नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आफ्ना अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बास्तोला (कञ्चन)लाई बर्खास्त गरेको छ । पार्टी भित्रको आन्तरिक विवाद चुलिंदै जाँदा बास्तोलालाई कारवाही गरिएको हो ।
पार्टीको केन्द्रीय समितिको विशेष जुम बैठकले संयोजक तथा अध्यक्ष मण्डलका अध्यक्ष कञ्चनलाई बर्खास्त गरिएको हो ।
भदौ १५ गते बसेको केन्द्रीय समितिको विशेष बैठकले अध्यक्ष मण्डलका सदस्य तथा पार्टी प्रवक्ता दीपकलाई अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारी दिइएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
असोज ५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
पार्टीद्वारा जारी प्रेसवक्तव्यमा बास्तोलाले स्वेच्छाचारी, सांगठनिक अराजकता र अनैतिक हर्कत गरेको आरोप लगाइएको छ । उनको कारबाहीमा पार्टीका विभिन्न १२ वटा जबस तथा मोर्चा संगठनको पनि सहमति रहेको बताइएको छ ।
पार्टीले भोटेकोशीमा आएको बाढीले पारेको जनधनको क्षतिमा उद्धार तथा राहत प्रदान गर्न कृष्ण धमलाको नेतृत्वमा ‘बाढीपीडितको उद्धार तथा राहत समिति’ बनाएर काम गर्ने भएको छ ।
