लामो समयदेखि रोकिएको नेपालगन्ज–पोखरा सिधा हवाई उडान पुनः सञ्चालन हुने भएको छ । बुद्ध एयरले आगामी भदौ ३१ गतेदेखि यो रुटमा नियमित उडान सुरु गर्ने भएको हो ।
बुद्ध एयर नेपालगन्जका प्रमुख बिनित शाहका अनुसार, नेपालगन्ज–पोखरा रुटमा आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन उडान हुनेछन् । उडानका लागि टिकट बुकिङ खुला भइसकेको उनले बताए । ‘हामी उडानलाई नियमित गर्ने तयारीमा छौं,’ शाहले दैनिक नेपालगन्जसँग भने, ‘यात्रुको चाप र मागका आधारमा हरेक दिन उडान सुनिश्चित हुनसक्छ ।’
पोखरा जाने यात्रुले लामो समयदेखि सिधा हवाई सेवाको प्रतीक्षा गरिरहेका बेला उडान पुनः सुरु हुन लागेको हो । स्थलमार्गबाट पोखरा पुग्ने यात्रा जोखिमपूर्ण बन्दै गएको र वर्षायाममा पहिरोका कारण सडक पटक–पटक अवरुद्ध हुने गरेकाले हवाई सेवा सञ्चालनले यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ । दसैं नजिकिँदै गर्दा उडान सञ्चालनमा आउनुले पोखरा जाने यात्रुलाई थप राहत पुग्ने पर्यटन व्यवसायीको भनाइ छ ।
७०
बुद्ध एयरले नयाँ भाडादरअनुसार, नेपालगन्जबाट पोखराका लागि न्यूनतम ‘ई’ क्लासको भाडा ८ हजार १३ रुपैयाँ ३७ पैसा कायम गरेको छ । अधिकतम ‘वाई’ क्लासको भाडा १२ हजार १ सय ८१ रुपैयाँ ५३ पैसा पुगेको छ । पोखराबाट नेपालगन्ज आउने यात्रुका लागि न्यूनतम भाडा ७ हजार ९ सय १३ रुपैयाँ ३७ पैसा र अधिकतम भाडा १२ हजार ८१ रुपैयाँ ५३ पैसा तोकिएको छ । ‘यो सुविधामा फरक भन्दापनि भाडाको सहुलियत क्याटेगरी हो,’ स्टेशन प्रमुख शाहले दैनिक नेपालगन्जसँग भने ।
यसअघि यही रुटमा बुद्ध एयरले न्यूनतम हवाई भाडा ५ हजार २ सय रुपैयाँको हाराहारीमा कायम गरेको थियो । हवाई इन्धनको मूल्य बढेपछि भाडादर पनि बढाइएको थियो । त्यसक्रममा न्यूनतम भाडा ८ हजार २ सय रुपैयाँसम्म पुगेको थियो । भाडा बढेसँगै यात्रुको संख्या अपेक्षाअनुसार नबढेपछि बुद्ध एयरले नेपालगन्ज–पोखरा उडान बन्द गरेको थियो ।
बुद्ध एयरले गत जेठ ५ गतेदेखि नेपालगन्ज–पोखरा सिधा उडान स्थगन गरेको थियो । भारतबाट आउने धार्मिक पर्यटकको संख्या न्यून भएको र उडान सञ्चालनमा इन्धन खर्च बढी हुने कारण देखाउँदै कम्पनीले सेवा रोकेको थियो । सुरुमा एक महिनाका लागि उडान स्थगित गर्ने जानकारी दिइएको भए पनि सेवा झण्डै साढे तीन महिनापछि मात्र पुनः सञ्चालनमा आउन लागेको हो ।
नेपालगन्ज–पोखरा हवाई सेवा विसं २०७८ साउन १७ गतेदेखि सुरु भएको थियो । पर्यटन प्रवद्र्धनसँगै भारतबाट आउने धार्मिक पर्यटकलाई सहज यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले सातामा तीन दिन उडान सञ्चालन गरिएको थियो । सुरुवाती चरणमा बुद्ध एयरले यो रुटमा दैनिक एउटा उडानसमेत गर्दै आएको थियो । यात्रुको चाप घट्दै गएपछि दैनिक उडानबाट सातामा तीन उडानमा सीमित गरिएको थियो ।
नेपालगन्ज–पोखरा रुटमा हवाई सेवा पुनः नियमित हुन लागेको विषयले पर्यटन व्यवसायी पनि उत्साहित छन् । पर्यटन व्यवसायी तथा नाट्टा बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलले बुद्ध एयरले नेपालगन्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको बताए । ‘नेपालगन्ज–पोखरा रुटमा नियमित उडान हुँदा हवाई यात्रुलाई सहजता हुनेछ,’ उनले दैनिक नेपालगन्जसँग भने, ‘यसले पश्चिमकै पर्यटन क्षेत्रलाई चलायमान गराउने आशा जगाउने छ ।’
नेपालगन्ज र पोखराबीच हवाई सम्पर्क स्थापित गर्न सिग्देलको पहल पनि महत्वपूर्ण रहेको थियो । उनकै पहलमा नेपालगन्ज–पोखरा रुटमा पहिलोपटक चार्टर उडान गरिएको थियो । त्यसपछि नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको समन्वयमा बुद्ध एयरले नियमित उडान सुरु गरेको थियो ।
लामो समयदेखि सडकमार्गमा निर्भर यात्रुले अब सिधा हवाई सेवाबाट नेपालगन्ज र पोखराबीच आवतजावत गर्न पाउने भएका छन् । विशेषगरी वर्षायाममा सडक अवरोध र चाडपर्वको समयमा बढ्ने यात्रुको चापलाई हेर्दा सातामा तीन दिन हुने उडानले यात्रुलाई वैकल्पिक यात्रा सुविधा दिने अपेक्षा गरिएको छ ।
