बर्दियामा डिएनए संकलन गरिंदै

भोटेकोशी नदीको बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकहरूको यकिन अवस्थाबारे पहिचान सुनिश्चित गर्न डीएनए नमुना संकलन गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमुना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरेको हो ।

सूचनाअनुसार सम्पर्कविहीन व्यक्तिका फस्ट डिग्री रिलेसन बुबा, आमा, छोरा वा छोरी मध्ये कुनै एक जनाले डीएनए नमुना दिन सक्नेछन् । बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको पहिचान सुनिश्चित गर्न आफन्तको नमुना संकलन गर्न लागिएको प्रहरीले जनाएको छ ।

डीएनए नमुना संकलन आज आइतबार जिल्ला प्रहरी कार्यालय, बर्दिया, गुलरियामा हुनेछ । नमुना संकलन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ । नमुना संकलनमा जिल्ला अस्पताल, बर्दियाले सहयोग गर्नेछ ।

प्रहरीले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई नमुना दिन आग्रह गरेको छ । नमुना दिन आउने आफन्तले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात र पासपोर्ट साइजका दुई प्रति फोटो अनिवार्य रूपमा ल्याउनुपर्नेछ ।

बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको अवस्था यकिन गर्न पहिचान प्रक्रिया महत्वपूर्ण भएकाले सम्बन्धित परिवारलाई सूचनाको पालना गरी नमुना संकलनमा सहभागी हुन जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ ।

Exit mobile version