फर्किंदै सुकुम्बासी, कोहलपुरमा सुरक्षा व्यवस्था कडा

बाँकेको कोहलपुर क्रिकेट मैदान आसपासबाट करिब ४ महिना अघि हटाइएका भूमिहीन सुकुम्बासी परिवार फेरि पुरानै ठाउँमा फर्किन थालेपछि शनिबार बिहानैदेखि कोहलपुरमा तनावको अवस्था सिर्जना भएको छ । पुरानो बस्ती रहेको स्थानमा पाल टाँगेर बस्ने तयारीसहित सुकुम्बासी परिवार त्यहाँ पुगेपछि स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी र कोहलपुर नगर प्रहरी परिचालन गरेको हो ।

क्रिकेट मैदानअगाडिको नगर विकासको जग्गामा पुनः बस्न पुगेका सुकुम्बासीलाई प्रहरीले दिनभर रोक्ने प्रयास गरेको थियो । उनीहरुलाई पुरानै स्थानमा पाल टाँग्न नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो । प्रहरी र सुकुम्बासीबीच केहीबेर धकेलाधकेलसमेत भएको बताइएको छ । त्यसक्रममा अवस्था केही समय तनावपूर्ण बनेको थियो ।

होेल्डिङ सेन्टर र आसपासका क्षेत्रमा डेरा लिएर बस्दै आएका सुकुम्बासी परिवार शनिबार बिहानैदेखि पुरानो बस्ती भएको स्थानमा भेला भएका थिए । उनीहरुले त्यहीँ पाल टाँगेर बस्ने तयारी गरेका थिए । प्रशासनले भने सार्वजनिक जग्गामा पुनः अतिक्रमण हुन नदिने अडान लिएको छ । उनीहरुले टांगेको पाल र अस्थायी टहरा प्रहरीले भत्काइदिएको छ ।

सुकुम्बासी संघर्ष समितिका संयोजक वीरबहादुर परियारले आफूहरुलाई हटाउने क्रममा गरिएको प्रतिबद्धता पूरा नभएपछि पुरानै ठाउँमा फर्किनुपर्ने अवस्था आएको बताए । उनका अनुसार, गत वैशाख २६ गते बस्ती हटाउने क्रममा प्रमुख जिल्ला अधिकारीले एक महिनाभित्र वैकल्पिक बसोबासको व्यवस्था गर्ने आश्वासन दिएका थिए । तर, करिब ४ महिना पुग्न लाग्दासमेत त्यसको कार्यान्वयन नभएपछि सुकुम्बासी परिवार पुनः पुरानो थलोमा फर्किन बाध्य भएको उनको भनाइ छ ।

’हामीलाई अहिले पुरानै ठाउँमा पाल हालेर बस्न दिनुपर्छ । वैकल्पिक व्यवस्था भएपछि जहाँ पठाउँछन्, त्यहीँ जान्छौं,’ परियारले भने । वैकल्पिक बसोबासको माग गर्दै सुकुम्बासी परिवारले केही दिनयता आन्दोलनसमेत गर्दै आएका छन् । उनीहरुले कोहलपुर नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । त्यसपछि नेपालगन्ज पुगेर जिल्ला प्रशासन कार्यालय अगाडिसमेत धर्ना दिएका थिए । उनीहरुको माग जहाँ भए पनि तत्काल वैकल्पिक बसोबासको व्यवस्था गरिनुपर्ने रहेको छ ।

गत वैशाख २६ गते कोहलपुर क्रिकेट मैदानअगाडिको नगर विकासको जग्गामा बसेका सुकुम्बासीलाई प्रशासनले हटाएको थियो । त्यसक्रममा बस्तीका घरमा डोजर चलाइएको थियो । अधिकारीहरुले एक महिनाभित्र वैकल्पिक बसोबासको व्यवस्था मिलाउने आश्वासन दिएपछि उनीहरु तत्कालका लागि बल प्रयोग नगरी त्यहाँबाट हटेका थिए । तर, प्रतिबद्धताअनुसार बसोबासको व्यवस्था हुन नसकेपछि समस्या फेरि बल्झिएको हो ।

कोहलपुर नगरपालिकाले हटाइएका १ सय २१ घरपरिवारलाई होल्डिङ सेन्टरमा राखेको छ । बाँकी सुकुम्बासी परिवार भने आसपासका क्षेत्रमा डेरा लिएर तथा आफन्तको घरमा बस्दै आएका छन् । लामो समयसम्म अस्थायी बसोबासमै रहनुपरेपछि उनीहरुले पुनः पुरानै ठाउँमा फर्कने निर्णय गरेका हुन् ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिट्ब्यूरो सदस्य दीपकबहादुर शाहीले सुकुम्बासीलाई वैकल्पिक व्यवस्था र उचित पुनस्थापनाको सुनिश्चितता नगरी हटाइएकाले अहिलेको अवस्था आएको बताए ।

’वैकल्पिक व्यवस्था र उचित पुनस्थापनाको सुनिश्चितता नगरी उठाइएका कारण सुकुम्बासीहरू बाध्य भएर पुरानै थलोमा फर्किनुपरेको हो,’ शाहीले दैनिक नेपालगन्जसँग भने, ’उचित गाँस, बासको व्यवस्था नगरी बलप्रयोग गरेर समस्या समाधान हुँदैन ।’

सुकुम्बासी परिवार भने आफूहरुको मुख्य माग बसोबासको सुनिश्चितता रहेको बताउँदै आएका छन् । उनीहरुले तत्कालका लागि पुरानै ठाउँमा बस्न दिनुपर्ने र सरकारले वैकल्पिक व्यवस्था गरेपछि आफूहरु अन्यत्र जान तयार रहेको जनाएका छन् ।

क्रिकेट मैदान नजिकको नगर विकासको जग्गामा विसं २०६३ सालदेखि बस्ती बस्दै आएको थियो । लामो समयदेखि उक्त जग्गामा सुकुम्बासीका नाममा बसोबास हुँदै आएको थियो । त्यहाँ कतिपय दलालले जग्गा किनबेचसमेत गरेको बताइएको छ । केही व्यक्तिलाई नक्कली लालपूर्जा वितरण गरिएको आरोपसमेत रहेको छ ।

यसअघि भूमिसम्बन्धी समस्या समाधान आयोग र स्थानीय प्रशासनको पहलमा उक्त बस्ती खाली गराइएको थियो । बस्ती हटाइएपछि तत्काल वैकल्पिक व्यवस्थाको आश्वासन दिइए पनि त्यो कार्यान्वयन हुन नसक्दा सुकुम्बासी परिवार फेरि पुरानै स्थानमा फर्किएका हुन् ।

Exit mobile version