नेपाली कांग्रेस बाँकेले पार्टी निकट नेपाल प्रेस युनियन, लोकतान्त्रिक उद्योगी व्यवसायी तथा डेमोक्रेटिक लयर्स एसोसिएसनका विभिन्न जिम्मेवारीमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई स्वागत तथा सम्मान गरेको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस बाँकेले हालै विभिन्न अधिवेशन तथा निर्वाचनबाट जिम्मेवारीमा आएका पदाधिकारी र सदस्यलाई सम्मान गरेको हो ।
कार्यक्रममा गत भदौ ६ गते भएको अधिवेशनबाट निर्वाचित नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीसहित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो । त्यसैगरी युनियनका प्रदेश र संघीय पार्षदलाई समेत कार्यक्रममा सम्मान गरिएको कांग्रेस बाँकेले जनाएको छ ।
कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले पार्टी निकट शुभेच्छुक तथा भ्रातृ संस्थाबाट विभिन्न जिम्मेवारीमा पुगेका व्यक्तिहरुले पार्टीको नीति र विचारलाई समाजका विभिन्न क्षेत्रमा प्रभावकारी ढंगले पु¥याउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपाल प्रेस युनियन, डिएलए तथा लोकतान्त्रिक उद्योगी व्यवसायीबाट नेपालगन्ज उद्योग वाणिज्य संघमा निर्वाचित पदाधिकारी तथा सदस्यले समेत कांग्रेसको विचार र नीतिलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग गर्ने उनले बताए ।
’नेपाल प्रेस युनियन, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायीबाट नेपालगन्ज उद्योग वाणिज्य संघमा निर्वाचित भएका पदाधिकारी र सदस्यले कांग्रेसको विचार र नीतिलाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्न सहयोग गर्ने विश्वास लिएका छौं,’ कोइरालाले भने ।
कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीसँग आबद्ध भ्रातृ तथा शुभेच्छुक संगठनको सक्रियता र गतिविधिले कांग्रेसलाई जनतामाझ थप स्थापित गर्न सहयोग पुग्ने बताए । संगठनका पदाधिकारी तथा सदस्यको कार्यसम्पादनले पार्टीको प्रतिष्ठासँग समेत प्रत्यक्ष सम्बन्ध राख्ने उनको भनाइ थियो ।
’निर्वाचित हुनुभएका सम्पुर्ण पदाधिकारी तथा सदस्य ज्युहरुलाई सफल कार्यकालको शुभकामना दिन चाहन्छु । तपाईंहरुको क्रियाकलाप र कर्मले पार्टीको प्रतिष्ठा र सम्मान बढाउनेछ भन्ने हामीले विश्वास लिएका छौं,’ गौडेलले भने ।
उनले विभिन्न संस्थामा जिम्मेवारी पाएका व्यक्तिहरुलाई संगठनको हितसँगै पार्टीको विचार र लोकतान्त्रिक मूल्य मान्यतालाई बलियो बनाउने गरी काम गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेको नयाँ नेतृत्वसहित प्रदेश तथा संघीय पार्षद, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायीबाट नेपालगन्ज उद्योग वाणिज्य संघमा निर्वाचित पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो । कांग्रेस बाँकेले पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेको थियो ।
