नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले आफ्नो स्थापना दिवसका अवसरमा हुने नियमित औपचारिक कार्यक्रमलाई प्राथमिकता नदिई विपद् प्रभावितको सहयोगमा केन्द्रित हुने भएको छ । रसुवामा आएको विनासकारी बाढीबाट प्रभावित परिवारको राहत र पुनस्र्थापनामा ऐक्यबद्धता जनाउँदै शाखाले आर्थिक सहयोग गर्ने जनाएको छ ।
भदौ १० गते रसुवा जिल्लामा आएको बाढीका कारण नुवाकोट, धादिङ लगायतका जिल्ला पनि प्रभावित भएका छन् । बाढी र त्यसबाट उत्पन्न विपद्मा ठूलो जनधनको क्षति भएको भन्दै रेडक्रसले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम अघि बढाइरहेको छ ।
नेपाल रेडक्रस सोसाइटीले प्रभावित परिवारलाई गैरखाद्य राहत सामग्री उपलब्ध गराइरहेको छ । त्यस्तै, उद्धार, राहत तथा आवश्यक सहयोगका लागि स्वयंसेवक परिचालन गरिएको छ । यही सेवा अभियानप्रति ऐक्यबद्धता जनाउँदै नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले पनि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
बाँके शाखाले विपद्को समयमा प्रभावित परिवारको आवश्यकता पूरा गर्नु नै अहिलेको मुख्य दायित्व भएको जनाएको छ । स्थापना दिवसका अवसरमा हुने भव्य कार्यक्रमभन्दा विपद्मा परेका नागरिकलाई सहयोग गर्नु महत्वपूर्ण रहेको शाखाको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटीको ६४औं स्थापना दिवस आज शुक्रवार मनाइँदैछ । ‘मानवताको लागि एकबद्ध होऔं’ भन्ने मूल नाराका साथ यस वर्षको स्थापना दिवस मनाउन लागिएको हो । तर, देशका विभिन्न क्षेत्रमा विपद्का कारण नागरिक प्रभावित भइरहेका बेला बाँके शाखाले स्थापना दिवसलाई भव्य समारोहका रूपमा नमनाउने जनाएको छ ।
स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले विपद्को समयमा सबै पक्ष एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने बताए । ’विनासकारी बाढी विपद्बाट ठूलो मात्रामा जनधनको क्षति भएको छ । यस्तो संकटको घडीमा हामी सबैले एकबद्ध भई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ,’ उनले भने ।
उनले रेडक्रसले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि गर्दै आएको काममा सबैको साथ आवश्यक रहेको बताए । प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन सके मात्रै मानवीय सेवाको उद्देश्य पूरा हुने उनको भनाइ थियो ।
स्थापना दिवसको पूर्वसन्ध्यामा गरिएको कार्यक्रममा बाँके शाखाले रसुवा लगायतका बाढी प्रभावित जिल्लामा रेडक्रसबाट भइरहेको राहत, स्वयंसेवक परिचालन र अन्य मानवीय सेवाप्रति ऐक्यबद्धता जनाएको हो । शाखाले आफ्नातर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ ।
