कमलले सम्हाले कार्यभार
नेपाल प्रेस युनियन बाँकेले पत्रकारलाई समस्या पर्दा सहयोग गर्न करिब १० लाख रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ ।
सचिव भिष्म लोधका अनुसार, नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले पत्रकारको पेशागत जोखिमलाई ध्यानमा राख्दै कोष स्थापना गर्ने निर्णय गरेको हो ।
युनियन बाँकेका अध्यक्ष कमल खत्रीले नयाँ कार्यसमितिको पहिलो निर्णयकै रुपमा पत्रकार कल्याणकारी कोष निर्माण गर्ने निर्णय गरिएको बताए । पत्रकारलाई कामका क्रममा आइपर्ने समस्या र जोखिममा केही राहत पु¥याउने उद्देश्यले कोष स्थापना गर्न लागिएको उनले बताए ।
‘पत्रकारहरुलाई समस्या पर्दा कोषले केही राहत पुर्याउनेछ,’ खत्रीले बैठकमा भने, ‘रिपोर्टिङका लागि पत्रकारले जतिबेला पनि सवारी चलाइरहनुपर्ने अवस्था हुन्छ । त्यस क्रममा पत्रकारलाई दुर्घटनाको जोखिम धेरै हुन्छ । यस्तो अवस्थामा कोषले केही राहत प्रदान गर्ने हाम्रो आशा छ ।’
खत्रीका अनुसार, स्थापना गरिने कोषलाई क्रमशः करिब १० लाख रुपैयाँ पु¥याइनेछ । पत्रकारको आवश्यकता र आपतकालीन अवस्थालाई सम्बोधन गर्न कोष उपयोगी हुने युनियनको अपेक्षा छ ।
यसैबीच नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा प्रदेश र संघीय प्रतिनिधि परिषद्का सदस्यलाई निर्वाचन समिति संयोजक केशवराज कोइरालाले प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि मुक्तिबाबू रेग्मी, लुम्बिनी प्रदेश महासचिव नवीन गिरी, पूर्व केन्द्रीय सदस्य उमा थापा, युनियन बाँकेका पूर्व अध्यक्ष अर्जुन ओली, जयनारायण शाह तथा नेपाली कांग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतमलगायत सहभागी थिए ।
केन्द्रीय प्रतिनिधि रेग्मीले नेपाल प्रेस युनियन बाँकेले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेर अन्य शाखालाई पनि सकारात्मक सन्देश दिएको बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष प्रियास्मृति ढकालले आफ्नो तीन वर्षीय कार्यकालमा आफूले सकेसम्म रचनात्मक काम गर्ने प्रयास गरेको बताए । नेतृत्वमा रहँदा आफूले धेरै कुरा सिक्ने अवसर पाएको उनले उल्लेख गरे ।
