नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीले निर्वाचनसँगै प्रतिस्पर्धाको अध्याय सकिएको भन्दै अब सम्पूर्ण उद्यमी–व्यवसायीलाई साथमा लिएर नेपालगन्जको आर्थिक विकासमा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन् ।
पद तथा गोपनीयताको शपथपछि बोल्दै अध्यक्ष ओलीले आफूलाई मतदान गर्ने र नगर्ने सबै व्यवसायीको अध्यक्षका रूपमा काम गर्ने बताए । उनले संघलाई सबै उद्यमी–व्यवसायीको साझा, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।
‘निर्वाचनको प्रक्रिया थियो, प्रतिस्पर्धा स्वस्थ तरिकाले भएको थियो । तर आजदेखि यो प्रतिस्पर्धा समाप्त भएको छ । अब कुनै पक्ष–विपक्ष छैन । अब एउटै पक्ष छ, उद्यमी–व्यवसायीको पक्ष । एउटै उद्देश्य छ, नेपालगन्जको आर्थिक विकास,’ ओलीले भने ।
अध्यक्षको जिम्मेवारीलाई आफूले पदका रूपमा नभई जिम्मेवारीका रूपमा लिएको उनको भनाइ थियो । ‘मलाई मतदान गर्ने मात्र होइन, मतदान नगर्ने सबै व्यवसायीहरूको पनि म अध्यक्ष हुँ,’ उनले भने, ‘मेरो नेतृत्वमा संघ सबै उद्यमी–व्यवसायीहरूको साझा, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा रहनेछ ।’
ओलीले अहिले व्यवसायीहरू बजार व्यवस्थापनदेखि बैंकिङ तथा वित्तीय क्षेत्र, कर तथा राजस्व र सीमा क्षेत्रमा हुने अवैध व्यापारलगायतका समस्याबाट प्रभावित रहेको बताए । उनका अनुसार, व्यवसायीलाई अहिले सबैभन्दा बढी सहज र सुरक्षित व्यावसायिक वातावरण आवश्यक छ ।
समस्या उठाएर मात्र संघको दायित्व पूरा नहुने भन्दै ओलीले समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर संवाद र समन्वय गर्ने बताए । प्रशासनसँग टकरावको नीति नभई सहकार्यको बाटो अपनाउने उनको भनाइ थियो । स्थानीय तहसँग सहकार्य गरी व्यवसायको सुरक्षा र बजारको शान्ति–सुरक्षा मजबुत बनाउने उनले बताए ।
कर प्रशासनसँग पनि संघले सहकार्य गर्ने ओलीले बताए । व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधान गर्न तथा कर प्रशासनलाई सहज र व्यवस्थित बनाउन सम्बन्धित निकायसँग संवाद अघि बढाइने उनले स्पष्ट पारे ।
संघीय तथा प्रदेश सरकारसँग समन्वय गरेर नेपालगन्जका उद्यमी–व्यवसायीका समस्या र माग नीतिगत तहसम्म पु¥याउने उनले बताए । ‘संघीय तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी यहाँका उद्यमी–व्यवसायीका आवाज नीतिगत तहसम्म पु¥याउनेछौं,’ ओलीले भने ।
नेपालगन्जलाई व्यापारिक केन्द्रमा मात्र सीमित नराखी पश्चिम नेपालको आर्थिक हब बनाउने लक्ष्यसमेत उनले अघि सारे । त्यसका लागि नेपालगन्ज विमानस्थलको प्रभावकारी सञ्चालन तथा विस्तार, जमुनाहा नाकाको पूर्वाधार सुधार, भन्सार तथा सीमा व्यापार व्यवस्थापन र औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने उनले बताए ।
नौवस्ता औद्योगिक क्षेत्रको विकास तथा लगानीमैत्री वातावरण निर्माणमा पनि संघले प्रभावकारी भूमिका खेल्ने ओलीले बताए । नेपालगन्जको आर्थिक गतिविधि विस्तार गर्न निजी क्षेत्र र राज्यबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
युवालाई उद्यमशीलतासँग जोड्ने विषयलाई पनि ओलीले आफ्नो नेतृत्वको प्राथमिकतामा राखेका छन् । रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता घटाउन नयाँ व्यवसाय सुरु गर्न चाहने युवालाई सूचना, परामर्श र सहजीकरण उपलब्ध गराउने उनले बताए । प्रविधिको प्रयोग र व्यवसायलाई डिजिटल बनाउने कार्यक्रमलाई पनि प्राथमिकता दिइने उनले बताए ।
ओलीले संघलाई कुनै व्यक्ति विशेषको संस्था नभई सम्पूर्ण उद्यमी–व्यवसायीको साझा संस्था बनाउने प्रतिबद्धता जनाए । संघका निर्णय र प्रक्रियालाई पारदर्शी तथा जवाफदेही बनाउने उनको भनाइ थियो ।
‘संघलाई प्रविधिमैत्री र व्यवसायीमैत्री बनाउँदै प्रत्येक व्यवसायीले ‘यो मेरो आफ्नै संस्था हो’ भन्ने अनुभूति गर्ने वातावरण सिर्जना गर्नेछौं,’ उनले भने ।
व्यवसायी र राज्यलाई एकअर्काका प्रतिस्पर्धी नभई साझेदारका रूपमा हेर्नुपर्ने ओलीले बताए । व्यवसायबाट राज्यले राजस्व प्राप्त गर्ने र व्यवसायीले राज्यबाट सुरक्षित तथा सहज व्यावसायिक वातावरण खोज्ने भएकाले दुवै पक्षबीच विश्वास, संवाद र सहकार्य आवश्यक रहेको उनले बताए ।
कानुनविपरीत व्यवसाय गर्नेहरूलाई कानुनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ थियो । तर कानुनको पालना गरेर व्यवसाय गरिरहेका व्यवसायीलाई राज्यका निकायबाट अनावश्यक झन्झट दिन नहुने उनले बताए । संघले पनि व्यवसायीलाई कानुन पालना, कर भुक्तानी र जिम्मेवार व्यवसायका विषयमा सचेत तथा प्रशिक्षित गर्दै जाने ओलीले बताए ।
निर्वाचनका क्रममा बजारमा पुग्दा व्यवसायीबाट प्राप्त समस्या र गुनासा संकलन गरेको उनले बताए । ती समस्यालाई प्राथमिकताका आधारमा समाधानका लागि पहल गर्ने उनको प्रतिबद्धता थियो ।
विशेषगरी घरबारी क्षेत्रमा देखिएको घरजग्गा मूल्यांकनको समस्या समाधानका लागि स्थानीय प्रशासन र स्थानीय तहसँग समन्वय गरिने उनले बताए । घरबारी क्षेत्रसँगै न्यूरोड आसपासका सबै क्षेत्रको घरजग्गा मूल्यांकन पूरा गर्न सम्बन्धित निकायसँग बहस र समन्वय अघि बढाउने ओलीले बताए ।
‘केही समयभित्रै घरबारीटोलको विषयलगायत न्यूरोड आसपासका सबै क्षेत्रको घरजग्गा मूल्यांकन पूरा गर्नका लागि स्थानीय प्रशासन तथा स्थानीय निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै बहस चलाउने र सबैलाई साथमा राखेर समाधानको पहल गर्ने कुरा पनि यहाँहरूलाई प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ उनले भने ।
स्थानीय तहमा करसम्बन्धी देखिएका समस्या र कर चुहावटको विषयमा पनि संघले काम गर्ने ओलीले बताए । सबै पालिकामा एक–एक कार्यक्रम आयोजना गरी करसम्बन्धी विषयलाई कर शिक्षाका रूपमा अघि बढाउने उनले बताए ।
ओलीले आफ्नो शपथलाई पद प्राप्तिको औपचारिकताभन्दा व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धताका रूपमा लिएको बताए । कार्यसमितिका सदस्य, पूर्वअध्यक्ष, व्यवसायी, जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय तथा संघकर्मीबाट आवश्यक साथ, सुझाव र खबरदारीको अपेक्षा रहेको उनले बताए । ‘आज मैले लिएको शपथ केवल पदको शपथ होइन, उद्यमी–व्यवसायीहरूको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धताको शपथ हो,’ ओलीले भने ।
आफ्नो कार्यकालको मूल्यांकन व्यवसायीले गर्ने भएकाले संघले उनीहरूको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको उनले बताए । ‘हाम्रो कार्यकालको अन्त्यमा व्यवसायीहरूले भन्न सकून्, नेपालगन्ज उद्योग वाणिज्य संघमा हाम्रो कुरा सुनियो, हाम्रा समस्याहरू संघमा उठे र संघले आफ्नो दायित्व निर्वाह ग¥यो । यही विश्वास निर्माण गर्न सक्नु नै मेरो नेतृत्वको सबैभन्दा ठूलो सफलता हुनेछ,’ ओलीले भने ।
उनले निर्वाचनको क्रममा बनेका पक्ष–विपक्षको अवस्थालाई अब अन्त्य गरी आर्थिक विकासका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । ‘आउँदो निर्वाचनको प्रतिस्पर्धा यहीँ समाप्त गरौं । अब नेपालको आर्थिक समृद्धिका लागि हातेमालो गरेर जानुपर्ने परिस्थिति निर्माण भएको छ,’ उनले भने ।
व्यवसाय बलियो भए अर्थतन्त्र बलियो हुने र अर्थतन्त्र बलियो भए देश तथा समग्र क्षेत्र बलियो हुने उनको भनाइ थियो ।
देश कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको विषयमा पनि ओलीले स्पष्ट पारे । उनले कार्यक्रम तत्काल गर्न नसकिएको र पछि पनि देशले पीडा भोगिरहेको अवस्थाका कारण कार्यक्रम स्थगित गर्न नसकिएको बताए ।
‘हामी सात गते निर्वाचित भएका थियौं । निर्वाचन परिणाम घोषणा भइसकेपछि छिटोभन्दा छिटो कार्यक्रम गर्ने भनेका थियौं । तर, हामीले सकेनौं,’ उनले भने ।
देशमा पीडाको अवस्था रहेका कारण कार्यक्रम आयोजना गर्ने वा नगर्ने विषयमा प्रश्न उठ्न सक्ने भए पनि निर्वाचित नेतृत्वले जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले कार्यक्रम आयोजना गरिएको उनले बताए । ‘देशले यो बेला अत्यन्तै पीडा भोगिरहेको अवस्था थियो । अहिले पछिल्लो समयमा पनि देश रोइरहेको अवस्थामा हाम्रो यो कार्यक्रम नगरी स्थगित गर्न सकिएन । त्यसैले सोहीअनुसारको दिनमा यो कार्यक्रम आयोजना गरिएको हो,’ ओलीले भने ।
उनले आफ्नो नेतृत्वले व्यवसायीका समस्या समाधानमा परिणाममुखी काम गर्ने विश्वास व्यक्त गरे । नेपालगन्ज उद्योग वाणिज्य संघको इतिहासमा आफूहरूले व्यवसायीको चाहनाअनुसार नेतृत्व पाएको उल्लेख गर्दै ओलीले नयाँ नेतृत्वले व्यवसायीले राखेको अपेक्षा र आफूहरूले गरेका प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने बताए ।
