लापसे गरी सवारी चलाउने आठ नियन्त्रणमा

बाँके प्रहरीले लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई नियन्त्रणमा लिन थालेको छ । यसअघि जरिवाना लिने, सवारीसाधन तथा चालक अनुमति पत्र नियन्त्रणमा लिने गरेको प्रहरीले लागुपदार्थ सेवन गरेको भेटिएका व्यक्तिलाई बुधबार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले प्रहरीले एकैपटक ८ जना सवारी चालकलाई लागू पदार्थ सेवन गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, बैजनाथ गाउँपालिका–१ स्थित इलाका प्रहरी कार्यालय चिसापानी, बाँकेको चेकपोस्ट अगाडि संयुक्त रूपमा गरिएको लागु पदार्थ सेवन परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकपोस्ट क्षेत्रमा सवारी साधन तथा चालकहरूको परीक्षण गरेको थियो । सो क्रममा २५ वटा सवारी साधनका चालकलाई लागू पदार्थ सेवनसम्बन्धी परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

परीक्षण गरिएका चालकहरूमध्ये ८ जना चालकले लागू पदार्थ सेवन गरेको परीक्षणबाट पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चालक तथा घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सवारी चलाउँदा लागू पदार्थ सेवन गर्दा चालकको निर्णय क्षमता, प्रतिक्रिया समय तथा सवारी नियन्त्रणमा प्रतिकूल असर पर्न सक्ने भएकाले दुर्घटनाको जोखिम बढ्ने गर्दछ । प्रहरीले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले नियमित रूपमा सवारी चालकको मादक पदार्थ तथा लागू पदार्थ सेवन परीक्षण गर्दै आएको जनाएको छ ।

Exit mobile version