गत भदौ १७ गते जानकी गाउँपालिका–१, पचपोखरा क्षेत्रबाट भारतबाट अवैध रूपमा ल्याइएका १८ जिउ बोइलर कुखुरा बरामद गरिएको थियो । ती कुखुराको तौल अन्दाजी ५४ किलोग्राम रहेको थियो । बरामद कुखुरा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, भदौ १८ गते जमुनाह क्षेत्रबाट स्कुटरमा लुकाईछिपाई भारतबाट ल्याइएको अन्दाजी ४० किलोग्राम बोइलर कुखुराको तयारी मासु बरामद गरिएको थियो । मासु र स्कुटर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीको भनाइ छ ।
यसअघि असार १४ गते नेपालगन्ज उपमहानगरपालिका–२३, जङ्गलिसिंहपुरुवाबाट भारतबाट अवैध रूपमा ल्याइएका ३ हजार कुखुराका चल्ला बरामद गरिएको थियो । बरामद चल्ला पनि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको थियो ।
त्यसैगरी, असार ३ गते नेपालगन्ज उपमहानगरपालिका–१६, परस्पुरबाट भारतबाट अवैध रूपमा ल्याइएका ३६ जिउ बोइलर कुखुरा बरामद गरिएको थियो । ती कुखुराको तौल अन्दाजी १ सय ८ किलोग्राम रहेको प्रहरीले जनाएको छ ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत बाँकेमा करिब ६५ किलोमिटर खुला सीमा रहेको छ । मुख्य नाकाबाट अवैध रूपमा पशुपन्छी भित्रिन नदिने प्रयास भइरहे पनि खुला सीमाका विभिन्न स्थानबाट कुखुरा तथा मासु भित्रिने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, प्रहरीले विभिन्न स्थानबाट बरामद गरेका कुखुरा, चल्ला तथा मासु आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउँदै आएको छ । बरामद सामग्री पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज, बाँकेमा पठाउने गरिएको छ ।
नेपाल–भारत सीमाको खुला नाकाबाट अवैध रूपमा कुखुरा, कुखुराको मासु तथा चल्ला भित्रिने क्रम नरोकिँदा बाँकेका किसान मारमा परेका छन् । भारतबाट अवैध रूपमा भित्रिने सस्तो कुखुरा तथा मासुका कारण स्थानीय उत्पादनले उचित मूल्य नपाएको किसानहरूको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, चालु आर्थिक वर्षको वैशाखदेखि असार मसान्तसम्म प्रहरीले कुखुरा, चल्ला तथा तयारी मासु बरामद गरेको छ । प्रहरीका अनुसार उक्त अवधिमा ८ हजारभन्दा बढी कुखुरा तथा चल्ला बरामद भएका छन् ।
प्रहरीले उपलब्ध गराएको विवरणअनुसार वैशाखमा ५ हजार ४ सय ४० कुखुराका चल्ला र ७ सय ७२ किलोग्राम मासु बरामद भएको थियो । सोही अवधिमा बरामद सामग्रीबाट ८ लाख ६९ हजार रूपैयाँ राजस्व संकलन भएको प्रहरीको भनाइ छ ।
त्यस्तै, जेठमा १ सय ९० वटा कुखुरा र १ सय ६० किलोग्राम मासु बरामद हुँदा ३ लाख ९६ हजार ७ सय रूपैयाँ राजस्व संकलन भएको छ । असारमा ३ हजार कुखुरा र १ सय ८० किलोग्राम मासु बरामद भएको प्रहरीले जनाएको छ । असारमा बरामद सामग्रीबाट १ लाख १८ हजार २ सय रूपैयाँ राजस्व संकलन भएको विवरणमा उल्लेख छ ।
बाँकेका कुखुरा किसानहरूले भारतबाट अवैध रूपमा कुखुरा, कुखुराको मासु तथा चल्ला भित्रिँदा आफ्ना उत्पादनले उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् । अवैध आयातका कारण बजारमा प्रतिस्पर्धा असन्तुलित भएको र स्थानीय किसानलाई आर्थिक भार परेको उनीहरूको भनाइ छ ।
किसानहरूका अनुसार, कुखुरा पालनमा दाना, औषधि, श्रम तथा अन्य व्यवस्थापन खर्च बढिरहेको अवस्थामा अवैध रूपमा भित्रिने सस्तो कुखुरा तथा मासुले बजार मूल्यमा दबाब सिर्जना गरेको छ । यसले स्थानीय उत्पादन बिक्री गर्न कठिनाइ हुने गरेको उनीहरूको गुनासो छ ।
पशुपन्छी तथा मासुजन्य पदार्थको अवैध आयातले स्थानीय किसानको बजारमा असर पार्नुका साथै पशु स्वास्थ्यसम्बन्धी जोखिमसमेत बढाउन सक्ने भएकाले सीमामा
निगरानी र क्वारेन्टाइन व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने सम्बद्धहरू बताउँछन् । ‘बाँकेका बजारमा पनि नियमिति अनुगमन आवश्यक छ’, किसानहरू भन्छन् । किसानहरूले अवैध आयात नियन्त्रण, स्थानीय उत्पादनको बजार सुनिश्चितता र पशुपन्छीजन्य वस्तुको गुणस्तर तथा स्वास्थ्य परीक्षणमा कडाइ गर्न माग गर्दै आएका छन् ।
