हामी कलियुगको अन्त्य तिर छौं । सद्बुद्धि र सकारात्मकताको प्रवद्र्धन गरि सत्यताको बोध र मननले युग परिवर्तन वा विनास पश्चात नयाँ सिर्जना गरि सत्ययुगको शुभारम्भ ? ब्रह्माण्डीय वहशको विषय बनेको छ । प्रकृतिले बेला बेलामा दिएको संकेतलाई विश्लेषण गर्ने हो भनि विनासको संकेत तिर प्रेरित भएको पाईन्छ । नेपाल लगायत विश्वमा आएका दैविय विपत्ती २०७२ सालको महाभुकम्प, २०७६”७७ सालको कोरोना महामारी, परिकल्पना नगरीएको जेन्जी आन्दोलन र अहिलेको २०८३ भदौ १० गते नेपालले भोगेको विनासकारी प्रकोप बाढीले निम्त्याएको विपत्तीको विश्लेषणले विनासको मार्गनिर्देश गरिरहेको आभाश हुन्छ ।
विश्वमा भएको विध्वन्सकारी वातावरण र त्यसले निम्त्याएको आर्थिक मन्दीबाट उभो नलाग्दै विपत्ती थपिदै गएकाछन । किनको जवाफ आध्यात्मिक एवं भौतिक दुबै दृष्टिकोणले खोज्न जरुरी छ । अर्थशास्त्रीय सिद्धान्त बमोजिम शुभारम्भ उन्नति प्रगति विकासका कारण उच्च सफलता पश्चात पुन उधोगतिमा तल झर्ने प्रक्रिया प्राकृतिक नियम बमोजिम शुरु हुन्छ ।
प्रकृतिको सृष्टि सिर्जनाको चक्र पनि जन्मदा बालक वयस्क युवा बृद्ध र बयोबृद्ध भै अन्त्य नै हुन्छ । यसरी कुनै पनि सृष्टि प्राकृतिक वा अप्राकृतिक सबैको शुभारम्भ विकास र विनास नै अन्त्य हुन्छ र पुन: शुभारम्भ हुन्छ । यस चक्रलाई कसैले पनि आजसम्म नकारेर सम्भव छैन । प्रकृतिको नियम विपरित हामीले केहि गर्न सक्दैनौ तर प्रकृतिलाई बुझेर सोहि बमोजिम हामीले व्यवस्थापन र सचेतना अपनायौ भने विपत टल्न सक्छ ।
विभिन्न कालखण्डमा गरिएको प्रकृति विपरित कर्मले निम्त्याएको परिणाम विनास बन्न सक्छ । किन कसरी भन्ने प्रश्न उब्जीनु स्वभाविक हो । तथापि यथार्थ सत्य स्वीकार्न हामी सबै बाध्य छौंं । हामीले बनाएका सामाजिक, धार्मिक र परिवन्धित निति नियम भन्दा प्रकृतिको नियम फरक छ । हामीले बनाएका अप्राकृतिक आविष्कार र त्यसले निम्त्याएको प्रतिकार अदृश्यमा प्रतिस्पर्धि रहेको जो कोहिले महसुस गर्न नसक्नु स्वभाविक हुन्छ । यस्ता विषयमा विभिन्न समयमा हामीले चिन्तन गर्न आवश्यक छ । चिन्तन भनेको छलफल मात्र होइन । विषय विशेषज्ञहरु विच आवश्यक छलफल गरि त्यसबाट भएको समस्या र समाधानका बैकल्पीक उपायहरु पत्ता लगाई समयमा नै समाधानका लागि कार्यान्वयन गर्नुपर्छ । अनि केहि हदसम्म विपत रोकिन सक्छ । भोटेकोशीमा आउने बाढीका विषयमा चीनसंगका प्राकृतिक भौगोलिक अवस्था र त्यसको सम्बन्धका प्रभावका बारेमा हामीले समयमा नै आवश्यक अनुगमन गरेर दुरदृष्टि राख्ने कार्य गरेको भए यति धेरै क्षति भोग्नु नपर्नसक्थ्यो ।
नेपालसंग जाडिएका अन्य देशका सिमानासंंगको भौगोलिक अवस्था र तिनले भविष्यमा पार्ने प्रभाव, सिमाना मात्रै नभई जोडिएका देशको भौगोलिक अवस्था र तिनले कुन समयमा कस्तो प्रभाव पार्न सक्छन भन्ने दुरदृष्टिको विश्लेपण गरि अगावै व्यवस्थीत हुनु अति जरुरी छ । सिमित स्रोत र साधनाका कारण त्यस विषयमा गहिरो अध्ययन र विश्लेषण गरि व्यवस्थापनका लागि सजगता अपनाउन अप्ठ्यारो भएको हो भने अहिले विपत आएपछिको धनजनको क्षति भन्दा कम लागतमा उक्त व्यवस्थापन गर्न सकिन्छ । त्यसकारण रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी भनिएको छ । एकले अर्कोलाई सहयोग गर्ने बानी हामीमा अति न्युन भएको पाईन्छ । यो त सरकारले गरिदिनु पर्यो नि भनेर बस्दा आजको विपतमा हामीले आफन्त र धन सबै गुमाएका छौं । प्रमुख दायित्व सरकारको भए पनि सहायक दायित्व हामी सबै नागरिकको पनि हो ।
सरकार भनेको पनि त हाम्रै समाज, घर परिवारबाट प्रतिनिधित्व गर्ने हामी जस्तै मान्छे हुन भन्ने विर्सिदा आफ्नो आगन अगाडिको फोहोरो पनि सरकारले बढार्छ भनेर लथालि∙ छोडेर सडक जाम गर्ने हामीहरुको बानीले असभ्य संस्कार निम्त्याएको हो भन्ने मनन गर्नु पर्छ । आ”आफ्नो जिम्मेवारी सबैले जानेर समयमा नै गर्ने हो भने कार्यान्वयन पक्ष सवल बन्छ । त्यसका लागि सबैमा सकारात्मकता चाहिन्छ । रिसराग र वैरभावले विनास निम्त्याउछ । यसरी हेर्दा प्राकृतिक दैविय प्रकोप भएता पनि छिमेकी मुलुकसंगको सम्बन्ध, सहकार्य र सद्भाव जस्ता विषयले पनि फरक पार्छ । हाम्रो सम्बन्धमा सामजस्यता थियो भने किन यस विषयमा दुई देशले अगावै छलफल गरि हिमबाध फुटेमा आउने समस्याको रोकथाम कसरी गर्ने भन्ने व्यवस्थापनमा किन लागिएन जस्ता प्रश्न उब्जनु स्वाभाविक हो । ती विषयमा समायमा चिन्तन नगर्दाको परिणाम आज देशले हजारौ घर परिवारलाई बगर बनेको हेर्न बाध्यछौं । यस्ता विषयमा समयमा नै सरकारलाई सल्लाह सुझाव नागरिकले दिन सक्ने व्यवस्था प्रजातान्त्रिक प्रणालीमा छैन र ? कि कसैको पनि चासोको विषय बनेन ।
एउटा कुखुरा गाडीले किचेर मारियो भने हामीले सडक जाम गरेर उत्पात मच्याउछौ तर त्यहि कुखुरालाई काटेर मारेर खान्छौं । हामीले यो सोच्दैनौ कि सडक कुखुरा बस्न बनाइएको होइन गाडी गुड्न बनाएको हो । हामीले पनि कुखुरालाई चराउन सडकमा होइन अन्य उचित ठाउमा लैजानुपर्छ भन्ने मानसिकताको विकास अझै भएको छैन । कुखुराको ज्यान गयो क्षतिपुर्ति माग्ने अधिकार छ । तर त्यहि कुखुरा प्राण रक्षा होइन, धन आर्जन गर्ने धेरै क्षतिपुर्ति कसरी लिने भन्ने विचारले हामी उत्प्रेरित रहन्छौं । भवितव्य भयो क्षतिपुर्ति लिनु स्वाभाविक हो तर वास्तविकतालाई स्वीकार गर्ने परिपाठीको पनि आवश्यकता भएको महसुस छ ।
हामी विषय वस्तु देखि फरक बाटोमा गयौ कि भन्ने लाग्न सक्छ । तर त्यसो होइन, हाम्रो मानसिकताले निम्त्याएको द्वन्द र त्यसको अप्राकृतिक प्रभाव प्रकृतिलाई पारेको सुक्ष्म असरहरुको थुप्रिदै गएर बनेको विनास हो । हेर्दा सानो लाग्छ, त्यति मै सिमित रहे त्यहि अन्त्य हुन्छ तर त्यस्तै घटनाको वृद्धि भैराखे एक आपसमा प्रतिरोधात्मक उर्जाको उत्पादन भैरहन्छ र त्यसको प्रत्येक मनुष्यमा भएको संचितिले नकरात्मकतामा बृद्धि हुदै गर्दा विनास उन्मुख हुन्छ । प्रकृति भनेको फरक विषय होइन । भौगोलिक सामाजिक, धार्मिक व्यवस्थालाई गतिशिल बनाउने हामीभित्रकै उर्जा पनि प्रकृतिबाट नै सिर्जना भएको हो । त्यसैले प्रकृति भनेको हामीभन्दा छुट्टै विषय होइन । तर हामी प्राणी मात्र प्रकृति होइन । यस ब्रह्माण्डमा भएका सबै सृष्टिहरु प्रकृतिभित्र पर्दछन । अति गरे खति हुन्छ भन्ने उखात त सबैले सुन्नु नै भएको छ । हामीले जान अन्जानमा गरेका कर्मले विनास निम्त्याउन बल पुगेको सत्यतालाई स्वीकारेर पुन: सत्कर्ममा लाग्ने हो भने हामीलाई सत्बुद्धि आउछ । सद्बुद्धि प्राप्त भयो भने सचेतना आउछ । समय छदै व्यवस्थापन गर्न समय अगावै चेतना आउछ । त्यसपछि सुव्यवस्थापन गरिन्छ र सुरक्षित रहिन्छ । हामीभित्रको रिसराग वैरभाव मेटाएर सद्बुद्धि धारण गर्नुपर्नेमा हामीले अझै उग्र बन्दै जादा प्रकृतिले विनास उन्मुख हुनुपरेको यथार्थ सत्यलाई कमैले मनन गर्लान ।
प्रकृति किन विनास उन्मुख हुनुभयो ? उपयुक्त प्रश्न सबैको अन्तरमनमा जागृत हुनु स्वाभाविक हो ।
जिज्ञासाको जवाफ: अति गर्नु अत्याचार नगर्नुू पुरानो उखानलाई एक पटक मनन गरौ । यथार्थ सत्य मनुष्य प्राणीलाई चेतनशील प्राणी भनि सर्वश्रेष्ठ स्थान दिएको छ । तर मनुष्य विकास उन्मुख भएन विनास उन्मुख बन्दै गयो । विश्वका थुप्रै देशहरुमा सित युद्ध भैरहेको अवस्था छ । कतिपय देशमा बमबारी गरेर एकले अर्कोलाई ध्वस्त पारेर आफ्नो कब्जामा गराउन युद्ध लडिरहेका छन । मान्छेबाट मानव बन्न नलागेर मनुष्य पनि पशुवत व्यवहार देखाउन लाग्यो । छिमेकी देशमा रहेका मनुष्य पनि हामी जस्तै हुन । हामी मिलेर एकले अर्कोलाई सहयोग गरेर बस्नु पर्छ भन्ने भाव नै मेटिदा विनास निम्तीएको छ ।
कसरी को उत्तर:
अभिभावक हुँ । मैले संरक्षण गर्छु भन्ने सबै लोभ, मोह, क्रोध र कामवासनाले उत्तेजित भएका छन । आफुभित्रका ज्ञानेन्द्रियहरुको नियन्त्रण गर्न नसकेर एशो आराम सुख सयल र कामवासनाले अपराधिक चेतनालाईण्ण् उजागर गरेर क्षणिक भोग विलास गर्दा, कहिले त्यागि हु भन्ने कहिले भोगी हुँ भन्ने कहिले जिम्मेवारीको आडम देखाएर उम्किने छलकपट मानसिकताले भरिएको कर्म देखेर प्रकृतिले मनुष्य प्राणीहरुसंग लाज मान्नुभयो । कसैले भन्छन, म नै ब्राह्मण नायक आशुतोष हुँ । मैले जे गरे पनि हुन्छ । कसैले भन्छन, म त प्रकृतिलाई नै उल्टाउन सक्छु । मलाई सबैले मान्नु पर्छ । यसै विचमा मैले सबैका कुरा सुन्दैछु, हेर्दैछु र पढ्दैछु । मनमनै विश्लेषण गर्दैछु । आकाश किन गर्जिन्छ ? मैले मनमनै प्रश्न गर्छु । भौतिक, आध्यात्मिक र वैज्ञानिकको भाषामा फरक शब्दले व्याख्या गरिएला । मेरो सामान्य भाषामा बच्चा किन रुन्छ, विविध कारण मध्ये एउटा कारण भोक लागेर भनिन्छ तर अर्को कारण कारण शारीरिक वा मानसिक असहजताले आवाज उठाउने माध्यम रोधन बनेको हुन्छ । टाढा भएका आफन्तलाई चित्कारले सुचना दिन्छ । जुन कारण हो त्यसमा छलफल हुन्छ, विभिन्न तर्क वितर्क पश्चात निष्कर्ष निकालिन्छ । पत्ता लगाईएको समस्याको समाधानका लागि विकल्प छनौट गरि कार्यान्वयन तर्फ लागिन्छ । उचित कार्यान्वयन भएमा समस्या समाधान हुन्छ । तर सबै सहि सत्य खोज गरि आएको समस्या र समाधानका विकल्पहरुलाई सहि समयमा कार्यान्वयन गर्नुपर्छ । व्यक्तिगत स्वार्थका कारण कार्यान्वयन गर्न अल्मलिने र अन्यत्र मोडिने गर्दा उचित समयमा गर्न नसकेको पाइन्छ । कर्म बाँकी राखेर अगाडि बढ्नुको कारण कलियुगको अन्त्य भइ सत्यता प्राप्त गर्दा आफुले अरुको खोसेर भोग गरेको सुखसयल खोसिन्छ भनि कलियुग लम्ब्याउन खोज्नु पनि अपराध नै हो । अहिले मनुष्यले अरुको खोसेर आफ्नो जीतको महसुस गरिरहेको र मानवता बिर्सेको कारण मान्छेलाई दिइएको चेतशील सर्वश्रेष्ठ प्राणीको दर्जा सबैलाई प्राप्त भएको छैन । मानवताको व्यवहार आफ्नो जीवनमा अनुशरण गर्नेलाई मात्र सर्वश्रेष्ठ चेतनशील प्राणी भनिएकोछ । ती बाहेक अरुलाई पशु भन्दा पनि निकृष्ट स्थानमा राख्दै प्रकृतिले उदण्ड रुप लिनुपर्ने अवस्थाको सिर्जना भएको छ । कुबुद्धि, अहमता र घमण्डले निम्त्याएको अचेतन अवस्थाले विनास निम्त्याएको छ ।
विनास रोक्न के गर्नुपर्छ ?
विनास रोक्न, आफुले गरेको अपराध आफैले स्वीकार गर्नुपर्छ । आफुबाटै दण्ड सजाय स्वीकार गरि भोग गर्नुपर्छ । सबैले लोभ, मोह, अहंकार, घमण्ड र कामवासना त्याग गर्नु नै अति उपयुक्त हो । जसले तेरो मेरो भाव मुक्त होउ भन्छ उसैले तेरो मेरो भनि अरुलाई भौतिक वा मानसिकरुपमा मारेर भौतिक बन्धनका आफ्नालाई दिने, सन्त महन्त हुँ भन्नेले नीतिगत आचरण धारण गर्नुपर्छ । बाहिर साधुता देखाउने भित्रभित्रै म त परमात्मा हुँ । मैले जे गरे पनि हुन्छ । प्रभुको लिला हो भनेर अनुशासनको मर्यादा तोड्ने बाहिर आएर अरुलाई तँ अनुशासनहिन भइस तलाई दण्ड सजाय दिन्छु भन्ने यस्ता सबै कर्मले प्रकृति पनि मनुष्यसंग लजाउनुभयो ।
मान्छे भगवान बन्न सक्छ, कति बेला ?
भौतिक शरिरमा परमात्माको निवास हुन्छ । जुन मनुष्य देहमा विराजमान आत्माले आफुलाई पुर्ण रुपमा त्याग गरेर लोभ मोह क्रोध र कामवासना त्याग गरि बाहिरी नयन बन्ध गरि भित्री नयनले देख्छ । आँखा खुल्ला होस वा बन्ध फरक पर्दैन । अन्तरमनका ढोका खोलि, कर्म व्यवहार ध्यानबाट गरिरहन्छ र कम बोल्छ । उसमा क्रोध र कामबासना आफैभित्र त्याग गरि निराकार परमात्माको ध्यानमा लिन मनुष्य स्वरुप पुर्ण परमात्मिय स्वरुपमा हुन्छ । हामी विभिन्न जिम्मेवारीमा थिचिएर आफुले लिएका जिम्मेवारीका ठेक्का पुरा नगर्दै म त परमात्मा हुँ भन्ने । तर मौका परे मेरो घर परिवारलाई अगाडी पाउनुपर्छ त को होस, पर जा भन्ने यस्ता आफैसंग लाज लाग्ने कर्म सार्वजनिक भएका व्यक्तित्वहरुले गरेका कारण आपराधिक मानसिकताको बृद्धि हुदै गयो । मार्गनिर्देशक नै लोभ, मोह, क्रोध र कामवासनाको तिर्सनामा रह्यो भने उसका अनुयायी अल्मलिदा प्रकृतिले प्रतिनिधि बनाएर पठाउनुभएकोहरुले म नै सर्वेसर्वा हुँ । तँ को होस, मैले पाइहाले अब तेरो के काम छ भनि अपहेलना गर्दा सत्य रुनु परेको छ र प्रकृतिले लाजले भन्नुहुन्छ, तिमीहरुको मैलिएको तन, मन र बचन शुध्याउन विनास निम्त्याउनु नै उपयुक्त हुन्छ । शरिर शुध्याउनेहरु मन मैलो छ भने मन शुद्ध भएकाहरुको तन शुध्याउने अवस्था र व्यवस्था मिलेको छैन । कतिलाई एक एक गरेर छानु बरु एकैपटक प्रलय निम्त्याएर छान्ने छु भन्दै गर्जेका आकाश र धर्तिको चित्कार समयमा बुझेर आत्मालाई शुध्याएको भए, आज सबैलाई शान्ति प्राप्त हुनेथियो । अरुलाई मारेर आफुले गरेको मोज र विजयको महसुस नै सबैभन्दा ठुलो असक्षमता हो । कोहि अरुलाई असक्षम बनाउन रचिएको खेलले केहि समय जिते पनि समय घुम्दै आउँदा पुन: यथार्थ सत्यको नै विजय हुन्छ । त्यसैले सत्यताको आशन जस्तो ठुलो आशन अरु कुनै आशन छैन । परिचित नहुदैमा कुनै पद नहुदैमा असत्य वा सत्य भइदैन । तर आफैले गरेका कर्म वा मनले चिताएको विचार नै सत्य वा असत्य भन्ने निर्णायक बन्नेछ । एक झुटो लुकाउन सय झुटो बोल्न बाट बचे एक दिन अवश्य पनि पुजनिय भइन्छ ।
