नेपालगन्जलाई पर्यटन प्रवेशद्वार बनाएर धार्मिक सर्किट विस्तार गर्न जोड

बाँके र आसपासका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोडेर प्रवद्र्धन गर्नुपर्नेमा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० बाँके च्याप्टरको चौथो वार्षिक साधारणसभामा जोड दिइएको छ ।

नेपालगन्जको बागेश्वरी मन्दिरसँगै बाबा बर्फानी धाम, सन्तानेश्वर मन्दिर, गोवद्र्धन धाम र भुवर भवानीलगायतका धार्मिकस्थललाई व्यवस्थित रूपमा जोड्न सके यस क्षेत्रको पर्यटन गतिविधि विस्तार गर्न सकिने सरोकारवालाले बताएका छन् ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले मानसरोवर र रारा ताल जाने यात्रुको प्रमुख मार्ग नेपालगन्ज भएकाले त्यसलाई पर्यटनको अवसरमा बदल्नुपर्ने बताए । नेपालगन्ज हुँदै आउने भारतीय पर्यटकलाई लक्षित गरेर पर्यटन बजार विस्तार गर्न सकिने उनको भनाइ थियो ।

‘नेपालगन्ज मानसरोवर तथा रारा तालको यात्रा गर्ने मूल मार्ग हो, यसबाट भारतीय पर्यटकलाई नेपाल भित्र्याएर लाभ लिन सकिन्छ,’ खत्रीले भने । उनले लुम्बिनी प्रदेशमा धार्मिक पर्यटकलाई आकर्षित गर्न सक्ने थुप्रै गन्तव्य र प्राचीनस्थल रहेको बताए । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसमेत लुम्बिनी प्रदेशमै रहेकाले पर्यटन क्षेत्र प्रदेशको अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको उनको धारणा थियो ।

’हामीले हाम्रा नीति, कार्यक्रम र बजेटको मापन गर्ने एउटा आधार पर्यटन क्षेत्र हो भनेर प्राथमिकतामा राखेका छौँ,’ मन्त्री खत्रीले भने ।

पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनले बताए । नयाँ पर्यटकीय गन्तव्यको खोजी र विकासमा पनि निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने उनले स्पष्ट पारे ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले पर्यटन विकासका लागि आकर्षक गन्तव्य मात्र पर्याप्त नहुने बताए । पर्यटक पुग्ने सहज पहुँच, गुणस्तरीय सुविधा र भरपर्दो सहायक सेवा पनि आवश्यक रहेको उनको भनाइ थियो । पर्यटनलाई स्थानीय समुदायको आयआर्जन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने उनले बताए ।

रेग्मीले नेपाल–भारत सीमा क्षेत्रमा पर्यटकका लागि थप सहज वातावरण बनाउनुपर्नेमा जोड दिए । रुपैडिहा सीमासम्म पर्यटकका लागि ग्रीन लाइन र स्मार्ट बोर्डर प्रणालीको व्यवस्था गर्नुपर्ने उनले बताए । नेपालगन्ज–पोखरा सिधा हवाई उडानलाई प्रभावकारी र निरन्तर बनाउन च्याप्टरले आवश्यक पहल गर्ने पनि उनले जानकारी दिए ।

नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले पर्यटनका कारण जिल्लाको परिचय सकारात्मक रूपमा स्थापित हुँदै गएको बताए । पर्यटनको विकास कुनै एक पक्षको प्रयासबाट मात्र सम्भव नहुने भन्दै उनले साझा प्रयत्नबाट पर्यटन प्रवद्र्धनसँगै आर्थिक गतिविधि चलायमान बनाउन सकिने धारणा राखे । ‘पर्यटनको प्रवद्र्धनका लागि सबै पक्षको साझा प्रयास आवश्यक छ । यसबाट जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सकिन्छ,’ पर्यटन अभियन्ता सिग्देलले भने ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीले पनि पर्यटन क्षेत्रको विकास यस क्षेत्रका लागि अपरिहार्य रहेको बताए । पर्यटन डिभिजन कार्यालय कोहलपुरका प्रमुख सुमन पौडेलले सरोकारवालासँगको सहभागितामा पर्यटनका लागि सरकारले योजना बनाउने बताए ।

पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज टुरिज्म काउन्सिलका अध्यक्ष केशवराज न्यौपाने, होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कंडेल, नाट्टा बाँके च्याप्टरका उपाध्यक्ष झवि शर्मा न्यौपाने, नाट्टा कर्णालीका उपाध्यक्ष भानुभक्त खड्कालगायतले समेत पर्यटनका सम्भावनालाई व्यवहारमा उतार्न आवश्यक पहल र सहकार्यमा जोड दिए ।

उनीहरुले नेपालगन्ज र आसपासका धार्मिक गन्तव्यको प्रचारप्रसारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । उनीहरूले बागेश्वरी मन्दिरलाई केन्द्रमा राखेर बाबा बर्फानी धाम, सन्तानेश्वर मन्दिर, गोवद्र्धन धाम र भुवर भवानीलगायतका धार्मिकस्थललाई एउटै सर्किटमा आबद्ध गर्न सके पर्यटकको बसाइ लम्ब्याउन र पर्यटनबाट स्थानीय क्षेत्रले लाभ लिन सक्ने बताएका थिए ।

चौथो वार्षिक साधारणसभाका अवसरमा नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई विशेष सम्मान गरिएको थियो । त्यस्तै, दैनिक नेपालगन्ज, तुलसी होलिडेका सञ्चालक पदम सुवेदी, श्री एअरलाइन्ससहित पर्यटन व्यवसायीलाई सम्मान गरिएको थियो । कार्यक्रममा पर्यटन व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रमको सहजीकरण महासचिव भागीराम ओलीले गरेका थिए । उनका अनुसार, बन्दसत्रले आर्थिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ ।

नाट्टा बाँकेको सात प्रतिबद्धता

नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वार बनाउँदै बाँके–बर्दियासहित पश्चिम नेपालका गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा जोड्ने लक्ष्यसहित नाट्टा बाँके च्याप्टरले सात प्रतिबद्धता सार्वजनिक गरेको छ । सातौँ स्थापना दिवस तथा चौथो वार्षिक साधारणसभाका अवसरमा जारी घोषणापत्रमा धार्मिक, प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई स्थानीय अर्थतन्त्र, रोजगारी र समृद्धिसँग जोड्ने कार्यदिशा अघि सारिएको हो ।

घोषणापत्रमा बाँके, बर्दिया र पश्चिम नेपालका पर्यटकीय गन्तव्यको पहिचान, संरक्षण र प्रवद्र्धनलाई पहिलो प्राथमिकता दिइएको छ । बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, हनुमानगढी, सन्तानेश्वर, बाबा बर्फानी धाम, गोवद्र्धन धाम र भुवर भवानीलगायतका गन्तव्यलाई पर्यटन बजारसँग जोड्ने योजना छ ।

नेपालगन्ज विमानस्थललाई पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्दै नेपालगन्ज–पोखरा र नेपालगन्ज–जनकपुरलगायत हवाई सेवा विस्तारका लागि पहल गर्ने नाट्टाले जनाएको छ। रुपैडिहा नाकासम्म पर्यटकमैत्री आवागमन, ग्रीन लाइन र स्मार्ट बोर्डरको अवधारणामा पनि सम्बन्धित निकायसँग सहकार्य गरिनेछ ।

बागेश्वरी, बाबा बर्फानी, सन्तानेश्वर, गोवद्र्धन धाम र भुवर भवानीलाई धार्मिक पर्यटन सर्किटमा जोड्दै कैलाश मानसरोवर, लुम्बिनी र रारासँग नेपालगन्जलाई जोड्ने योजना घोषणापत्रमा छ । भारतीय धार्मिक पर्यटकका लागि विशेष प्याकेज र सेवा प्रणाली विकास गरिनेछ ।

नाट्टाले ट्राभल्स मार्ट, पर्यटन मेला, संवाद, अन्तरक्रिया तथा व्यवसायी–व्यवसायीबीचको सहकार्य कार्यक्रममार्फत पर्यटन बजार विस्तार गर्ने जनाएको छ । स्थानीय तह, होटल तथा पर्यटन व्यवसायी र समुदायसँग मिलेर बाँके–बर्दियालाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका गन्तव्यसँग जोड्ने एकीकृत प्याकेज बनाइनेछ ।

व्यवसायी तथा कर्मचारीको क्षमता अभिवृद्धि, डिजिटल प्रचार, सीमा क्षेत्र पर्यटन र व्यवसायीबीचको सूचना आदान–प्रदानलाई पनि प्राथमिकता दिइएको छ । पर्यटनलाई स्थानीय आय, रोजगारी र उद्यमशीलताको आधार बनाउँदै नेपाल पर्यटन बोर्ड, नाट्टा, स्थानीय तह, होटल व्यवसायी, उद्योग वाणिज्य संघ, सञ्चार क्षेत्र र निजी क्षेत्रसँग साझेदारी विस्तार गरिने घोषणापत्रमा उल्लेख छ ।

Exit mobile version