चार महिनाअघि रोजगारीका लागि रसुवा पुगेका भाई कालुराम चौधरीलाई खोज्दै नेपालगन्ज राँझाबाट स्थानीय प्रशासन धाइरहेका रामु चौधरी अतास्सिएका छन् । विनाशकारी बाढी आएको दिनदेखि भाई कालुराम सम्पर्कविहीन छन् । लामटाङ हाइड्रोपावरमा काम गर्न पुगेका भाइको अवस्था अझै अज्ञात रहेपछि उनका दाजु रामु चौधरी खोजीका लागि आग्रह गरिरहेका हुन् ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा रहेका बाँके र बर्दियाका ११७ जना सम्पर्कविहीन भएको विवरण सम्बन्धित परिवारले स्थानीय प्रशासनमा गराएका छन् । तीमध्ये बाँकेका २७ जना र बर्दियाका ९० जना छन् ।
राँझाका रामुका अनुसार, उनका भाइ कालुराम कामको खोजीमा चारदेखि पाँच महिनाअघि रसुवा पुगेका थिए । बाढीको घटना भएपछि भने परिवारले उनीसँग कुनै माध्यमबाट सम्पर्क गर्न सकेको छैन ।
‘लामटाङ हाइड्रोपावरमा काम गर्न ४÷५ महिना पहिले गएको थियो, बाढीको घटनापछि सम्पर्क गर्नै सकिएको छैन,’ रामुले दैनिक नेपालगन्जसँग भने ।
कालुरामकी श्रीमती र साना छोराछोरी भने कञ्चनपुरको शुक्लाफाँटा गाउँपालिका–५ लक्ष्मीपुरस्थित घरमा रहेको जानकारी रामुले दिए । बाढीपछि भाइको कुनै खबर नआउँदा परिवारमा चिन्ता थपिएको उनले बताए ।
भोटेकोशीमा आएको आकस्मिक र अत्यन्त शक्तिशाली बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको छ । बाढीले बस्ती, सडक, पुल र जलविद्युत् आयोजनासहित विभिन्न भौतिक संरचनामा समेत व्यापक क्षति गरेको छ । यही बाढीपछि रोजगारीका लागि प्रभावित क्षेत्रमा पुगेका बाँके र बर्दियाका धेरै परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारी पर्खिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, उनीहरूमध्ये दुई जना भारतीय नागरिक, २० जना बाँकेका स्थायी बासिन्दा र पाँच जना अस्थायी बासिन्दा रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले जानकारी दिए ।
बाढीपछि प्रभावित क्षेत्रमा रहेका आफन्त तथा परिवारजनसँग सम्पर्क हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्राप्त विवरणका आधारमा उनीहरूलाई सम्पर्कविहीनको सूचीमा राखिएको हो। हराइरहेका व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने काम भइरहेको गुरुङले बताए ।
छिमेकी जिल्ला बर्दियामा मात्रै सम्पर्कविहीन हुनेको संख्या ९० पुगेको छ । जिल्ला प्रशासन कार्यालय बर्दिया र सम्बन्धित स्थानीय तहमा परिवारजनले गराएको जानकारीका आधारमा उनीहरूको विवरण तयार पारिएको हो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार सम्पर्कविहीन हुनेमा बारबर्दिया नगरपालिकाका २५ जना छन् । बाँसगढी नगरपालिकाका १८ जना, राजापुर नगरपालिकाका १६ जना, ठाकुरबाबा नगरपालिकाका १३ जना र गेरुवा गाउँपालिकाका १४ जना छन्। गुलरिया नगरपालिकाका दुई जना, मधुवन नगरपालिकाका एक जना र ठेगाना नखुलेका एक जना पनि सम्पर्कविहीनको सूचीमा छन् ।
प्रशासनका अनुसार, बर्दियाबाट रोजगारी तथा अन्य कामका लागि रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा पुगेका व्यक्तिहरू बाढीपछि परिवारको सम्पर्कमा आएका छैनन् । उनीहरूका परिवारजनले आफन्तको अवस्था बुझ्न लगातार प्रयास गरिरहेका छन् ।
सम्पर्कविहीन भएका व्यक्तिहरूको विवरण संकलन गरेर प्रभावित क्षेत्रका सुरक्षा समितिलाई पठाइएको हमालले जानकारी दिए । सम्बन्धित परिवारबाट प्राप्त विवरणका आधारमा हराइरहेका व्यक्तिको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको प्रशासनले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट सम्पर्कविहीनमध्ये अधिकांश हाइड्रोपावर र कन्ट्रक्सनको काममा गएको खुलेको छ। रोजगारीका लागि घरबाट टाढा पुगेका उनीहरू प्राकृतिक विपत्तिपछि सम्पर्कमा नआउँदा परिवारजनमा बेचैनी बढेको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार अभियान जारी राखेका छन् । तर, सम्पर्कविहीन रहेका व्यक्तिहरूको संख्या ठूलो रहेकाले आफन्तहरू अझै आफ्ना मान्छेको खबरको प्रतीक्षामा छन् ।
रामु पनि त्यही प्रतीक्षामा छन् । भाइ कालुराम बाढीमा परेर बेपत्ता भएको आशंका गर्दै उनले खोजीलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन् । परिवारमा रहेका कालुरामकी श्रीमती र साना सन्तानका लागि पनि उनको अवस्थाबारे यथाशीघ्र जानकारी पाउनुपर्ने रामुको माग छ ।
