नेपालगञ्ज — नेपालगञ्जस्थित जय बागेश्वरी माध्यमिक विद्यालयमा आज अन्तरविद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा लुकेको प्रतिभा प्रस्फुटन गराउने, आत्मविश्वास बढाउने तथा नेपाली कला, संस्कृति र मौलिकताको संरक्षण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

प्रतियोगिता कक्षा १ देखि ५ र कक्षा ६ देखि १२ गरी दुई समूहमा विभाजन गरिएको थियो। दुवै समूहमा गरी ४० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
विद्यालयका अङ्ग्रेजी शिक्षक आशिष ठाकुरका अनुसार विद्यार्थीलाई विभिन्न कार्यक्रममा सहभागी गराउन चुनौती हुने अवस्थामा समेत यसपटक ४० भन्दा बढी विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाउनु विद्यालयका लागि खुसीको विषय हो। उनका अनुसार विद्यालयले विद्यार्थीलाई पढाइमा मात्र केन्द्रित नगरी उनीहरूको रुचि र क्षमताअनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको छ।
प्रतियोगिताका निर्णायक कुसुम राई र छविलाल आले रहेका थिए। निर्णायक कुसुम राईले नेपालगञ्जका विभिन्न विद्यालयमा नृत्य प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरे पनि जय बागेश्वरीमा विद्यार्थीहरूको प्रस्तुति मूल्याङ्कन गर्न पाउँदा विशेष आनन्द लागेको बताइन्। उनले विद्यार्थीहरूमा देखिएको प्रतिभा, आत्मविश्वास र उत्साहले आफूलाई निकै खुसी बनाएको उल्लेख गरिन्।
राईका अनुसार सबै विद्यार्थीको प्रस्तुति उत्कृष्ट रहेकाले पहिलो, दोस्रो र तेस्रो छनोट गर्न निकै कठिन भएको थियो। तर प्रतियोगिताको नियमअनुसार प्राप्त अंकका आधारमा उत्कृष्ट तीन जनाको छनोट गरिएको उनले बताइन्।
त्यस्तै, निर्णायक छविलाल आलेले आफूले नृत्य सिकाएका विद्यार्थीहरूले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएको देख्दा निकै खुसी लागेको बताए। उनले जय बागेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई पढाइसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै उनीहरूको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेकोमा प्रशंसा गरे।
विद्यालयले विद्यार्थीको रुचि र क्षमता फरक–फरक हुने भएकाले कोही बोल्नमा, कोही नृत्य तथा अन्य सिर्जनात्मक गतिविधिमा अब्बल हुने भन्दै सबैलाई आफ्नो क्षमता देखाउने अवसर दिँदै आएको जनाएको छ। विद्यार्थीहरूले पनि विद्यालयमा अध्ययनका क्रममा पढाइसँगै विभिन्न गतिविधिमा सहभागी भएर आफ्नो प्रतिभा विकास गर्ने अवसर पाएको बताएका छन्।
प्रतियोगिताको कक्षा १ देखि ५ समूहमा अभिक्षा थारु प्रथम, रुस्लाम पुन मगर द्वितीय र प्रियंशा बुढाथोकी तृतीय भएका छन्। त्यसैगरी कक्षा ६ देखि १२ समूहमा आंशिका जीसी प्रथम, अनन्या शर्मा द्वितीय र समीक्षा चन्द तृतीय भएका छन्।
विद्यार्थी, शिक्षक, विद्यालय परिवार तथा अतिथिहरूको उत्साहजनक सहभागिताबीच सम्पन्न प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमताको विकाससँगै कला तथा संस्कृतिप्रति रुचि बढाउन महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ।