विपद् प्रतिकार्यमा सबैलाई समेट्ने प्रतिबद्धता

स्थानीय तहमा विपद् प्रतिकार्यका क्रममा प्रभावित नागरिकप्रति थप उत्तरदायी र समावेशी ढंगले काम गर्ने प्रतिबद्धता सरोकारवालाले जनाएका छन् । विपद्का बेला अपांगता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायलाई केन्द्रमा राखेर तयारी र प्रतिकार्यको व्यवस्था मिलाउनुपर्नेमा उनीहरूको जोड छ ।

कोहलपुर नगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भएको दुई दिने कार्यशालामा सहभागी जनप्रतिनिधि, नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था तथा अपांगता अधिकारका क्षेत्रमा क्रियाशील सरोकारवालाले स्थानीय विपद् प्रतिकार्य प्रणालीलाई थप समावेशी बनाउने सहमति गरेका हुन् ।

कार्यशालामा स्थानीय विपद् प्रतिकार्यमा देखिएका प्रणालीगत कमजोरी पहिचान गर्दै त्यसलाई सुधार गर्ने विषयमा छलफल भएको थियो । विपद्को समयमा सबै नागरिकको आवश्यकता एउटै नहुने भएकाले जोखिममा रहेका व्यक्तिका लागि छुट्टै तयारी र कार्ययोजना आवश्यक रहेको सहभागीको निष्कर्ष थियो ।

कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले विगतका विपद् योजनामा सबैलाई एउटै दृष्टिकोणबाट हेर्ने गरिएको बताइन्। ‘लामो समयसम्म हाम्रा विपद्का योजनाहरूले सबैलाई एउटै दृष्टिकोणबाट मात्र हेरे । यो तालिमले वास्तवमै एउटा उत्थानशील समुदाय बन्नका लागि सबैभन्दा पहिले आफ्ना सबैभन्दा कमजोर सदस्यहरूको रक्षा गर्नुपर्छ भन्ने यथार्थमा हाम्रा आँखा खोलिदिएको छ,’ उनले भनिन् ।

कार्यशालामा विपद् आउनुअघिको तयारीदेखि उद्धार तथा राहतसम्म अपांगता भएका व्यक्तिको पहुँच र आवश्यकतालाई कसरी समेट्ने भन्ने विषयमा पनि अभ्यास गरिएको थियो। स्थानीय घटनाका कथालाई आधार बनाएर सहभागीले सामूहिक योजना निर्माण गरेका थिए । त्यसक्रममा समावेशीकरणलाई विपद् प्रतिकार्यको नियमित प्रक्रियामै जोड्ने व्यावहारिक कार्यढाँचा तयार गरिएको थियो ।

प्रशिक्षक तथा विपद् विज्ञ रुपन ज्ञवालीले विपद्पछि राहत सामग्री पु¥याउनु मात्रै प्रतिकार्य नभएको बताए। विपद् आउनुअघि नै जोखिममा रहेका व्यक्तिले सुरक्षित स्थान र त्यहाँ पुग्ने बाटोबारे स्पष्ट जानकारी पाउनु आवश्यक रहेको उनको भनाइ थियो ।

‘विपद्पछि राहत सामग्री वितरण गर्नु मात्र होइन बरु डढेलो वा बाढी आउनु अगावै दृष्टिविहीन वा शारीरिक अपांगता भएका व्यक्तिलाई आफू कहाँ जाने भन्ने कुरा ठ्याक्कै थाहा हुनु हो,’ ज्ञवालीले भने ।

उनका अनुसार विपद् प्रतिकार्यको योजना बनाउँदा जोखिममा रहेका व्यक्तिको वास्तविक अवस्था र उनीहरूको पहुँचलाई ध्यान दिन सके मात्र स्थानीय विपद् व्यवस्थापन प्रभावकारी बन्न सक्छ ।

युनिसेफको सहयोगमा सञ्चालन गरिएको कार्यशालामा सामाजिक व्यवहार परिवर्तन विज्ञ भूमि भण्डारी र सजना कुँवरले प्रशिक्षण दिएका थिए । उनीहरूले विपद्को समयमा सूचना, व्यवहार र सामाजिक समावेशीकरणको भूमिकाका विषयमा सहभागीलाई अभ्यास गराएका थिए ।

कार्यशालामा कोहलपुर नगरपालिका स्थानीय विपद् जोखिम न्यूनीकरण समिति संयोजक आशा चौधरीको अध्यक्षता थियो। कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख इश्वरी प्रसाद बिक, रोजगार संयोजक आशिष बर्मालगायतले विपद् प्रतिकार्यमा स्थानीय तह, समुदाय तथा सरोकारवालाबीचको समन्वय आवश्यक रहेको धारणा राखेका थिए ।

Exit mobile version