नौ लाख बढी प्रतिष्ठान, कोषमा २३ हजार मात्रै आबद्ध

औपचारिक तथा अनौपचारिक आर्थिक क्षेत्रलाई समेत समेट्ने गरी सुरु भएको सामाजिक सुरक्षा कोषमा सहभागिता निकै न्यून रहेको छ । सरकारले बाध्यकारी नबनाउँदा कोषमा संलग्नता तथ्यांक निकै निराशाजनक रहेको छ । यद्यपि, ठूला उद्योग तथा संगठित आर्थिक क्षेत्र सामाजिक सुरक्षा कोषमा आबद्ध भैरहेको भने पाइन्छ ।

नेपालमा वि.सं. २०७५ सालमा भएको पहिलो आर्थिक गणनामा ९ लाख २३ हजार बढी प्रतिष्ठानहरू रहेका थिए । तीनै क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिष्ठानको संख्या भने उल्लेख पाइँदैन । कोषले स्वरोगजार, अनौपचारिक तथा वैदेशिक रोजगारमा गएकाहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेसक्ने प्रावधान बनाएको छ ।

सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार, गत भाद्र ९ गतेसम्म सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रका २३ हजार ६ सय ३१ रोजगारदाता आबद्ध भएका छन् । जसमा औपचारिक क्षेत्रका ७ लाख ४४ हजार ३ सय १४ योगदानकर्ता श्रमिक कोषमा आबद्ध छन् । कोषको तथ्यांकअनुसार रोजगारदाता आबद्धतामा बागमती प्रदेश अगाडि रहेको छ । बागमतीमा मात्रै १५ हजारभन्दा बढी रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । त्यसपछि कोशी, लुम्बिनी, गण्डकी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका रोजगारदाता क्रमशः आबद्ध भएका छन् ।

कोषका अनुसार, औपचारिक क्षेत्रमा कोशी प्रदेशका २ हजार ६ सय ७ रोजगारदाताका ८६ हजार ९२ श्रमिक, मधेश प्रदेशका १ हजार ३ सय २१ रोजगारदाताका ३६ हजार २ सय १२ श्रमिक, बागमती प्रदेशका १५ हजार ६ सय ३८ रोजगारदाताका ५ लाख ४३ हजार १ सय ७८, गण्डकी प्रदेशका १ हजार ३ सय ५० रोजगारदाताका ३४ हजार ४ सय ८९, लुम्बिनी प्रदेशका २ हजार २१ रोजगारदाताका ३५ हजार १ सय २३, कर्णालीका ३ सय १४ रोजगारदाताका ३ हजार ९ सय ७३, सुदूरपश्चिमका ३ सय ८० रोजगारदाताका ५ हजार २ सय ७४ श्रमिक कोषमा आबद्ध रहेका छन् ।

त्यस्तै, बैदेशिक रोजगारमा जाने २३ लाख ८१ हजार ८ सय ५, अनौपचारिक क्षेत्रका १ हजार १ सय ४८, स्वरोजगार १ हजार ३ सय ५८ योगदानकर्ता कोषमा आबद्ध रहेका छन् । औपचारिक क्षेत्र सँगै कोषमा कुल योगदानकर्ताको संख्या ३१ लाख २८ हजार ६ सय २५ पुगेका छन् ।

बाँकेका ३ सय ४१ प्रतिष्ठान कोषमा

बाँकेमा हालम्म साना–ठूला गरी १८ हजार बढी व्यवसायिक प्रतिष्ठानहरू रहेका छन् । जसमध्ये ३ सय ४१ वटा उद्योग, व्यवसाय सामाजिक सुरक्षा कोषमा आबद्ध भएको सामाजिक सुरक्षा कोषको नेपालगन्ज स्थित कार्यालयका विष्णु रोकाले जानकारी दिएका छन् । ‘जिल्लामा ५ हजार ३ सय ८० कोषको योगदानकर्ता रहेको तथ्यांक छ’, उनले भने ।

‘कोषमा आबद्ध हुने क्रम बढ्दै छ’, कार्यालय प्रमुख रोकाले भने, ‘प्याब्सन र सहकारी क्षेत्रमा कार्यरत श्रमिकलाई आबद्ध गराउन छलफलमा छौं ।’ उनले श्रम ऐन लागु हुने आर्थिक प्रतिष्ठानमा कोष लागु गर्नु बाध्यकारी रहेको बताए ।

कोषमा १ खर्ब २३ अर्ब योगदान संकलन

सामाजिक सुरक्षा कोषमा आबद्ध रोजगारदाता तथा योगदानकर्ताबाट हालसम्म १ खर्ब २३ अर्ब ६३ करोड रूपैयाँ योगदान रकम संकलन भएको छ । कोषले सार्वजनिक गरेको गत मंगलबार सम्मको विवरणअनुसार विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदान संकलनसँगै ठूलो परिमाणमा दाबी भुक्तानीसमेत गरेको छ ।

कोषको विवरणअनुसार हालसम्म विभिन्न सामाजिक सुरक्षा योजनामा गरी ३ लाख १४ हजार ४ सय १६ जनाले १३ लाख ५८ हजार ८ सय ३३ वटा भुक्तानी दाबी गरेका थिए । त्यसबापत कुल २१ अर्ब १६ करोड रूपैयाँ भुक्तानी गरिएको विवरणमा उल्लेख छ ।

कोषको तथ्यांकमा औपचारिक क्षेत्रअन्तर्गत कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट रोजगारदाता तथा योगदानकर्ता आबद्ध भएको देखिन्छ । सातै प्रदेशमध्ये बागमती प्रदेशमा योगदानकर्ताको संख्या सबैभन्दा बढी रहेको छ । राजधानी काठमाडौंलगायत देशका प्रमुख औद्योगिक तथा व्यावसायिक क्षेत्र समेटिएको बागमतीमा सामाजिक सुरक्षा योजनामा आबद्धताको संख्या उल्लेख्य देखिएको हो ।

कोषको विवरणमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना प्रमुख योजनाका रूपमा देखिएका छन् । यी योजनामार्फत योगदानकर्ताले उपचार तथा स्वास्थ्यसम्बन्धी सुविधा, दुर्घटना वा अशक्ततासम्बन्धी सुरक्षा, योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवारलाई उपलब्ध हुने सुविधा तथा वृद्धावस्थाका लागि सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको छ ।

Exit mobile version