४० भन्दा बढी विद्यार्थीले देखाए प्रतिभा
जय बागेश्वरी माध्यमिक विद्यालयमा आयोजित अन्तरविद्यालय नृत्य प्रतियोगितामा ४० भन्दा बढी विद्यार्थीले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका छन् । विद्यार्थीको प्रतिभा पहिचान र प्रस्फुटनसँगै आत्मविश्वास बढाउने तथा नेपाली कला, संस्कृति र मौलिकताको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा कक्षा १ देखि ५ र कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई छुट्टाछुट्टै समूहमा राखिएको थियो । दुवै समूहका विद्यार्थीले नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालय परिवार तथा अतिथिको उत्साहजनक सहभागिता रहेको थियो ।
कक्षा १ देखि ५ को समूहमा अभिक्षा थारु प्रथम भएकी छन् । रुस्लाम पुन मगर द्वितीय र प्रियंशा बुढाथोकी तृतीय भएका छन् । कक्षा ६ देखि १२ को समूहमा आंशिका जीसीले प्रथम स्थान हासिल गरेकी छन् । अनन्या शर्मा द्वितीय र समीक्षा चन्द तृतीय भएका छन् ।
प्रतियोगिताका निर्णायक कुसुम राई र छविलाल आले थिए । निर्णायक राईले विद्यार्थीका सबै प्रस्तुति उत्कृष्ट रहेकाले उत्कृष्ट तीन छनोट गर्न कठिन भएको बताइन् । उनका अनुसार, प्राप्त अंकका आधारमा प्रतियोगिताको नियमअनुसार प्रथम, द्वितीय र तृतीय छनोट गरिएको हो ।
’नेपालगन्जका विभिन्न विद्यालयमा नृत्य प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरे पनि जय बागेश्वरीका विद्यार्थीको प्रस्तुति मूल्यांकन गर्न पाउँदा विशेष आनन्द लाग्यो,’ राईले भनिन्,’ विद्यार्थीमा देखिएको प्रतिभा, आत्मविश्वास र उत्साहले निकै खुसी बनायो ।’
अर्का निर्णायक आलेले आफूले नृत्य सिकाएका विद्यार्थीले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएको देख्दा खुसी लागेको बताए । उनले विद्यार्थीको पढाइसँगै उनीहरूको रुचि र क्षमता पहिचान गरी अतिरिक्त क्रियाकलापमा सहभागी गराउने विद्यालयको प्रयास प्रशंसनीय रहेको बताए ।
विद्यालयका अंग्रेजी शिक्षक आशिष ठाकुरका अनुसार विद्यार्थीलाई विभिन्न कार्यक्रममा सहभागी गराउन चुनौती हुने अवस्थामा यसपटक ४० भन्दा बढी विद्यार्थीको उत्साहजनक सहभागिता विद्यालयका लागि खुसीको विषय बनेको छ । विद्यालयले विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको रुचि र क्षमताअनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको उनले बताए ।
’विद्यार्थीलाई पढाइसँगै आफ्नो रुचिको क्षेत्रमा अघि बढ्ने अवसर दिनुपर्छ । यसले उनीहरूको आत्मविश्वास र क्षमता विकासमा सहयोग गर्छ,’ ठाकुरले भने ।
विद्यालयले विद्यार्थीको रुचि र क्षमता एउटै नहुने जनाएको छ। कोही बोल्नमा अब्बल हुन्छन् भने कोही नृत्य, संगीत वा अन्य सिर्जनात्मक गतिविधिमा राम्रो गर्न सक्छन् । त्यसैले सबै विद्यार्थीलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर उपलब्ध गराउँदै आएको विद्यालयको भनाइ छ ।
प्रतियोगितामा सहभागी विद्यार्थीले पनि नियमित अध्ययनसँगै विद्यालयमा हुने अतिरिक्त गतिविधिले आफूहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर मिलेको बताएका छन् । यस्ता कार्यक्रमले मञ्चमा प्रस्तुति दिने बानी बसाल्नुका साथै आत्मविश्वास बढाउन सहयोग पुगेको उनीहरूको भनाइ छ ।
विद्यालयका अनुसार प्रतियोगिताले विद्यार्थीमा सिर्जनशीलता र नेतृत्व क्षमताको विकाससँगै कला तथा संस्कृतिप्रतिको रुचि बढाउन सहयोग गरेको छ । सांस्कृतिक पहिचानसँग जोडिएका नृत्य तथा सिर्जनात्मक प्रस्तुतिलाई विद्यालयस्तरमै अवसर दिँदा विद्यार्थीको प्रतिभा पहिचान गर्न सहज हुने विद्यालयको विश्वास छ ।
विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने र उनीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने उद्देश्यले विद्यालयले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।
प्रतियोगितामा निर्णायकको भूमिकामा कुसुम राई र छविलाल आले रहेका थिए । विद्यार्थीको प्रस्तुति मूल्यांकन गर्दै उनीहरूले उत्कृष्ट तीन छनोट गरेका हुन् ।
