डेढ अर्ब बढ्यो भन्सार लक्ष्य

गत आर्थिक बर्ष २०८२/०८३ मा आफ्नो लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको नेपालगन्ज भन्सार कार्यालयलाई चालु आ.व. २०८३/८४ मा थप डेढ अर्ब बढी बढाएर लक्ष्य निर्धारण गरिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपियाँ राजश्व संकलनका लागि लक्ष्य प्राप्त गरेको थियो । जसमध्ये करिब ८१.८७ प्रतिशत अर्थात् २० अर्ब ११ करोड ५५ लाख १ हजार रूपैयाँ मात्रै असुली गर्न सकेको थियो ।

गत आ.व.मा २० अर्ब ११ करोड राजश्व असुली गरेको नेपालगन्ज भन्सारलाई चालु आ.व. २०८३/०८४ मा २६ अर्ब २० करोड ५२ लाख ६५ हजार लक्ष्य निर्धारण गरिएको छ । जुन गत गत आ.व.को वास्तविक असुली भन्दा ६ अर्ब भन्दा बढी र गत आ.व.को लक्ष्य भन्दा एक अर्ब ६५ करोड भन्दा बढी हो ।

नेपालगन्ज भन्सार कार्यालयले लक्ष्य बढेपछि चालु आर्थिक बर्ष २०८३/०८४ को पहिलो महिनामा नै लक्ष्य हासिल गर्न सकेन । नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, साउन महिनाका लागि १ अर्ब ८३ करोड ४३ लाख ६८ हजार लक्ष्य निर्धारण गरिएकोमा १ अर्ब ६१ करोड १७ लाख ७३ हजार मात्रै असुली भएको छ । जुन मासिक लक्ष्यको ८७.८७ प्रतिशत हो ।

गत आर्थिक बर्ष २०८२/८३ को साउन महिनामा १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रूपैयाँ राजश्व असुली भएको थियो । गत साउन भन्दा चालु आ.व.को साउनमा १६.४८ प्रतिशत भन्सार राजश्व संकलन वृद्धि भएको देखिन्छ ।

भन्सारको तथ्यांक अनुसार आर्थिक बर्ष २०८१/८२ मा २० अर्ब २८ करोड ५१ लख ८१ हजार रूपैयाँ राजस्व संकलन भएको थियो । आ.व. २०८०/८१ मा १८ अर्व १५ करोड ७२ लाख ३३ हजार रूपैयाँ राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, साउन महिनामा व्यापार घाटा ९२.८४ प्रतिशत रहेको छ ।

Exit mobile version