नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार धु्रव दाहालले संघको विकृति, विसंगति, गुटबन्दी र गलत संस्कारका विरुद्ध स्वतन्त्र व्यवसायी समूहले उम्मेदवारी दिएको बताए ।
मंगलबार सचिवालय सञ्चालनमा ल्याएको स्वतन्त्र व्यवसायी समूहले पत्रकार सम्मेलन गर्दै ३ हजार ८ सय बढी सदस्य रहेको संघमा २०÷३० जनाले सहमतिका नाममा साझा उम्मेदवार भन्दै अघि सार्नु स्वीकार्य नहुने बताएका थिए । ‘संघमा रहेको बेथिति लुकाउन खोजिएको छ’, महासचिव पदका उम्मेदवार दिपेन्द्र कुमार जोशीले भने, ‘हामी निर्वाचित भएर गएपछि फाइल खोल्नेछौं, बिल भौचर र यसअघि गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्छौ ।’
पत्रकार सम्मेलनका वक्ताहरूले २०८१ सालको प्रादेशिक मेलाका लागि संघबाट सापटी लिइएको भनिएको २९ लाख रूपैयाँको अडिट नगरिनुले भ्रष्टाचार भएको अनुमान गर्न सकिने बताएका थिए । टेक बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुनिल सिंह हमालले गरेका थिए ।
