नवलपरासी पश्चिमको नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा बाढीले बगाएर ल्याएका ५४ वटा शव र शरीरका २५ वटा अंग फेला परेका छन् । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश अन्तरगतको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार भदौ १३ गते राति १० बजेसम्म ती शव तथा अंग फेला परेका हुन् । मन्त्रालयका अनुसार भदौ ११ गते २७ वटा शव र एक वटा शरीरको अंग फेला परेको थियो । तीमध्ये आठ महिला, १६ पुरुष, एक बालक र दुई बालिकाको शव रहेका छन् ।
भदौ १२ गते सात वटा शव र १२ वटा शरीरका अंग गरी १९ वटा फेला परेका थिए । त्यस्तै, भदौ १३ गते २० वटा शव र १५ वटा शरीरका अंग फेला परेका छन् । तीमध्ये पाँच महिला, १३ पुरुष, एक बालक र एक बालिकाको शव रहेका छन् ।
यसैबीच, बाढी तथा विपद्का कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १६८ जना अझै सम्पर्कविहीन रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै दाङका ४१ जना सम्पर्कमा आउन सकेका छैनन् । रुपन्देहीका ३५, बाँकेका २०, रुकुम पूर्वका १६, रोल्पाका १४, पाल्पाका ११, प्युठानका १०, अर्घाखाँचीका नौ, बर्दियाका आठ, गुल्मीका सात, नवलपरासी पश्चिमका छ र कपिलवस्तुका चार जना सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म १३ जना भने सम्पर्कमा आएका छन् । रुपन्देहीका छ, दाङका पाँच, बाँकेका एक र प्युठानका एक जना सम्पर्कमा आएको विवरणमा उल्लेख छ । साथै, विभिन्न स्थानमा फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंगहरू अस्पतालका शवगृहमा सुरक्षित राखेर पहिचानको प्रक्रिया अघि बढाइएको छ ।
