मानवबेचबिखन नियन्त्रण अझै चुनौति

आज भाद्र २० अर्थात् मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस । दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउने गरिन्छ । मानव बेचबिखन महिला, बालबालिका तथा पुरुषलाई जबरजस्ती श्रम, यौन शोषण, घरेलु दासता, अंग व्यापार तथा अन्य शोषणका उद्देश्यले गरिने गम्भीर मानवअधिकार उल्लङ्घन तथा संगठित अपराध हो ।

नेपालमा मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि सरकारी निकाय, प्रहरी र सामाजिक संस्थाले सचेतना तथा उद्दारका काम अघि बढाए पनि रोजगारी, शिक्षा र सुरक्षित आप्रवासनको अभावका कारण जोखिममा रहेका नागरिकको संरक्षण अझै चुनौतीपूर्ण बनेको छ ।

मानव बेचबिखनमा झुटा रोजगारीको प्रलोभन, वैदेशिक रोजगारीका नाममा हुने ठगी, जबर्जस्ती श्रम तथा यौन शोषणजस्ता जोखिम देखिन्छन् ।

विशेषगरी महिला, बालबालिका र आर्थिक रूपमा कमजोर परिवारका सदस्यहरू दलालको प्रलोभनमा पर्न सक्ने भएकाले समुदायस्तरमै सचेतना आवश्यक छ । बेचबिखन रोक्न सीमावर्ती क्षेत्रको निगरानी, सुरक्षित आप्रवासनसम्बन्धी जानकारी, पीडितको उद्धार तथा पुनःस्थापना र दोषीमाथि कानुनी कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरूको जोड छ ।

मानव बेचबिखन विरुद्ध नेपाल–भारत सीमाको बाँकेमा निगरानी गर्दै आएको माइती नेपाल, नेपालगन्जको तथ्यांक अनुसार, आव २०८२÷८३ मा नेपालगन्ज
नाकाबाट ४ सय ६० जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । मानव बेचबिखनका बारेमा २ हजार ४ सय ७७ जनालाई जानकारी गराएको छ । ४ सय २४ जनाको उद्दार गरेको छ ।

गत आ.व.मा माइती नेपाल नेपालगन्ज स्थित कार्यालयमा एक हजार १८ वटा खोजतलासका निवेदन परेका थिए । तीमध्ये ५ सय ६८ जना फेला परेका थिए ।

इन्सेकको तथ्यांक अनुसार, मानव बेचबिखनका घटनामा महिला तथा बालबालिका बढी पीडित हुने गरेका छन् । इन्सेकले नेपालमा सन् २०२४ मा
बालअधिकार हनन्का घटनामा बेचबिखन तथा ओसारपोसारका ६४ घटना अभिलेखिकरण गरेको छ । त्यस्तै, महिला अधिकार हनन्नका घटनामा बेचबिखन तथा ओसारपोसार प्रयासका
२२ र बेचबिखन तथा ओसारपोसारका ६० घटना इन्सेकले अभिलेखिकरण गरेको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो को आर्थिक वर्ष २०७७÷७८ देखि २०८२÷८३ को जेठसम्मको तथ्यांकअनुसार यस अवधिमा १ हजार ५५ वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा १ हजार ४ सय ३४ पीडित रहेका छन् ।

मानवबचेबिखन सम्बन्धी
मुद्दामा छ बर्षमा २ हजार २ सय ३९ जना प्रतिवादी, १ हजार ३ सय ७५ जना पक्राउ तथा २ हजार ५ सय ६५ जनाको उद्दार गरिएको छ ।

तथ्यांकअनुसार पीडितमध्ये ८ सय ४५ महिला, ४ सय ५४ बालिका, १ सय २४ पुरुष र ११ बालक रहेका छन् । प्रतिवादीतर्फ ६ सय ४५ महिला, १७ बालिका, १ हजार ५ सय ५९ पुरुष र १५ बालक छन् । पक्राउ परेकामध्ये ४ सय १ महिला, १३ बालिका, ९ सय ४८ पुरुष र १३ बालक रहेका छन् ।

उद्दार गरिएकामध्ये १ हजार ६ सय ६४ महिला, ५ सय ४ बालिका, २ सय ७६ पुरुष र १ सय ४१ बालक रहेका छन्, जसले मानव बेचबिखनको मुख्य जोखिम अझै पनि महिला र बालिकामाथि केन्द्रित रहेको देखाउँछ ।

आर्थिक वर्षगत रूपमा हेर्दा २०७७÷७८ मा सबैभन्दा धेरै २ सय २७ मुद्दा दर्ता भएका थिए भने २०८२÷८३ को जेठसम्म १ सय ८२ मुद्दा दर्ता भएका छन् । पछिल्ला वर्षहरूमा मुद्दा दर्तामा केही उतारचढाव देखिए पनि मानव बेचबिखन अझै गम्भीर चुनौतीका रूपमा कायम रहेको तथ्यांकले पुष्टि गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ ले बेचबिखन तथा शोषणमा संलग्नलाई कडा सजाय, पीडितलाई क्षतिपूर्ति, संरक्षण तथा पुनःस्थापनाको व्यवस्था गरेको छ ।

कानुनको प्रभावकारी कार्यान्वयन, सीमा निगरानी, जनचेतना अभिवृद्धि, रोजगारीका नाममा हुने ठगी नियन्त्रण तथा समुदायस्तरको सक्रिय सहभागिताले मात्रै मानव बेचबिखन न्यूनीकरण गर्न सकिने सरोकारवालाको भनाइ छ ।

Exit mobile version