विपत्तिमा ज्यान गुमाएकाको सम्झनामा नाट्टा बाँकेद्वारा दीप प्रज्वलन

रसुवा जिल्लामा आएको विनासकारी विपत्तिमा ज्यान गुमाएकाहरूको स्मृतिमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले बिहीबार दीप प्रज्वलन गरेको छ ।

विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नाट्टा बाँके च्याप्टरका पदाधिकारी तथा सदस्यहरूले दीप प्रज्वलन गरेका हुन् । कार्यक्रममा मृतकको आत्माको चीरशान्तिको कामना गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो । शोक मन्तव्य राख्दै नाट्टा बाँके च्याप्टर अध्यक्ष डिल्लीराज रेग्मीले विपत्तिले दिएको मानवीय क्षति अपुरणीय भएको धारणा राखे ।

नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नाट्टा बाँके च्याप्टरका पदाधिकारीलगायत पर्यटन व्यवयासी सहभागी कार्यक्रममा सहभागी थिए ।

यसअघि शुक्रवारनै नाट्टा बाँके च्याप्टरले विपत्तिमा परेका नागरिकको राहतका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको थियो । अध्यक्ष डिल्लीराज रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री राहत कोषमा ५१ हजार १ सय ५५ रुपैयाँ सहयोग प्रदान गरिएको महासचिव भागीराम ओलीले जानकारी दिए ।

रेग्मीको नेतृत्वमा नाट्टा बाँकेका पदाधिकारीले प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका थिए । विपत्तिमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको नाट्टा बाँकेले जनाएको छ ।

महासचिव ओलीका अनुसार, राहत सहयोगसँगै विपत्तिमा ज्यान गुमाएकाहरूको सम्मान र स्मरणमा दीप प्रज्वलन गरिएको हो । उनले विपद्को समयमा पीडित परिवारसँग ऐक्यबद्धता जनाउनु सबैको दायित्व रहेको बताए ।

Exit mobile version