बाँकेका दुई ठूला निजी अस्पतालले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि २५–२५ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि, अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन् ।
सञ्जीवनी अस्पतालले देश संकटमा रहेका बेला प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले २५ लाख रुपैयाँ दिएको जनाएको छ । अस्पतालका प्रबन्ध निर्देशक सन्तोष खनालले सरकारलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको बताए ।
‘देशमा आएको यस संकटको घडीमा सरकारलाई सानो सहयोग गर्ने उद्देश्यले बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरिएको हो,’ खनालले भने । उनले सहयोगले बाढीपीडित केही परिवारको पीडामा मल्हम लगाउन सक्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी लर्डबुद्ध एजुकेशनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पनि बाढी प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
दुवै अस्पतालबाट गरी बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग पुगेको छ ।
