नारायणी नदीमा हालसम्म १७० वटा शव फेला परेका छन् । तीमध्ये ६८ शवको व्यवस्थापन भइसकेको छ भने चार शवको सनाखत भएको छ । ९८ शव अझै बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । डिएनए संकलनगरी ६८ वटा शवको सुरक्षित रुपमा जमिनमुनी व्यवस्थापन गरिएको जानकारी गराईएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शव व्यवस्थापनको स्थल, शव पहिचानकालागि अपनाइएको प्रक्रिया, शवको सुरक्षा, आफन्तहरुसंगको समन्वय र सहजीकरणका बारेमा जानकारी लिएका छन् । सुनवलनगरलिका स्थित एक सामुदायिक वनमा शव व्यवस्थापन गरेर राखिएको छ ।
सनाखत भएका व्यक्तिहरूमा गोरखाको पालुङटार नगरपालिका-७ की २८ वर्षीया सोमी कुमाल, धादिङको गजुरी गाउँपालिका-६ मिलानटारका ३५ वर्षीय प्रकाश ग्यामी मगर, काभ्रेको रोसी गाउँपालिका-९ घर भई नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावती बजारमा होटल तथा किराना पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय संखबुद्ध तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका-२ का २८ वर्षीय सविन राना रहेका छन् ।
त्यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ का ४५ वर्षीय नारायणबहादुर थापा कब्दारको शव रसुवामा फेला परी पहिचान भएको र आफन्तले पोखराबाट बुझेर लगेको विवरणमा उल्लेख छ । पाल्पाको तानसेन नगरपालिका-१० सुनडाँडाका प्रहरी सहायक हवल्दार दिपेन्द्र बिष्टको शव पनि रसुवामा फेला परी सनाखत भएको र आफन्तले बुझेर सद्गद गरेको जनाइएको छ ।
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-१ का ३७ वर्षीय यादव भण्डारीको शव पूर्वी नवलपरासीमा फेला परेको छ । बाँकेको कोहलपुर नगरपालिका-११ का २३ वर्षीय कबिरलाल चौधरीको शव पनि पूर्वी नवलपरासीमा फेला परेको र उनका दाजु सुग्रिव थारूले सनाखत गरी बुझेका छन् ।
सोही स्थानमा फेला परेको बाँकेकै कोहलपुर नगरपालिका-११ का २८ वर्षीय महेश थारूको शव उनका ससुरा कालिराम थारूले सनाखत गरी बुझेको विवरणमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नारायणी नदीमा फेला परेका १७० शवमध्ये हालसम्म ६८ शवको व्यवस्थापन गरिएको छ । चार शवको सनाखत भएको छ भने ९८ शवको सनाखत तथा व्यवस्थापन हुन बाँकी रहेको छ ।
