सीमावर्ती भारतीय बजार रुपैडिहास्थित नेपालगन्ज रोड रेलवे स्टेसनबाट आज सोमवारदेखि नियमित रेल सेवा शुभारम्भ गरिने भएको छ । सेवा विस्तारको तयारी अन्तिममा पुगेको जानकारी लिन सम्बद्ध अधिकारीहरु यहाँ स्थलगत अनुगमन गरेका छन् ।
भारतको बहराइचदेखि नानपारा हुँदै नेपालगन्ज रोडसम्म निर्माण भएको विद्युतीकृत ब्रोडगेज रेलमार्ग र विभिन्न रेल सेवाको नेपालगन्ज रोडसम्म विस्तारको उद्घाटन भदौ १५ गते सोमबार हुने भएको हो ।
उद्घाटनसँगै नेपालगन्ज रोडबाट गोन्डातर्फ आजैदेखि बहुप्रतीक्षित रेल सञ्चालन सुरु हुनेछ । सम्बद्ध रेलवे अधिकारीका अनुसार, उद्घाटन समारोहका अवसरमा आज नेपालगन्ज रोडदेखि वाराणसीसम्म यात्राका लागि रेलवेले निःशुल्क टिकटको व्यवस्था गरेको छ । ‘निःशुल्क यात्राका लागि टिकट लिन चाहने यात्रुले भदौ १५ गते बिहान १० बजेसम्म टिकट लिनुपर्नेछ,’ रुपैडिहास्थित भारतीय पत्रकार सन्तोषकुमार शुक्लले दैनिक नेपालगन्जसँग भने ।
उद्घाटन कार्यक्रम भारत सरकारका रेल, सूचना तथा प्रसारण र इलेक्ट्रोनिक तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री अश्विनी वैष्णवले भिडियो कन्फरेन्समार्फत गर्ने तयारी छ । त्यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रेल सञ्चालनको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
रेल सेवा विस्तारसँगै बहराइच–नानपारा–नेपालगन्ज रोड विद्युतीकृत ब्रोडगेज रेलमार्ग औपचारिक रुपमा सञ्चालनमा आउनेछ । यससँगै वाराणसी–बहराइच र वाराणसी सिटी–गोरखपुरबाट चल्ने रेल सेवाको नेपालगन्ज रोडसम्म विस्तार हुनेछ ।
नेपालगन्ज रोडसम्म विस्तार हुने रेल सेवामा गाडी संख्या १४२१३÷१४ को वाराणसी–बहराइच एक्सप्रेस र गाडी संख्या १५१३१÷३२ को वाराणसी सिटी–गोरखपुर एक्सप्रेस रहेका छन् । त्यसैगरी गोन्डा–बहराइचबीच चल्दै आएका गाडी संख्या ७५१०९÷१० र ७५१११÷७५११२ डेमू रेलसमेत नेपालगन्ज रोडसम्म विस्तार गरिने भएको छ ।
उद्घाटनलाई लक्षित गर्दै रेलवे स्टेसन, कार्यक्रमस्थल र आसपासको क्षेत्रमा प्रशासनले तयारी तीव्र बनाएको छ । आइतवार बहराइचका जिल्लाधिकारी अक्षय त्रिपाठी र प्रहरी अधीक्षक विश्वजीत श्रीवास्तवले शनिबार नानपाराका विधायक राम निवास वर्मा, अपर जिलाधिकारी अमित कुमार, मुख्य राजस्व अधिकारी सौरभ दुबे र अपर प्रहरी अधीक्षक ग्रामीण दुर्गा प्रसादसहितका अधिकारीलाई लिएर रुपैडिहास्थित रेलवे स्टेसनको निरीक्षण गरेका थिए ।
रेल सञ्चालन सुरु भएपछि यात्रुको सुरक्षालाई समेत प्राथमिकतामा राखिएको छ । यसबारे उनले प्रहरी र रेलवेका अधिकारीसँग आवश्यक जानकारी लिए । कार्यक्रम सुरु हुनुअघि सबै तयारी पूरा गर्न सम्बन्धित विभागका अधिकारी तथा कर्मचारीलाई निर्देशन दिँदै उनले कुनै पनि व्यवस्थामा कमी नराख्न आग्रह गरे ।
‘कुनै पनि व्यवस्थामा कमी रहनु हुँदैन । सबै अधिकारीले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्छ,’ जिल्लाधिकारी त्रिपाठीले निर्देशन दिए ।
प्रहरी अधीक्षक विश्वजीत श्रीवास्तवले पनि स्टेसन र कार्यक्रमस्थलको सुरक्षा व्यवस्थाको निरीक्षण गरे । उनले कार्यक्रमस्थलमा हुने मानिसको आवतजावत, विशिष्ट व्यक्तिको आवागमन, पार्किङ र यात्रुको सुरक्षाका लागि आवश्यक प्रहरी परिचालनबारे जानकारी लिए ।
नेपाल सीमा नजिक रहेको रुपैडिहा–नेपालगन्ज क्षेत्रका बासिन्दाले नेपालगन्ज रोडबाट नियमित रेल सेवा सञ्चालन हुने लामो समयदेखि प्रतीक्षा गर्दै आएका थिए । बहराइच–नानपारा हुँदै नेपालगन्ज रोडसम्मको विद्युतीकृत ब्रोडगेज रेलमार्ग र रेल सेवा विस्तारको तयारी अन्तिम चरणमा पुगेपछि सीमावर्ती क्षेत्रका नागरिकमा उत्साह थपिएको छ ।
नेपालगन्ज रोडसम्म रेल सेवा विस्तार भएपछि भारतका विभिन्न शहरसँग यस क्षेत्रको रेल सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी वाराणसीसम्मको रेल सेवा जोडिने भएपछि सीमावर्ती क्षेत्रका यात्रुलाई थप सुविधा पुग्ने देखिएको छ ।
उद्घाटन कार्यक्रमलाई व्यवस्थित बनाउन जिल्लास्तरका प्रशासनिक, प्रहरी र रेलवे निकायले संयुक्त रुपमा काम गरिरहेका छन् । स्थलगत निरीक्षणका क्रममा सम्बन्धित अधिकारी तथा कर्मचारीले कार्यक्रमअघि बाँकी सबै तयारी समयमै पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
