नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनलमा स्तनपान कक्ष

अम्बे फर्निसिङ गार्डेन नेपालगन्जले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवनमा आज सोमबारदेखि अत्याधुनिक स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ।विमानस्थल प्रयोग गर्ने यात्रु तथा शिशु अभिभावकको सुविधालाई ध्यानमा राख्दै उक्त कक्षको स्थापना गरिएको हो। अम्बे फर्निसिङ गार्डेनका सञ्चालक पंकज श्रेष्ठका अनुसार, संस्थाले हालसम्म विभिन्न सार्वजनिक तथा सेवामूलक १० स्थानमा यस्ता स्तनपान कक्षहरू सञ्चालनमा ल्याइसकेको छ।चालु वर्षमा मात्रै थप १० स्थानमा अत्याधुनिक सुविधा सम्पन्न स्तनपान कक्ष स्थापना गर्ने योजना रहेको सञ्चालक श्रेष्ठले जानकारी दिए। यो वर्षको सुरुवात विमानस्थलको नयाँ टर्मिनल भवनबाट गरिएको र आगामी चरणमा आँखा अस्पताल नेपालगन्ज लगायतका संस्थासँग पनि कक्ष स्थापनाका लागि कुराकानी भइरहेको उनले बताए।सार्वजनिक स्थलमा आउने आमा तथा शिशुलाई सहज र सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइएको अम्बे फर्निसिङले जनाएको छ।

Exit mobile version