नेपालगन्ज । सामाजिक तथा संवेदनशील विषयवस्तुमा आधारित नेपाली चलचित्र ‘पार्वती’ नेपालगन्जमा भदौ १२ गतेदेखि विशेष प्रदर्शन सुरु भएको छ। परिवार, सन्तान, फरक क्षमता र समाजले फरक क्षमता भएका व्यक्तिप्रति गर्ने व्यवहारलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
चलचित्रले पार्वतीले भोगेको जीवन, पारिवारिक संघर्ष, सामाजिक विभेद तथा दिदी–भाइबीचको निस्वार्थ सम्बन्धलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ। फरक क्षमता भएका सन्तान जन्मिएपछि परिवारले भोग्नुपर्ने मानसिक पीडा, सामाजिक व्यवहार र संघर्षलाई समेत चलचित्रले प्रभावकारी रूपमा उजागर गरेको छ।
कथामा भाइ भेटिने वा नभेटिने, पार्वतीको हराएको पुतली भेटिने वा नभेटिने तथा आमाबुवाले आफ्ना सन्तान पुनः भेट्टाउन सक्ने वा नसक्ने जस्ता प्रश्नले दर्शकको कौतुहलता कायम राख्ने प्रयास गरिएको छ। बुवाको मौन पीडा, आमाको भावनात्मक संघर्ष र समाजबाट हुने विभेदसँगै दिदी–भाइबीचको आत्मीय सम्बन्ध चलचित्रका भावनात्मक पक्षका रूपमा प्रस्तुत छन्।
कलाकारहरूको अभिनय, दृश्य प्रस्तुति, छायांकन, भेषभूषा तथा आभूषणमा देखिएको मौलिकताले चलचित्रलाई थप जीवन्त बनाएको दर्शकको प्रतिक्रिया छ। विशेषगरी पार्वती र भाइको भूमिकामा रहेका कलाकारको अभिनय प्रभावशाली रहेको बताइएको छ।
परिवारसँगै बसेर हेर्न सकिने चलचित्र ‘पार्वती’ले मनोरञ्जनसँगै सामाजिक सन्देशलाई प्राथमिकता दिएको छ। समाजमा अझै कायम रहेका फरक क्षमता भएका व्यक्तिप्रतिको विभेद र परिवारले भोग्नुपर्ने संघर्षबारे सोच्न बाध्य बनाउने चलचित्रको प्रयास रहेको निर्माण टिमको भनाइ छ।
चलचित्रले अधिकांश दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। चलचित्र हेरेकी दर्शक ऋतु रिजालले कथा र कलाकारहरूको अभिनय प्रभावशाली रहेको बताउँदै दिदी–भाइबीचका केही थप खुसीका क्षणहरू देखाउन सकेको भए चलचित्र अझै भावनात्मक र प्रभावकारी बन्ने सुझाव दिइन्। उनका अनुसार, दिदी–भाइबीचको आत्मीय सम्बन्धलाई थप खुसीयालीपूर्ण दृश्यमार्फत प्रस्तुत गर्न सके दर्शकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बन्न सक्थ्यो।
यसैबीच, निर्देशक निता ढुंगानासहित चलचित्रको टिम आज सिने रोयल, नेपालगन्जमा उपस्थित हुने जनाइएको छ। स्थानीय दर्शकले चलचित्रको टिमसँगै ‘पार्वती’ हेर्ने अवसर पाउनेछन्।
