस्थाको अभिव्यक्ति र सभ्यताको प्रतीक हो । तर बिना योजना, नीति र पारदर्शिता गरिने मन्दिर निर्माणले धर्मलाई पनि व्यापारको रूपमा बदल्ने अवस्था आउँछ । आजको यो लहर भोलिको बिस्मृति नबनोस, आजको श्रद्धा भोलिको विग्रह नबनोस भन्ने हो भने राज्य, समाज र समुदायले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । अर्को तर्फ आजभोली धेरै ठाउँमा अग्ला र विशाल हनुमान, भगवती वा अन्य देवताका मूर्ति निर्माण गर्ने प्रतिस्पर्धा नै हुन थालेको छ । कुनै पनि देवताको मूर्ति अग्लो नै बनाउनुपर्छ भन्ने कुरा कुनै शास्त्रमा पाइँदैन । शास्त्रले विशाल मूर्ति बनाउ भनेको छैन, शास्त्रीय अनुपात, शुद्ध स्वरूप र विधिपूर्वक प्रतिष्ठा गर मात्र भनेको छ ।
आज गाउँ गाउँमा हेर्ने हो भने हाम्रो समाज साँच्चै मन्दिर निर्माणको शिखर यात्रामा छ । एउटा मन्दिरको घण्टा बज्न नपाउँदै अर्कोको जग खनिन्छ । सांसद विकास कोषको शिलालेख हो वा प्रदेशको रातो किताब, बजेटको लहर पनि मन्दिरतिरै मोडिएको छ । अनि अर्कोतिर गाउँलेको पसिनाको पैसा, प्रवासी छोराको रेमिटयान्स र टोलका प्रतिष्ठित भनिनेहरूको इश्वर प्रति जोडिएको आस्थाको दान सबै मिसिएर एउटै इँटामा थुप्रिएको छ । मन्दिर निर्माणको लागि दानको महिमा र चर्चा हुन्छ । यति दान गरे स्वर्ग, उति दान गरे मोक्ष का कथा सुनाएर थैली खोलाइन्छ । हेर्दा लाग्छ, देश नै कुनै अदृश्य भक्तिको ज्वारभाटामा बगेको छ । तर यो ज्वार के साँच्चै आस्थाको उज्यालोबाट आएको हो ? कि त्यो उज्यालोभित्र पनि केही छायाँहरू लुकेका छन ?
धार्मिक आस्था हाम्रा पुस्ताहरूको जीवनराग हो । हाम्रा बस्तीहरूमा बिहान मन्दिरको घण्टीले दिनको सुरुवात हुन्छ । बुढाबुढी हातमा फूल, जल र भजन बोकेर मन्दिर पस्छन । बालकहरू त्यसैको आँगनमा अक्षर चिन्न थाल्छन । त्यसैले मन्दिर निर्माणको भावना आफैँमा विशुद्ध हुन्छ, विवादास्पद होइन । तर आजकल यो विशुद्धता अनेक उद्देश्यले मिसिएको छ । कतै चुनावी लाभका लागि मन्दिर निर्माण हुन्छ, कतै सामाजिक प्रतिष्ठा देखाउन, कतै चन्दा संकलनको बहानामा धार्मिकता ओढिन्छ । परिणामस्वरूप मन्दिर अब पूजास्थल मात्र नभई प्रभावको प्रतीक बनेको छ ।
नेपालमा मन्दिर निर्माणको कुनै राष्ट्रव्यापी नीति, मापदण्ड वा दीर्घकालीन योजना छैन । यही नीतिगत शून्यताको बीचमा जता मन लाग्यो त्यतै मन्दिर निर्माण भएका छन । कहिले बाँझो चौरको बीचमा, कहिले निजी आँगनको कुनामा, कहिले सार्वजनिक जग्गाको नाममा, त कहिले गाउँको जग्गा विवादलाई साम्य पार्ने सजिलो उपायको रूपमा मन्दिर बनेका छन । मन्दिर बनाउन चन्दा उठाउने, शिलान्यास गर्ने र भव्य उद्घाटन गर्ने यो त एउटा चलन जस्तै बनेको छ । आफ्नो गाउँ, आफ्नो टोलमा कुनै देवालय छैन भने आस्थाको केन्द्र बनाउनु निश्चय नै सुन्दर र पुण्य कार्य हो । त्यसले समुदायलाई जोडछ, संस्कृतिलाई निरन्तरता दिन्छ । तर प्रश्न त्यहाँ उठ्छ, जहाँ पहिल्यैदेखि मन्दिर छ, घण्टा बजिरहेकै छ, पूजा चलिरहेकै छ, त्यही ठाउँमा फेरि अर्को मन्दिर निर्माणको औचित्य के ? त्यहाँ आस्थाले भन्दा बढी आकर्षणले काम गरेको देखिन्छ ।
अर्कोतिर को बढी धर्मात्मा देखिने होडबाजी, को मन्दिरको समितिमा अध्यक्ष बन्ने प्रतिस्पर्धा र शिलालेखमा नाम लेखिने मोह । आस्था भित्रको मौन समर्पण विस्तारै बाहिरी तामझामको प्रदर्शनमा बदलिँदै गएको छ । दुःखको कुरा, यसको कुनै लेखाजोखा न स्थानीय सरकारसँग छ, न प्रदेश सरकारसँग । कुन भूगोलमा कस्तो संरचना आवश्यक छ, कुन समुदायको बनावट कस्तो छ, त्यहाँको सांस्कृतिक बहुलता र सामाजिक संवेदनशीलतालाई कसरी सम्मान गर्ने भन्ने गहिरो अध्ययन नै छैन । हामीले धार्मिक संरचना त धेरै बनायौं, तर धार्मिक चेतना, सहिष्णुता र व्यवस्थापनमा भने पछाडि परेका छौं । आवश्यकता भन्दा बढी बनेका मन्दिरहरूले न त आस्थालाई बलियो बनाउँछन, न त समुदायलाई धार्मिक चेतनाको गहिराइमा पु¥याउँछ । बरु यसले जमिनको दुरूपयोग, स्रोतको दोहन र कहिलेकाहीँ साम्प्रदायिक दूरी समेत बढाइरहेको छ । अब मन्दिर चाहिने होइन, मन्दिर निर्माणको विवेक चाहिने बेला आएको छ । कहाँ, किन र कसका लागि बनाउने भन्ने प्रश्नको उत्तर नखोजेसम्म हरेक चौरमा निर्माण भएका मन्दिरहरू आस्थाका प्रतीक होइन, अराजक योजनाका स्मारक मात्र बनिरहनेछन ।
मन्दिर निर्माणमा दान र चन्दा उठाउने प्रचलन पुरानो हो । तर यसको भाव पुरानो जस्तो रहेन । कुनै बेला मानिसहरूले मन्दिर निर्माण गर्दा ढुंगा बोक्दथे । कसैले काठ, कसैले आफ्नो खेतको पहिलो उब्जनीको मुठीभर अन्न ल्याउँथे । नाम सोध्ने चलन थिएन । कसले के ल्यायो भन्ने भन्दा पनि कति श्रद्धाले ल्यायो भन्ने ठूलो हुन्थ्यो । त्यो बेला दान भनेको ईश्वर र आफूबीचको मौन संवाद थियो, समाजलाई सुनाउनुपर्ने समाचार थिएन । तर अहिले त्यो चन्दा नियमित आर्थिक स्रोत जस्तो भएको छ । एउटा स्थायी आम्दानीको पाइपलाइन जस्तो । अब दान दिइँदैन, देखाइन्छ । गाउँमा मन्दिर बन्ने भयो भन्ने खबर कतार, दुबई, कोरिया, अमेरिका पुग्छ । त्यहाँ १२ घण्टा घाममा काम गर्ने भाइले, होटलमा भाँडा माझने बहिनीले पैसा पठाउँछन । उनीहरूलाई लाग्छ म परदेशमा छु, कम्तिमा मेरो गाउँको मन्दिरमा मेरो एउटा इँटा त लागोस । तर त्यो पवित्र पसिनाको पैसाको कुनै लेखाजोखा हुँदैन । न अडिट हुन्छ, न सार्वजनिक सुनुवाइ । लाखौं उठेको सुनिन्छ, तर मन्दिरको जग ५ वर्षदेखि त्यहीँ हुन्छ । कहिलेकाहीँ त समिति नै फेरिन्छ, पुरानो समितिले नयाँलाई हिसाब दिँदैन । अनि त्यो पैसा कहाँ गयो ? कसको खल्तीमा, कसको जग्गामा, कसको चुनावी भोजमा खर्च भयो, कसैलाई थाहा हुँदैन । धर्मको नाममा उठेको पैसा जब अधर्मको बाटो लाग्छ, त्यसले एउटा मन्दिर मात्र अलपत्र पार्दैन, हजारौं परदेशीको विश्वासलाई पनि अलपत्र पार्छ ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश हो भन्ने कुरालाई हामीले नारा जस्तो मात्र बनाएका छौं, व्यवहारमा बुझेका छैनौं । यस्तो विविधतायुक्त समाजमा सन्तुलन नै सबैभन्दा ठूलो शक्ति हो । तर पछिल्लो समय एउटै समुदायका मन्दिरहरू जताततै अत्यधिक संख्यामा निर्माण हुनु र अन्य समुदायका धार्मिक स्थल, आस्था र पहिचानसँग जोडिएका थलोहरू उपेक्षामा पर्नुले त्यो सन्तुलन नै भत्किने खतरा बढेको छ । हामीले के पनि बुझनुपर्छ भने धार्मिक स्थल केवल पूजा गर्ने ठाउँ मात्र होइनन, ती समुदायको पहिचान, इतिहास र अस्तित्वका आधार पनि हुन । त्यसैले कुनै पनि ठाउँमा नयाँ मन्दिर बनाउँदा एउटा सूक्ष्म प्रश्न सोध्नैपर्छ, यसले त्यो क्षेत्रको जातीय बनोट, धार्मिक जनसंख्या र सांस्कृतिक रूपरेखामा कस्तो असर गर्छ ? यो प्रश्न नगरी बनाइएको आजको मन्दिर भोलि समुदायबीचको मतभेद र द्वन्द्वको कारण बन्न सक्छ । यदि अहिले जस्तै बिना कुनै नीति, मापदण्ड र दीर्घकालीन योजनाको मन्दिर निर्माणको होड निरन्तर चलिरह्यो भने यसले भविष्यमा गम्भीर सामाजिक असर निम्त्याउने निश्चित छ ।
नेपालमा कति मन्दिर छन ? कुन देवताका कति छन भन्ने यकिन तथ्याङ्क संघीय सरकारसँग पनि छैन, पुरातत्व विभागसँग पनि छैन । दर्ताको परम्परा नै छैन । ऐतिहासिक मठ मन्दिर जस्तै पशुपतिनाथ, जानकी मन्दिर, छिन्नमस्ता जस्ता केही सय मन्दिर मात्र पुरातत्व विभागमा सूचिकृत छन । तर गाउँ गाउँमा बनेका मन्दिर गुठी संस्थानमा पनि दर्ता हुँदैनन । स्थानीय पालिकामा पनि नक्सा पास गरेर मन्दिर बन्दैन । कसैले आफ्नो खेतमा, चौतारीमा, कुलोको मुहानमा ढुंगा राखेर शिवलिङ्ग स्थापना गरिदियो भने पनि त्यो मन्दिर भइहाल्छ । संविधानले धर्म संस्कृति संरक्षणको जिम्मा स्थानीय तहलाई दिएको छ, तर कुन मन्दिरलाई के गर्ने भन्ने स्पष्ट मापदण्ड संघले बनाएको छैन । त्यसैले पालिकाहरूले पनि अनिवार्य मन्दिर प्रोफाइल राखेका छैनन । कतिपयले राखे पनि त्यो पर्यटकीय स्थलको लिस्ट मात्र छ, अन्य मन्दिरको छैन ।
हिन्दू परम्परामा मन्दिर बनाउनु ठूलो पुण्य मानिन्छ । अर्काको गाउँको शिवले मेरो भाकल सुन्दैन, आफ्नै टोलमा हुनुपर्छ भन्ने सोच छ । पहिले एउटा गाउँमा एउटा भगवती मन्दिर हुन्थ्यो, सबैको साझा । अहिले बसाइँसराइ र जनसंख्या बढदा टोल टोल छुट्टिए । मगर टोलको छुट्टै, ब्राह्मण टोलको छुट्टै, ठकुरीको कुलदेवताको छुट्टै मन्दिर धर्मभन्दा बढी पहिचानको प्रतीक बन्यो । अहिले पालिका र प्रदेश सांसदको सानो बजेटबाट मन्दिर निर्माण र जीर्णोद्धार भनेर बजेट बाँडन सजिलो छ । एउटा मन्दिर बनाएपछि शिलान्यास गर्ने, फोटो खिच्ने, भोटको आधार बनाउन सकिन्छ । त्यसैले आवश्यकता अध्ययन बिना नै मन्दिर थपिँदै गएका छन । आस्था कहिल्यै धेरै हुँदैन, तर मन्दिर धेरै हुनु आस्था धेरै हुनु होइन ।
अब प्रत्येक स्थानीय तहले आफ्नो पालिकाभित्र ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका मन्दिर, गुम्बा, मस्जिद, चर्च र अन्य धार्मिक स्थलहरू कति छन भन्ने यकिन तथ्यांक निकाल्नुपर्छ ।
आफ्नो क्षेत्रमा कुन कुन समुदाय, सम्प्रदाय र धर्मावलम्बीहरूको बसोबास छ, उनीहरूको जनसंख्या अनुपात कति छ, यसको सूक्ष्म सर्वेक्षण गर्नुपर्छ । अहिले भएका धार्मिक स्थलहरूले जनसंख्याको आवश्यकता धानेका छन कि छैनन, नयाँ धार्मिक संरचना साँच्चै आवश्यक हो कि होइन भन्ने वस्तुनिष्ठ अध्ययन गर्नुपर्छ । यो सर्वेक्षणपछि मात्र पालिकाहरूले धार्मिक संरचना निर्माणसम्बन्धी स्पष्ट नीति र निर्देशिका बनाउनुपर्छ । अन्यथा टोल विकास संस्था वा कुनै निकायको नाममा जथाभावी मन्दिर निर्माण गर्न थालिएमा त्यसलाई समयमै नियमन र आवश्यक परे रोक्न पनि पर्दछ । धर्म आस्थाको विषय हो, प्रतिस्पर्धाको होइन । विकासको नाममा आस्थालाई व्यापार र पहिचानलाई निषेध गर्ने काम बन्द हुनुपर्छ ।
अब कुनै पनि नयाँ मन्दिर बनाउनु अघि पालिकाले सोध्नुपर्छ नजिक उही देवताको मन्दिर छ कि छैन ? मन्दिर सञ्चालनको स्रोत के हो ? सार्वजनिक जग्गामा हो कि होइन ? अर्को तर्फ मन्दिरलाई मन्दिर मात्र होइन, सामुदायिक केन्द्र बनाउनुपर्छ । शिव मन्दिर मात्र किन ? त्यही परिसरमा पुस्तकालय, सत्संग हल, ज्येष्ठ नागरिक चौतारी बनाउँदा एउटै लगानीले धेरै काम दिन्छ । हामीलाई देवता धेरै चाहिन्छ भन्दा पनि भएका देवस्थललाई जीवन्त, सफा र अर्थपूर्ण बनाउनु बढी आवश्यक छ । नत्र हरेक टोलमा मन्दिर हुनेछ तर पुजारी, दियो र भक्तजन कोही हुने छैनन ।
त्यसैले अब मन्दिर निर्माणसम्बन्धी राष्ट्रिय नीति बनाइनुपर्छ । जसले भूगोल, धर्म संस्कार र आवश्यकताका आधारमा निर्माण अनुमति दिने मापदण्ड तय गरोस । स्थानीय तहको समन्वय र अनुमतिबिना मन्दिर निर्माणमा रोक लगाइनुपर्छ, ताकि जथाभावी संरचना निर्माण रोकिन सकोस । दान, चन्दा र सरकारी सहायता पारदर्शी हुनुपर्छ ।
वास्तुशास्त्री, धर्मशास्त्री र योजनाविदहरूको सल्लाहमा मन्दिरको स्थान, प्रकार र उपयोगबारे पूर्व अध्ययन गरिनुपर्छ, ताकि सामाजिक सन्तुलन कायम रहोस । पुराना मठमन्दिरको संरक्षणमा प्राथमिकता दिनुपर्छ । नयाँभन्दा पहिले ऐतिहासिक, सांस्कृतिक तथा लोपोन्मुख स्थलको संरक्षणमा ध्यान केन्द्रित गरिनुपर्छ ।
