भेरी अस्पताल नेपालगन्जमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको पाइएको छ । अस्पतालको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वास्थ्य प्रतिवेदन अनुसार गत आर्थिक बर्ष २०८२÷०८३ मा अस्पतालमा ५ हजार १ सय ७२ वटा शल्यक्रिया भएका छन् ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ३ हजार २ सय ६३, २०८१÷०८२ मा ३ हजार ७ सय ८८ र २०८२÷०८३ मा ५ हजार १ सय ७२ वटा शल्यक्रिया गरिएको थियो ।
पछिल्लो आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १ हजार ३ सय ८४ वटा बढी शल्यक्रिया भएका छन् । यो अघिल्लो वर्षको तुलनामा करिब ३६ दशमलव ५ प्रतिशत वृद्धि हो । तीन वर्षको अवधिमा भने शल्यक्रिया सेवा करिब ५८ प्रतिशतले बढेको देखिन्छ ।
प्रतिवेदनले शल्यक्रियालाई ठूलो, मध्यम र सामान्य गरी तीन वर्गमा विभाजन गरेको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै शल्यक्रिया ठूलो शल्यक्रिया अन्तर्गत भएका छन् ।
आर्थिक वर्ष २०८०÷०८१ मा २ हजार ४ सय ८१ वटा ठूलो शल्यक्रिया भएकोमा २०८२÷०८३ मा यो संख्या बढेर ३ हजार ८ सय ९४ पुगेको छ । अर्थात् दुई वर्षमा ठूलो शल्यक्रिया मात्रै १ हजार ४ सय १३ ले बढेको छ । त्यस्तै, मध्यम शल्यक्रिया ३ सय ६६ बाट ४ सय ३४ र सामान्य शल्यक्रिया ४ सय १६ बाट ८ सय ४४ पुगेको छ । सामान्य शल्यक्रियाको संख्या दुई वर्षमै दोब्बरभन्दा बढी भएको देखिन्छ ।
बिमा सेवामा बिरामीको ओइरो
भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्य बिमा आबद्ध सेवाग्राहीले उपचार सेवा लिने क्रम बढ्दै गएको पाइएको छ । अस्पतालको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वास्थ्य प्रतिवेदन अनुसार उक्त वर्ष स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ८५ हजार ६८ जना सेवाग्राहीले अस्पतालबाट सेवा लिएका छन् ।
अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ६० हजार ७ सयि ४५ जना स्वास्थ्य बिमा आबद्ध सेवाग्राहीले अस्पतालमा सेवा लिएका थिए । यस्तै, २०८१÷०८२ मा ६७ हजार ५ सय ८ जना र २०८२÷०८३ मा ८५ हजार ६८ जना सेवाग्राहीले सेवा लिएका छन् ।
तीन आर्थिक वर्षको तथ्यांक हेर्दा स्वास्थ्य बिमा सेवामार्फत भेरी अस्पताल पुग्ने सेवाग्राहीको संख्या निरन्तर बढेको देखिन्छ । २०८०÷०८१ को तुलनामा २०८२÷०८३ मा सेवाग्राहीको संख्या २४ हजार ३२३ ले अर्थात् करिब ४० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, पछिल्लो एक वर्षमै १७ हजार ५ सय ६० जना करिब २६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
तीन आर्थिक वर्षमा मात्रै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भेरी अस्पतालबाट सेवा लिनेको संख्या २ लाख १३ हजार ३ सय २१ पुगेको छ ।
भेरी अस्पताल पश्चिम नेपालका नागरिकका लागि प्रमुख सरकारी उपचार केन्द्रका रूपमा रहेको छ । अस्पतालमा विभिन्न जिल्लाबाट उपचारका लागि सेवाग्राही आउने गरेका छन् । पछिल्लो समय निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवाप्रति नागरिकको पहुँच बढ्दै जाँदा अस्पतालमा बिरामीको चापसमेत बढिरहेको देखिन्छ ।
अस्पतालले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका तथ्यांकले स्वास्थ्य बिमा कार्यक्रममार्फत सरकारी अस्पतालमा उपचार सेवा लिने नागरिकको पहुँच विस्तार हुँदै गएको तथ्यांकले देखाएको छ ।
