हजुरआमा दौडमा दुई उमेर समूह

जेष्ठ महिलाको सक्रिय जीवनशैली, आत्मविश्वास र पुस्ताबीचको सम्बन्धलाई केन्द्रमा राखेर आयोजना हुँदै आएको ‘द गोल्डन ग्राण्ड मा’को दोस्रो संस्करणमा ‘दौडिन्छिन् हजुरआमा’को प्रतियोगितात्मक सहभागिताका लागि फरक उमेर समूह बनाइने भएको छ ।

आयोजना तयारीका लागि सोमवार भएको बैठकमा भएको छलफलका आधारमा फरक उमेर समूह बनाइने सुझाव दिइएको हो । ‘५१–६५ र ६६ देखि माथिको उमेर समूहबीच प्रतिष्पर्धा गराउन सुझाव आएको’ जानकारी दिंदै आयोजकले सोही अनुसारको तयारी अगाडी बढाएको बताएको छ ।
यस वर्ष ‘दौडिन्छिन् हजुरआमा’ लगायतका कार्यक्रममा लुम्बिनी प्रदेश सरकारले सहकार्य पनि गर्ने भएको छ । कार्यक्रमअन्तर्गत हुने ‘दौडिन्छिन् हजुरआमा’ र ‘भन्छिन् हजुरआमा’का लागि प्रदेश सभा सदस्य अम्बिका काफ्लेले आफ्नो संसद विकास कोषमा कार्यक्रम समावेश गरिएको जानकारी दिइन् ।

सांसद काफ्लेले ‘द गोल्डन ग्राण्ड मा’जस्ता कार्यक्रमलाई नेपालगन्जमा मात्र सीमित नराखी प्रदेशका सबै जिल्लामा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइन् । महिला सशक्तिकरणसँगै जेष्ठ महिलाको शारीरिक तथा मानसिक सक्रियता, आत्मविश्वास र पुस्ताबीचको सम्बन्धलाई बलियो बनाउन कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो ।
यसैगरी प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठले ‘दौडिन्छिन् हजुरआमा’ र ‘भन्छिन् हजुरआमा’ जस्ता कार्यक्रमले जेष्ठ नागरिक महिलाका लागि सकारात्मक र प्रभावकारी सन्देश प्रवाह गरिरहेको उनले बताइन् ।

‘द गोल्डन ग्राण्ड मा’को दोस्रो संस्करण आगामी भदौ २१ गते आइतबार नेपालगन्जमा हुँदैछ । कार्यक्रमका लागि आइतबारदेखि सहभागिता दर्ता खुला गरिएको छ । आयोजकका अनुसार, सहभागिताका लागि कुनै शुल्क लाग्ने छैन ।

कार्यक्रम संयोजक सजल गैरेका अनुसार दोस्रो संस्करणमा ५० वर्ष उमेर पूरा गरेका हजुरआमाबीच १ हजार १ मिटर दौड हुनेछ । दौडमा सहभागी हजुरआमाले नेपालगन्जको बीपी चोकदेखि धम्बोझी चोकसम्मको दूरी पार गर्नेछन् । प्रतियोगितालाई जित वा हारको प्रतिस्पर्धाका रूपमा भन्दा जेष्ठ महिलालाई सक्रिय जीवनशैलीका लागि प्रोत्साहित गर्ने अभियानका रूपमा अघि बढाइएको उनले बताइन् ।

दौडसँगै सोही दिन ‘भन्छिन् हजुरआमा’ नामक अन्तरपुस्ता संवाद पनि हुनेछ । कार्यक्रममा ५० वर्ष पार गरेका हजुरआमा र नयाँ पुस्ताका ५० भन्दा बढी छोरीबीच प्रत्यक्ष संवाद गराइनेछ । संवादका क्रममा हजुरआमाले आफ्ना संघर्ष, अनुभव, सपना, सिकाइ र भोगाइ नयाँ पुस्तासँग साट्नेछन् । त्यसको संयोजन सन्ध्या गैरेले गरेकी छन् । नयाँ पुस्ताले पनि ती अनुभव सुन्ने र हजुरआमासँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार, कार्यक्रमको मूल उद्देश्य हजुरआमालाई सहानुभूति र हेरचाहको पात्रका रूपमा मात्र हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन गर्नु हो । उनीहरूमा रहेको अनुभव, ऊर्जा, आत्मविश्वास र प्रेरणालाई समाजसामु स्थापित गर्ने अभियानका रूपमा कार्यक्रम अघि बढाइएको छ । ‘उमेर बढ्दै जाँदा जीवनको गति रोकिनु हुँदैन’ भन्ने सकारात्मक सन्देश कार्यक्रमले दिने आयोजकको भनाइ छ ।

सोमबारको छलफलमा कार्यक्रमको तयारी, व्यवस्थापन र आवश्यक सहकार्यका विषयमा विभिन्न क्षेत्रका प्रतिनिधिले सुझाव दिएका थिए । सहआयोजक नाट्टा बाँकेका संस्थापक श्रीराम सिग्देल, अध्यक्ष डिल्लीराज रेग्मी, रणनीतिक साझेदार धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, एथलेटिक्स प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङ, मेरो टुकी प्रज्ञालयका संस्थापक भोजराज शर्मा, कसौधन वैश्य समाजका अध्यक्ष सन्तोषकुमार वैश्य, साइक्लिङ संघका अध्यक्ष गगन थापा र साइक्लिङ क्लबका प्रवक्ता विष्णु कंडेललगायतले आयोजनाका लागि गर्नुपर्ने तयारीबारे विषयगत सुझाव दिएका थिए ।

‘द गोल्डन ग्राण्ड मा’को आयोजनामा प्रदेश सरकारको सहकार्यलाई कार्यक्रमको निरन्तरताका लागि महत्वपूर्ण मानिएको छ । महिला सशक्तिकरण र जेष्ठ महिलाको सक्रियतासँगै फरक पुस्ताबीचको सम्बन्धलाई थप आत्मीय बनाउने उद्देश्यले सम्यक मिडिया हबले कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

Exit mobile version