पशु सेवा केन्द्रले सार्वजनिक गर्यो बजेट र कार्यक्रम

पशु सेवा तालिम केन्द्र नेपालगन्ज, बाँकेले आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेट तथा कार्यक्रम बिहीबार पत्रकार माझ सार्वजनिक गरेको छ । केन्द्र प्रमुख तथा मत्स्य विकास निर्देशक श्रवणकुमार चौधरीले आर्थिक वर्ष २०८३÷०८४ का लागि तय गरिएका कार्यक्रम, बजेट तथा कार्ययोजनाबारे प्रस्तुतिकरण गर्दै वार्षिक बजेट २ करोड ५२ लाख रुपैयाँ रहेको जानकारी दिए ।

केन्द्र प्रमुख चौधरीले चालु आर्थिक वर्षमा तालिम, पुनर्ताजगी तालिम लगायत क्षमता विकासका गतिविधिका लागि ९६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिंदै पुँजीगततर्फ १४ लाख रुपैयाँ बजेट विनियोजन भएको बताए । गत आर्थिक वर्षमा ८२.२५ प्रतिशत वित्तीय तथा कार्यक्रमगत प्रगति हासिल गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

आगामी आ.व.का लागि पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रको क्षमता विकास, तालिम, पुनर्ताजगी तालिम लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी दिइएको थियो । गत बर्ष बजेट कटौती हुँदा पूर्ण बजेट कार्यान्वयन हुन नसकेको जानकारी दिंदै कार्यक्रममा चालु आ.व.को बजेट पूर्ण कार्यान्वयन गर्ने कार्यालय प्रमुख चौधरीले बताएका थिए ।

पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख हरेराम यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी कार्यालय प्रमुख डा. सपना लक्ष्मी घिमिरे, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, दैनिक नेपालगन्जका सहसम्पादक देबेन्द्रराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

वरिष्ठ मत्स्य विकास अधिकृत रामकेश यादवले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेको कार्यक्रमको सञ्चालन वरिष्ठ प्राविधिक अधिकृत कर्मध्वज छ्त्यालले गरेका थिए ।

Exit mobile version