दैनिक जीवनका आधारभूत स्वास्थ्य, सरसफाइ र व्यक्तिगत आवश्यकताका सामग्रीबाट वञ्चित बाढी प्रभावित महिला तथा बालिकाहरुलाई वान स्टेप फाउण्डेसनले ‘डिग्निटी बक्स’ गर्ने भएको छ ।
पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैया सहयोग गरेको फाउण्डेसनले दोस्रो चरणमा बाढी प्रभावित महिला तथा बालबालिकाहरुको स्वास्थ्य, सरसफाई र व्यक्तिगत आवश्यकताका वस्तुहरुको प्याकेज (डिग्निटी बक्स) वितरण गर्ने भएको हो । डिग्निटी बक्स वितरणमा झण्डै ५० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।
फाउण्डेसनका संस्थापक परोपकारी धावक बाल जोशीका अनुसार प्रत्येक बक्समा महिनावारी तथा व्यक्तिगत सरसफाइका सामग्री, भित्री वस्त्र, साबुन तथा अन्य व्यक्तिगत उपयोगका सामग्री, शिशुका डायपरलगायत विपद्को समयमा आवश्यक पर्ने आधारभूत सामग्री समावेश गरिनेछ। प्रत्येक बक्स तयार गर्न करिब ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
खाना र आश्रयजस्तै महिला तथा बालिकाको स्वास्थ्य, सुरक्षा, गोपनीयता र आत्मसम्मानसँग जोडिएका आधारभूत आवश्यकताहरू पनि विपद्को समयमा उत्तिकै महत्वपूर्ण हुने जोशीले बताए ।
डिग्निटी बक्स अभियान पनि विपद्को यस कठिन घडीमा नेपाल र नेपाली नागरिकको साथमा उभिने निरन्तर प्रयासकै एक हिस्सा भएको जनाइएको छ।
‘हाम्रा आमा, दिदीबहिनी र छोरीहरूको सम्मान, सुरक्षा र स्वास्थ्यको रक्षा गर्नु पनि राहतको महत्वपूर्ण हिस्सा हो, जोशीले भने, उनीहरूको कठिन समयमा साथ दिन सक्नु नै हाम्रो मानवीय जिम्मेवारी हो ।’
अमेरिकाको टेक्ससबाट संस्थापक जोशीको नेतृत्वमा फाउण्डेसनको टोली बुधवार नेपाल जादैछ । जोशीले शुक्रबारदेखि नेपालमै पुगेर राहत तथा उद्धार अभियानमा प्रत्यक्ष रूपमा सहभागी बताए ।
डिग्निटी बक्सका सामग्री नेपालमै खरिद तथा प्याकिङ गरी प्रभावित क्षेत्रमा छिटो पुर्याउने तयारी गरिएको छ। नेपाल सरकारसँग समन्वय गरी प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा सक्रिय सरकारी निकाय तथा टोलीमार्फत बक्सहरू आवश्यक समुदायसम्म पुर्याइने जनाइएको छ।
