एक महिनामा करिब दुई किलो ब्राउन सुगर बरामद

बाँके प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिएसँगै एक महिनाको अवधिमा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीले गत साउन महिनामा जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सहित ३१ जनालाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउन महिनामा लागुऔषधसम्बन्धी १७ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट ब्राउनसुगर, नाइट्राजेपाम र गाँजासमेत बरामद गरेको छ ।

प्रहरीका अनुसार उक्त अवधिमा १ किलो ८ सय ५५ ग्राम ब्राउनसुगर, १ सय ६० ट्याबलेट नाइट्राजेपाम र २ किलो २ सय ६० ग्राम गाँजा बरामद भएको छ । प्रहरीले लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिमाथि निगरानी बढाउँदै विभिन्न स्थानमा चेकजाँच तथा कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।

भारतसँग खुला सीमा जोडिएको बाँके लागुऔषध ओसारपसारका दृष्टिले संवेदनशील जिल्लाका रूपमा रहेको छ । सीमावर्ती क्षेत्रको फाइदा उठाउँदै भारतबाट लागुऔषध भित्र्याउने र बाँके हुँदै अन्य जिल्लासम्म पुर्याउने प्रयास हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।

प्रहरीले पक्राउ गरेका व्यक्तिहरूमाथिको अनुसन्धानका क्रममा भारतबाट लागुऔषध ल्याएर बाँकेका साथै अन्य जिल्लामा समेत पु¥याउने गरेको तथ्य खुल्ने गरेको जनाएको छ । सीमावर्ती नाकाको प्रयोग गरी लागुऔषध भित्र्याउने र त्यसलाई विभिन्न माध्यमबाट देशका अन्य भागमा पठाउने गतिविधि नियन्त्रण गर्न प्रहरीका लागि चुनौती रहँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरले प्रहरीको सक्रियताका कारण लागुऔषध बरामद तथा पक्राउको संख्या बढ्दै गएको बताए । उनका अनुसार लागुऔषध नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा नियमित निगरानी, चेकजाँच तथा शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको छ । सीमावर्ती क्षेत्रबाट हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरी थप सक्रिय रूपमा परिचालित रहेको उनले बताए ।

प्रहरीले लागुऔषधको कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउँदै आएको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूबाट प्राप्त सूचनाका आधारमा लागुऔषधको स्रोत, ओसारपसारको माध्यम तथा कारोबारमा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान गर्ने गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पछिल्लो समय लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूले विभिन्न नयाँ तरिका अपनाउने गरेका कारण नियन्त्रणका लागि नियमित चेकजाँचसँगै सूचनाका आधारमा लक्षित कारबाहीलाई प्राथमिकता दिइएको छ ।

साउन महिनाको तथ्यांकले बाँकेमा लागुऔषध नियन्त्रण प्रहरीको प्रमुख चुनौतीमध्ये एक रहेको देखाएको छ । ठूलो परिमाणमा ब्राउनसुगरलगायतका लागुऔषध बरामद हुनु र एकै महिनामा ३१ जना पक्राउ पर्नुले जिल्लामा यसको ओसारपसार तथा कारोबारको अवस्था गम्भीर रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

Exit mobile version