भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्दारका लागि बाँकेबाट सहयोगी हातहरू जुट्दै गएका छन् । बाँकेमा संस्थागत तथा व्यक्तिगत रूपमा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम जम्मा गर्ने क्रम चलिरहेको छ ।
नेपालगन्ज स्थित जय बागेश्वरी माध्यमिक विद्यालयले बाढी पीडितहरूको उद्दार र राहतका लागि १ लाख १ सय रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सहयोग गरेको जानकारी दिएको छ । विद्यालयले महाविपद्बाट दुःखी भएको उल्लेख गर्दै शिक्षक र कर्मचारीहरूको एक दिन बराबरको तलब कोषमा जम्मा गरेको हो ।
बाढी पीडितहरूका लागि सुनाखरी रेष्टुरेण्ट प्रालि. नेपालगन्जले आर्थिक रकम सहयोग गरेको छ । रेष्टुरेण्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले बाढीपिडितहरूको राहतका लागि मंगलबार नगद रु ५१ हजार नेपाल सरकारको राहत कोषमा जम्मा गरेका छन् । उनले बैंक खातामा रकम जम्मा गरी बैंक भौचर जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको बताए । सहयोग प्रदान गर्दै प्रबन्ध निर्देशक शर्माले देशलाई अत्यधिक पिडा र दुख परेको तथा कैयौ नेपालीहरू पिडित भएकोले आफुले पनि सहयोग गरेको बताए ।
त्यस्तै, नेपाल पत्रकार महासंघ बाँके शाखाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्दारका लागि ५१ हजार रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेको छ ।
महासंघ बाँके शाखाको मंगलबार अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकले बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको हो । बैठकले निर्णय गरे लगत्तै मंगलबार नै उक्त रकम कोषमा जम्मा गरिएको महासंघ बाँकेले जनाएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति बैठकले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्दार कार्यलाई प्रभावकारी र तीव्र बनाउन, पीडित तथा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाको काम द्रुत गतिमा अघि बढाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्ने निर्णय गरेको छ ।
विपद्को दुःखद् र संवेदनशील अवस्थालाई मध्यनजर गर्दै महासंघले यसअघि भदौ २१ गते आइतबार आयोजना गर्ने तय गरेको ‘तीज मिलन’ (पत्रकार महिलाहरूलाई दर खुवाउने) कार्यक्रम तथा पत्रकार महिलाबीचको ‘तीज विशेष कविता प्रतियोगिता’ समेत रद्द गरेको छ ।
त्यस्तै, भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले व्यक्तिगततर्फबाट १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेका छन् ।
सरकारी तबरबाट समेत नेपाल सरकारको निर्णयअनुसार सहसचिव स्तरको १० दिन बराबरको भदौ महिनाको तलब आर्थिक सहयोग गर्ने भएका
छन् । त्यसबाहेक व्यक्तिगत रूपमा थप १ लाख रुपैयाँ सहयोग रकम तत्कालै उद्दार कोषमा जम्मा गरिएको उनले बताए ।
