बर्दियाको ठाकुरबाबा नगर अस्पतालमा आँखा उपचार सेवा सुरु

पहिलो दिनमै ३ सय ९९ जना लाभान्वित, १ सय ११ जनाको निशुल्क मोतियाविन्दु शल्यक्रिया गरिने

बर्दियाको ठाकुरबाबा आधारभूत नगर अस्पतालमा आँखा उपचार सेवा मंगलबारदेखि सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिका ३ नेउलापुरमा रहेको ठाकुरबाबा आधारभुत नगर अस्पतालमा मंगलबारदेखि आँखा उपचार सेवा सुरु गरिएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगर अस्पतालमा यसअघि ल्याव सेवा, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, बिमा सेवा, चौबिसै घण्टा स्वास्थ्य उपचार सेवा, सर्पदंश उपचार सेवा, रेविज विरुद्धको खोप सेवासंगै अब आँखा उपचार सेवा पनि सुचारु भएपछि नगरबासी खुसी भएका नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिरन्जीबी योगी (भावुक) ले जानकारी दिनुुभयो ।

यसअघि ठाकुरबाबा नगरपालिकाका जेष्ठ नागरिकहरु आँखा उपचारका लागि पालिका बाहिर जानुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको स्थानीय बासीन्दाको भनाई छ । रोटरी इन्टरनेशनलको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाको समन्वयमा नगर अस्पतालमा आँखा उपचार सेवा सुरुवात भएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले बताउनुभयो ।

‘नगर अस्पतालले प्रभावकारी रुपमा आधारभूत सेवाहरु दिईरहेको छ, ’नगर प्रमुख लम्सालले भन्नुभयो, ‘आधारभूत सेवा मध्ये आँखा र दात उपचार सेवा थिएन अब दात उपचार सेवा सुचारुका लागि उपकरण खरिद प्रक्रियामा छ । उपकरण आउने बित्तिकै दात उपचार सेवा पनि संचालन गरिनेछ ।’

अबदेखि नगर अस्पतालमा नियमित रुपमा आँखा उपचार सेवा संचालन हुने र नगरबासीलाई आँखा उपचारका लागि बाहिर जान नपर्ने ठाकुरबाबा नगरपालिकाकी उपमेयर विना कुमारी भट्टराईले बताउनुभयो । नगर अस्पतालमा आँखा उपचार सेवा सुचारु भएको पहिलो दिनमै ३ सय ९९ जनाले आँखा जाँच तथा उपचार पाएको शिवगंगा आँखा अस्पताल व्यवस्थापक हरि केशीले बताउनुभयो ।

मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नगर अस्पतालबाट आँखा उपचार सेवा सुचारु भएको पहिलो दिनमै निशुल्क आँखा जाँच तथा उपचार सेवा पाउनुभएका ३ सय ९९ जना मध्येबाट १ सय ११ जनाको मोतियाबिन्दुको अप्रेशन गर्नुपर्ने बिरामी भेटिएका ठाकुरबाबा आधारभूत नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिरन्जीवी योगी (भावुक) ले बताउनुभयो ।

‘उहाँहरुको बुधबार गुलरियाको शिवगंगा आँखा अस्पतालमा निःशुल्क रुपमा अप्रेशन हुनेछ ’अध्यक्ष योगीले भन्नुभयो । ’त्यहाँसम्म बिरामीलाई लैजाने ल्याउने बसको व्यवस्था नगर अस्पतालले मिलाएको ठाकुरबाबा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

Exit mobile version