दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक मिडिया हबले आयोजना गर्न लागेको ‘द गोल्डन ग्राण्डमा’को दोस्रो संस्करणको तयारीका लागि पूर्व परामर्श बैठक आइतबार गरिएको छ ।
कार्यक्रम संयोजक सजल गैरेका अनुसार, बैठकमा कार्यक्रमको तयारीसँगै पछिल्लो समय देखिएको विषम परिस्थितिको समीक्षा गरिएको थियो । सहभागीहरूले बदलिँदो परिस्थितिमा कार्यक्रम सञ्चालनका विषयमा आवश्यक छलफल गरेका थिए ।
सम्यक मिडिया हबले ज्येष्ठ नागरिक महिलाको सक्रियता, स्वास्थ्य, आत्मविश्वास र अन्तरपुस्ता सम्बन्धलाई केन्द्रमा राख्दै ‘द गोल्डन ग्राण्डमा’ आयोजना गर्दै आएको छ । जस अन्तर्गत दौडिन्छिन् हजुरआमा र भन्छिन् हजुरआमा विशेष कार्यक्रम आयोजना हुँदै आएको छ । त्यसको दोस्रो संस्करणलाई थप प्रभावकारी र सहभागीमैत्री बनाउने विषयमा समेत बैठकमा छलफल भएको जनाइएको छ ।
‘बैठकमा पछिल्लो परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै कार्यक्रमको स्वरूप, समय र तयारीका विभिन्न पक्षमा आवश्यक परामर्श गरिएको थियो,’ ‘द गोल्डन ग्राण्डमा’का सह– संयोजक सन्ध्या गैरेले भनिन्, ‘ सहभागीहरूको सुझावका आधारमा आगामी तयारीलाई अघि बढाउने विषयमा समेत छलफल भएको छ ।’
परामर्श बैठकमा लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, पूर्वमन्त्री कृष्णा केसी (नमूना), आयोजक संस्था सम्यक मिडियाका अध्यक्ष झलक गैरे, सह–आयोजक नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मी, संस्थापक अध्यक्ष श्रीराम सिग्देल, रणनीतिक साझेदार संस्था, धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले विषयवस्तुमा आफ्ना धारणा राखेका थिए ।
लुम्बिनी प्रदेश खेलकूद विकास परिषदका पूर्व सदस्य सचिव भीम ओली, मेरो टुकी प्रज्ञालयका अध्यक्ष भोजराज शर्मा, नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह, पीस नेपालका प्रमुख ई. प्रज्वल श्रेष्ठ, भरोसा सहकारीका प्रमुख कार्यकारी तेजबहादुर रावल, ई–सेवाका प्रवन्धक मो. रफी, विष्णु कंडेल लगायतले कार्यक्रमको आवश्यकता र अबको रणनीतिबारे सुझाव तथा धारणा राखेका थिए ।
त्यस्तै, विषय विज्ञ हिमाल गैरेले जलवायु न्यायबारे प्रस्तुतिकरण दिंदै नेपालमा भएको पछिल्लो प्राकृतिक विपद्मा यसले पारेको असरसँग नियमित बहसको आवश्यकता औल्याए ।
साहित्यकार किरण आचार्य, अग्रज पत्रकार अछरी पोखरेल, महिला उद्यमी कस्मिरा खातुन, कसौधन बैश्य महिला समाजकी प्रतिनिधि अनु बैश्य, समाजसेवी माधवी शाहले पनि आफ्ना कुराहरु राख्दै ‘द गोल्डन ग्राण्डमा’ले अघि सारेको अवधारणा सामाजिक रुपमा निकै महत्वपूर्ण र दूरगामी सकारात्मक प्रभाव पार्ने खालको रहेको बताए ।
