नारी विकास केन्द्रमा निरन्तर सञ्चालन हुँदै आएका सीपमूलक तथा व्यावसायिक तालिममा सहभागी महिला तथा प्रशिक्षार्थीहरूको सहभागितामा तीज कार्यक्रम आयोजना गरिएको छ। केन्द्रमा बुटिक, सिलाइ–कटाइलगायत विभिन्न सीपमूलक तालिम सञ्चालन हुँदै आएका छन्। तीजको अवसरमा आयोजित कार्यक्रममा आपसी सद्भाव, एकता र महिला सशक्तीकरणसँगै सामाजिक उत्तरदायित्वलाई समेत जोड दिइएको थियो।
यसै अवसरमा रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग रकम संकलन अभियानसमेत सञ्चालन गरिएको हो। कार्यक्रममा हालसम्म रु. ७९,०१० सहयोग रकम संकलन भइसकेको छ। सहयोग संकलन कार्य भने अझै जारी रहेकाले आगामी दिनमा रकम थप बढ्ने अपेक्षा गरिएको छ।
संकलित रकममा नारी विकास केन्द्रका आजीवन सदस्यहरूबाट प्राप्त सहयोगका साथै कार्यक्रममा उपस्थित सदस्य, बाहिर रहेका सदस्य, शुभेच्छुक तथा सहयोगी व्यक्तिहरूबाट प्राप्त स्वेच्छिक सहयोगसमेत समावेश रहेको छ। विभिन्न ठाउँमा रहेका सदस्य तथा शुभेच्छुकहरूले समेत बाढीपीडितको पीडालाई मध्यनजर गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा केही सहयोग पुगोस् भन्ने उद्देश्यले मानवीय भावनाका साथ अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। तीजजस्तो सांस्कृतिक पर्वलाई सामाजिक सेवासँग जोड्दै विपद्मा परेका नागरिकप्रति सहयोग, सद्भाव र ऐक्यबद्धता प्रकट गर्ने प्रयास गरिएको हो।
सहयोग संकलन अभियान अझै जारी रहेकाले इच्छुक आजीवन सदस्य, सदस्य, शुभेच्छुक तथा सहयोगीहरूलाई अभियानमा जोडिनसमेत आग्रह गरिएको छ। संकलित सम्पूर्ण रकम रसुवा बाढीपीडित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रयोग गरिने जनाइएको छ।
