आफ्नो दैनिक खाजा खर्चबाट रकम जोगाउँदै नेपालगन्जस्थित मंगल माविका विद्यार्थीले रसुवाका विपत्ति पीडितका लागि राहत जुटाएका छन्। विद्यार्थीले स्वस्फूर्त रूपमा संकलन गरेको रकम बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत पीडितसम्म पठाइएको हो।
राहत रकम संकलनमा विद्यालयका विद्यार्थी आफैँ अग्रसर भएका थिए। आफ्नै खाजा खर्चबाट केही रकम छुट्याएर उनीहरूले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने अभियान चलाएका हुन्। बिहीवार संकलित रकम बुझाउन विद्यार्थी आफैँ बाँकेका प्रमुख जिल्ला अधिकारी दिकुमार तामाङसमक्ष पुगेका थिए। उनीहरूले आफ्नो प्रयासबाट जुटेको रकम प्रजिअमार्फत राहतका लागि हस्तान्तरण गरेका हुन्।
विद्यालयका प्रअ सन्ध्या गुप्ताका अनुसार, विद्यार्थीले कसैको दबाब वा औपचारिक आह्वानबिना नै स्वस्फूर्त रूपमा रकम संकलन गरेका हुन्। ’विद्यार्थीहरुले आफ्नै खाजा खर्चबाट रकम संकलन गरेर सहयोग गरेका हुन्,’ गुप्ताले बताइन्।
विपत्तिमा परेका नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ भन्ने भावना विद्यार्थीमा देखिएको उनले बताइन्। सानो रकम भए पनि विद्यार्थीले आफ्नो दैनिक खर्चबाट कटाएर सहयोग गर्नु सामाजिक उत्तरदायित्वप्रतिको सकारात्मक अभ्यास भएको उनको भनाइ छ।
रसुवामा आएको विपत्तिपछि देशभरबाट राहत तथा सहयोग जुटाउने क्रम चलिरहेका बेला मंगल माविका विद्यार्थीले पनि आफ्नो तहबाट साथ दिएका हुन्। बालबालिकामा सहयोग, मानवीय संवेदना र सामाजिक जिम्मेवारीको भावना विकास गर्ने दृष्टिले विद्यार्थीको यो प्रयासलाई विद्यालयले सकारात्मक रूपमा लिएको छ।
विद्यार्थीले संकलन गरेको ३२ हजार ५१५ रुपिया बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत रसुवाका विपत्ति पीडितका लागि पठाइएको विद्यालयले जनाएको छ।
