सीमा आवागमनमा थप सहजताको प्रतिबद्धता

भारत–नेपाल सीमा हुँदै आवतजावत गर्ने नेपाली नागरिकलाई थप सहज सुविधा उपलब्ध गराउने सशस्त्र सीमा बल एसएसबीले जनाएको छ । रुपईडीहा बीओपीमा शनिवार आयोजित पत्रकार सम्मेलनमा एसएसबी ४२औँ वाहिनीका कमान्डेन्ट गिरीश चन्द पाण्डेयले सीमा आवागमनलाई सहज बनाउनेदेखि सुरक्षा व्यवस्था र एसएसबी जवानको व्यवहारसम्मका विषयमा उठेका प्रश्नको जवाफ दिएका छन् ।

सीमामा नेपाली नागरिकलाई आवागमनका क्रममा प्राथमिकताका साथ सहजता प्रदान गर्न निर्देशन दिइएको उनले बताए । सीमा क्षेत्रमा दुवैतर्फ तीन–तीनवटा काउन्टर सञ्चालनमा रहेको जानकारी दिँदै उनले भने, ‘नेपाली नागरिक हाम्रा पाहुना हुन्। भारतीय नागरिकको अपेक्षा नेपाली नागरिकलाई आवागमनमा राम्रो सुविधा दिने निर्देशन दिइएको छ ।’

पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा आवागमनका क्रममा देखिने समस्या, सुरक्षा व्यवस्था र एसएसबीका जवानको व्यवहारबारे पत्रकारले प्रश्न गरेका थिए । बहराइच र रुपईडीहाका प्रिन्ट तथा इलेक्ट्रोनिक मिडियामा आबद्ध एक दर्जनभन्दा बढी पत्रकार सहभागी सम्मेलनमा सीमासँग जोडिएका विभिन्न विषय उठेका थिए ।

सीमा क्षेत्रमा खटिएका एसएसबी जवानको व्यवहारलाई लिएर आउने गरेका गुनासाबारे पनि पत्रकारले कमान्डेन्ट पाण्डेयसँग जवाफ मागेका थिए । उनले कुनै जवानको व्यवहारबारे प्रत्यक्ष रूपमा आफूलाई गुनासो गर्न सकिने बताए। गुनासो प्राप्त भएपछि त्यसको तत्काल समाधानका लागि पहल गरिने उनको भनाइ छ ।

जमुनहाका एक युवकलाई एसएसबीका जवानले कथित रूपमा निर्ममतापूर्वक कुटपिट गरेको विषयमा समेत पत्रकारले प्रश्न गरेका थिए । त्यस घटनाको छानबिन गराएर छिट्टै आवश्यक कारबाही अघि बढाउने कमान्डेन्ट पाण्डेयले बताए ।

नेपालसँग जोडिएको भारतीय सीमामा करिब १६ वर्षअघि एसएसबी परिचालन गरिएको जानकारी दिँदै उनले समयसँगै सीमा सुरक्षाको व्यवस्थामा सुधार हुँदै आएको बताए । एसएसबीले सेवा, सुरक्षा र बन्धुत्वको सिद्धान्तलाई आधार बनाएर काम गरिरहेको उनको भनाइ छ ।

सीमा आवागमनलाई अझ व्यवस्थित बनाउन रुपईडीहामा नयाँ प्रणाली जडान गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । उक्त प्रणाली सञ्चालनमा आएपछि सवारी साधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ । नेपाल जाने सवारी साधनलाई सहज रूपमा अगाडि बढाउन र नेपालबाट फर्किने सवारीलाई पनि व्यवस्थित ढंगले आवतजावत गराउन प्रणालीले सहयोग गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा सीमावर्ती क्षेत्रको विकासका लागि छुट्याइने बजेटको उपयोगबारे पनि विषय उठाइएको थियो। पत्रकारले सीमा विकासका लागि आउने रकम सीमासँग जोडिएका क्षेत्रमा नै प्राथमिकताका साथ खर्च गर्नुपर्ने माग राखेका थिए।

सीमावर्ती क्षेत्रमा सडक, यातायात, आधारभूत सुविधा तथा अन्य विकासका कामको आवश्यकता रहेको भन्दै पत्रकारले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए। सीमा विकासका लागि प्राप्त हुने रकम सीमावर्ती बस्ती र क्षेत्रको हितमा खर्च गर्ने विषयलाई उच्च तहसम्म पु¥याउन कमान्डेन्ट पाण्डेयसँग आग्रह गरिएको थियो ।

पत्रकारको मागलाई कमान्डेन्ट पाण्डेयले सकारात्मक रूपमा लिँदै सम्बन्धित उच्च अधिकारीसमक्ष पु¥याउने आश्वासन दिए। सीमावर्ती क्षेत्रको विकास र त्यहाँका नागरिकले भोग्दै आएका समस्याका विषयमा प्राप्त सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको उनले बताए ।

पत्रकार सम्मेलनमा सीमा सुरक्षा र आवागमनसँगै स्थानीय नागरिकसँग एसएसबीको सम्बन्धका विषयमा पनि छलफल भएको थियो । सीमा क्षेत्रमा सुरक्षा कायम गर्ने जिम्मेवारीसँगै दुवै देशका नागरिकबीचको सम्बन्ध र सहज आवागमनलाई पनि महत्व दिइने कमान्डेन्ट पाण्डेयले बताए ।

रुपईडीहा बीओपीमा भएको पत्रकार सम्मेलनमा बहराइच र रुपईडीहा क्षेत्रका सञ्चारकर्मीले सीमा क्षेत्रमा देखिएका व्यावहारिक समस्या र स्थानीय सरोकारका विषय उठाएका थिए । कमान्डेन्ट पाण्डेयले पत्रकारका प्रश्नको जवाफ दिँदै सीमा व्यवस्थापन, नागरिकको आवागमन, जवानको व्यवहार र सीमावर्ती विकाससँग सम्बन्धित विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

Exit mobile version